
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फरक संरचनामा आयोजना गरेको फिफा क्लब विश्वकप हाल अमेरिकाको विभिन्न सहरमा जारी छ । यसअघि, ६ महादेशका महादेशीय विजेताबीच हुने प्रतियोगितालाई फिफाले यस वर्षदेखि कुल ३२ राष्ट्रको सहभागितामा सञ्चालन गरिरहेको छ ।
फिफाका अनुसार, प्रतियोगिता अबदेखि प्रत्येक चार वर्षमा आयोजना हुनेछ ।
अमेरिकामा जुन १४ देखि सुरु भएको प्रतियोगिताले हालसम्म नकआउट चरण प्रवेश गर्ने १४ राष्ट्र पाइसकेको छ । सहभागी ३२ टोलीलाई प्रत्येक समूहमा चार टोली रहने गरी आठ समूहमा विभाजन गरिएको थियो ।
जसमध्ये हालसम्म समूह ‘ए’देखि ‘एफ’सम्मले समूह विजेता र उपविजेता पाइसकेको छ । प्रतियोगिताको समूह ‘ए’बाट ब्राजिलियन क्लब पाल्मेरस र मेजर सकर लिगको टोली इन्टर मियामीले अन्तिम–१६ को यात्रा तय गरेका छन् ।
प्रतियोगिताको समीकरणअनुसार, अब समूह विजेता पाल्मेरसले समूह ‘बी’को उपविजेता बोटाफोगाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यस्तै, समूह ‘बी’ बाट विजेता बन्दै अन्तिम–१६ को यात्रा तय गरेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले समूह ‘ए’ को उपविजेता इन्टर मियामीसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
यस्तै, समूह ‘सी’ बाट पोर्चुगिच क्लब बेन्फिका र जर्मन लिग च्याम्पियन बायर्न म्युनिखले प्रि–क्वार्टरफाइनल यात्रा तय गरेका छन् । समीकरणअनुसार, अब बेन्फिकाले क्वार्टरफाइनल प्रवेश गर्न समूह ‘डी’को चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘डी’ को विजेता फ्लेमिंगोले बायर्नसँग खेल्नेछ ।
प्रतियोगिताको समूह ‘ई’बाट इटालियन क्लब इन्टर मिलान र मोन्टेरीले अन्तिम–१६ को यात्रा तय गरेका छन् । समूह ‘एफ’बाट जर्मन क्लब बोरुसिया डर्टमन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्सले प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन् । अब क्वार्टरफाइनल प्रवेश गर्न इन्टरले फ्लुमिनेन्स र मोन्टेरीले बोरुसिया डर्टमन्डविरुद्ध खेल्नुपर्ने समीकरण बनेको छ ।
प्रतियोगिताको समूह ‘जी’बाट युभेन्ट्स र म्यानचेस्टर सिटीले प्रिक्वार्टरफाइनल यात्रा तय गरिसकेका छन् । तर, दुवै टिमले दुई खेलबाट समान ६ खेल जोडेको हुँदा समूह विजेता र उपविजेताको टुंगो लाग्न बाँकी छ । यी दुई टिमबीच आज राति नेपाली समयानुसार १२ः४५ बजेदेखि सुरु हुने खेलबाट विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
यस्तै, ‘एच’ बाट अन्तिम–१६ मा प्रवेश गर्न रियाल मड्रिड, आरबी साल्जबर्ग र अल–हिलाल गरी तीन टिम प्रतिस्पर्धामा छन् । समूहमा दुई खेलबाट चार अंक जोडेको रियाल शीर्ष स्थानमा छ । समान अंक भए पनि गोलआधारमा साल्जबर्ग दोस्रो स्थानमा छ । यस्तै, दुई खेलबाट तीन अंक जोडेको अल–हिलाल अंक तालिकाको तेस्रो स्थानमा छ ।
प्रतियोगितामा भोलि (शुक्रबार) बिहान नेपाली समयानुसार ६ः४५ बजे अल–हिलालले यसै समूहको पुछारमा रहेको पाचुकाविरुद्ध खेल्ने तालिका छ । यस्तै, रियालले साल्जबर्ग सोही समयमा प्रतिस्पर्धा गर्दै छ । यी दुई खेलको नतिजाबाट यो समूहका समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।