
काठमाडौं । कश्मीरस्थित पहलगाममा पर्यटकमाथि आतंककारी आक्रमणपछि भारतको जम्मु–कश्मीर राज्यका धेरै क्षेत्रमा प्रहरी र सुरक्षा बलले त्यस्ता गतिविधिमा संलग्न व्यक्ति र उनीहरूका परिवारका घर भत्काइरहेका छन् । यही अप्रिल २२ मा पहलगाममा आतंककारी हमलामा २६ पर्यटक मारिएका थिए ।
हालसमम कम्तीमा १० घरमा यस्तो कारबाही गरिएको बीबीसी हिन्दीले जनाएको छ । उक्त आक्रमणपछि अनन्तनाग प्रहरीले जारी गरेका तीन आतंकवादीको ‘स्केच’मा आदिल हुसेन ठोकरको नाम समेत समावेश थियो ।
भारतीय सेनाले आदिलका आमाबुवा र दाजुभाइहरू बस्ने घर अप्रिल २५ मा भत्काएको थियो । आदिलकी आमालाई अर्को घरमा पठाएर सेनाले उनको घर भत्काएको थियो ।
उनका अनुसार, आदिल सन् २०१८ देखि उनको सम्पर्कमा छैनन् । उनका दुई छोरा र श्रीमान्लाई प्रहरीले लखेटेको छ ।
उनले अगाडि भनिन्, “राति १२ः३० बजे ठूलो विस्फोट भयो । सम्पूर्ण टोलवासीलाई १०० मिटर टाढा बस्न लगाइयो । सबैलाई त्यहाँबाट हटाइयो । केही मानिस तोरीबारीमा गए । अरूले अर्काको घरमा शरण लिए ।”
कुलगाम जिल्लाको मतलहामा गाउँमा जाकिर अहमदको घर पनि भत्काइएको छ । परिवारका अनुसार, सन् २०२३ देखि जाकिरको कुनै अत्तोपत्तो छैन ।
जाकिरका बुवा गुलाम मोहिउद्दीनले आफूहरूलाई मस्जिदमा राखेर रातको २ः३० बजे ठूलो आवाजको विस्फोटसहित सेनाले घर भत्काएको बताए ।
मोहिउद्दीनले जाकिर जीवित वा मृत्यु भइसकेको भन्ने आफूलाई थाहा नभएको बताए । तर, उनी आतंकवादी समूहमा सामेल भएको सुरक्षा बलको आरोप छ ।
अलजजिराका अनुसार, भारत–पाकिस्तानको सीमा जिल्ला कुपवारामा लस्कर ए तोइबाका लडाकु फारुक तिद्वा परिवारको घर पनि भत्काइएको छ । तिद्वाको परिवारका अनुसार, उनी १९९० को दशकमा पाकिस्तानतर्फ लागेपछि कहिल्यै फर्केर आएका छैनन् ।
यस्तै, दक्षिणी कश्मीरको पुलवामा जिल्लाको मुर्रान गाउँमा सन्दिग्ध आतंकवादी अहसान शेखको घर भारतीय सेनाले भत्काएको छ । स्थानीयले अलजजिरालाई बताएअनुसार, त्यसक्रममा कम्तीमा १२ घरमा क्षति पुगेको छ ।
यस्तै, कश्मीरको शोपियान जिल्लाको चोटीपोरा गाउँका २७ वर्षीय सन्दिग्ध आतंकवादी शाहिद अहमद कुटे परिवारको घर भारतीय सुरक्षाकर्मीले भत्काए । उनका पिताका अनुसार, कुटेले धेरैअघि घर छोडेका थिए ।
स्थानीयले भारतले इजरायली रणनीति अपनाएर आफूहरूलाई सजाय दिइरहेको आरोप लगाएका छन् । इजरायलले आफ्नो देशमाथि आक्रमण गरेको आरोपमा प्यालेस्टाइनीका घर भत्काउने गरेको छ ।
भारतीय सेनाको यो कारबाहीप्रति कानुनविद्ले प्रश्न उठाएका छन् । जम्मु–कश्मीरका कानुनविद् हबिल इक्बालले उक्त कारबाहीबाट भारतको सर्वोच्च अदालतको आदेशको पूर्ण उल्लंघन भएको बीबीसी हिन्दीलाई बताए ।
उनले भने, “यो सुप्रिम कोर्टको हालैको आदेशको स्पष्ट अवहेलना हो । वास्तवमा, सुप्रिम कोर्टले घर भत्काउने विषयमा स्पष्ट रूपमा आदेश दिएको छ ।”