
काठमाडौं । नेपाली राष्ट्रिय यू–२३ पुरुष टोलीको सहायक प्रशिक्षकमा सचिन्द्र धिमाल नियुक्त भएका छन् । बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सचेन्द्रलाई ताजकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोटको निम्ति सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।
धिमाललाई एन्फाका कार्यवाहक महासचिव दामोदर भट्टराईले आजै (बिहीबार) नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । उनको प्रशिक्षणमा शीर्ष डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगको पछिल्लो संस्करणमा च्याम्पियन बनेको थियो ।
एन्फाले धिमालसँगै टोलीको गोलकिपर प्रशिक्षकमा नवीन महर्जन र टिम म्यानेजरमा अमृतमान श्रेष्ठलाई पनि नियुक्त गरेको छ । यी नियुक्तिसँगे टोलीको अफिसियल टिमको पनि टुंगो लागेको छ । एन्फाले यसअघि नै टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरिसकेको छ ।
प्रतियोगितामा नेपाल समूह ‘के’ मा छ । समूहमा नेपालसँगै ताजकिस्तान, सिरिया र फिलिपिन्स छन् ।
एएफसीका अनुसार, नेपालले छनोटअन्तर्गत सेप्टेम्बर ३ मा ताजकिस्तान, सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ । नेपालले चार वर्षअघि सन् २०२१ को नोभेम्बरमा ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।