site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुखको रूलिङ– प्रिसा साहको मृत्युबारे भारतसँग कूटनीतिक संवाद अघि बढाउनू 

काठमाडौं । सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको रहस्यमय मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उक्त घटनामा सरकारले बिशेष ध्यान दिनुपर्ने धारणा राखेपछि समाभुख घिमिरेले उक्त घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन लागि भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन निर्देशन दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न भएको उनको भनाइ थियो ।

सभामुख घिमिरेले पीडित परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न समेत सरकारलाई निर्देश गरे । उनले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न अपिल गरेका थिए ।

त्यसअघि बैठकको आकस्मिक समयमा सांसदहरुले कलिंगा इन्स्टिच्यूटमा दुईजना नेपाली विद्यार्थीको रहस्यमय मृत्यु हुँदा पनि सरकारले केहि पहल नगरेको भन्दै आपत्ति जनाएका थिए । कांग्रेस सांसद रामकृष्ण यादवले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाको छानविनका गर्दै दोषिमाथि कारवाहीका लागि नेपाल सरकार र भारत सरकारको ध्यानाकर्षण गरेका थिए ।

त्यस्तै माओवादी सांसद देवेन्द्र पौडेलले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाले विदेशमा पढ्न जाने विद्यार्थीहरुको सुरक्षामाथि नै प्रश्न खडा भएकाले सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए । त्यस्तै सांसद अमरेशकुमार सिंहले कलिंगा इन्स्टिच्यूटमा दुई छात्राको रहस्यमय मृत्यु हुँदा पनि सरकार मौन रहेको भन्दै आपत्ति जनाएका थिए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्