
काठमाडौं । नेपालले बंगलादेशसँगको महिला कबड्डी शृंखलाको पाँचौँ खेलमा हार व्यहोरेको छ । सातदोबाटोस्थित तेक्वान्दो प्रशिक्षण हलमा शुक्रबार पाँचौँ खेलमा नेपाल पाहुना टोली बंगलादेशसँग २८–२३ अंकले पराजित भएको हो ।
यससँगै नेपालले श्रृंखला ३–२ को नतिजामा नै चित्त बुझाएको छ । बिहीबार चौथो खेलमा जित निकाल्दै नेपालले पाँचौँ खेलअगाडि नै शृंखला आफ्नो पक्षमा पारेको थियो । त्यसैले शुक्रबार पाँचौँ खेलमा जित निकाल्दै दुवै टोली श्रृंखलाको सुखद् अन्त्य गर्न चाहन्थे । तर, पाँचौँ खेलमा नेपालले अग्रता जोगाउन नसक्दा हार व्यहोर्नुपर्यो ।
पहिलो हाफमा १४–७ को अग्रता जोगाउन नसक्दा नेपालले हार सामना गर्नुपरेको हो । बंगलादेश पहिलो हाफमा एकपल्ट अलआउट भयो ।
तर, दोस्रो हाफमा भने नेपालले लय जारी राख्न सकेन । बंगलादेशले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो । यो हाफमा बंगलादेशले २१ अंक जोड्दै उत्कृष्ट पुनरागमन गर्यो । यस क्रममा नेपाली टोली दुईपल्ट अलआउट पनि हुन पुग्यो र हार सामना गर्यो । बंगलादेशको जितमा मेहबी चम्का प्लेअर अफ दी म्याच भइन् । उनले पाँच हजार नगद पुरस्कार पाइन् । प्लेअर अफ दी सिरिज भने नेपाली कप्तान मानमती विष्ट भइन् । उनले ट्रफी र १५ हजार रुपैयाँ नगद पुरस्कार पाइन् ।
श्रृंखलामा च्याम्पियन नेपाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राष्ट्रिय खेलकुद परिषद्की कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी र कबड्डी संघका महासचिव अरविन्दकुमार झा लगायतले पुरस्कृत गरे । नेपालले यसअघि तेस्रो खेलमा पनि हार बेहोरेको थियो ।