
काठमाडौं । ललितपुरमा गएराति मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा भयानक दुर्घटना भएको छ । ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार सातदोबाटोमा सडकमा रहेको पोलमा गाडी ठोक्किन पुगेको पाइएको छ ।
उनले दिएको जानकारीअनुसार अहिले उक्त क्षेत्रमा ११ हजार भोल्टको बिजुलीको तार रहेको हुँदा र पोल जोखिममा रहेका कारणले एकतर्फीमात्रै बाटो खुला गरिएको छ । उनले कार दुर्घटनामा तीनजना घाइते भएको जानकारी प्राप्त गरेको बताउँदै त्यसबाहेक जानकारी नभएको बताए ।
ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार बा १५ च ७६५२ नम्बरको कार दुर्घटनामा परेको हो । कारलाई रुपक सापकोटाले चलाएका थिए । “मापसे गरेर गाडी चलाएको पाएका छौँ,” उनले भने, “घाइते तीन जनालाई अहिले बी एन्ड बी अस्पतालमा लगिएको छ ।”
राति ११ बजेतिर दुर्घटना भएको बताइएको छ ।
“सातदोबाटोबाट हात्तीवनतिर जाने बाटोमा गाडी पोलमा ठोक्किएको थियो,” हाछेथुले भने,“पोल डरलाग्दो अवस्थामा रहेकाले करेन्ट लाग्न सक्ने डरले हामीले बाटो रोकेका छौँ ।” चालकलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।
अमरध्वज पौडेल, विशाल विक र मुकेश लामिछाने घाइते रहेका छन् ।
चालकले मापसे गरेको पाइएको ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार चालकले मापसे गरेर गाडी चलाएको पाइएकाले नियन्त्रणमा लिएर छानबिन गरिरहेको जानकारी दिए ।