site stats
बाह्रखरी :: Baahrakhari
विदेश
छत्तीसगढमा २२ माओवादी मारिएको दाबी

काठमाडौं । छत्तीसगढमा जारी माओवादी विरोधी अभियानमा, प्रहरीले बुधबार २२ माओवादी मारिएको दाबी गरेको छ ।

बस्तरमा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसीलाई भने, "छत्तीसगढ र तेलंगानाको अन्तरराज्यीय सीमामा पर्ने करेगुट्टालु नामक पहाड र वरपरका जंगलहरूमा केन्द्रित अपरेसन संकल्पअन्तर्गत हालसम्म २६ नक्सलीहरू मारिएका छन् । यो अपरेसन अप्रिल २१ देखि जारी छ ।"

Argakhachi Cement Island Ad

यस घटनाको बारेमा छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साईले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भने, "हाम्रा सुरक्षा बलहरूले बिजापुर जिल्लाको करेगुटा पहाडमा चलिरहेको नक्सलविरोधी अभियानमा ठूलो सफलता हासिल गरेका छन् । हालसम्म २२ भन्दा बढी नक्सलीहरू मुठभेडमा मारिएको रिपोर्ट गरिएको छ ।"

करेगुट्टालुका पहाड, उपत्यका र गुफाहरूमा ठूलो संख्यामा माओवादीहरू लुकेर बसेका केन्द्रीय र राज्य सुरक्षा बलहरूको अनुमान छ ।

छत्तीसगढको राजधानी रायपुरबाट करिब ४५० किलोमिटर टाढा रहेको करेगुट्टालुमा भएको अपरेसनलाई सुरक्षा बलले माओवादीहरूविरुद्धको 'निर्णायक' अपरेसनको रूपमा वर्णन गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  २३:५३
प्रतिक्रिया दिनुहोस्