site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसले आक्रमण गर्ने डरले पुरानो बंकर प्रणालीमा सुधार गर्दै जर्मनी !

काठमाडौं । आक्रमणको स्थितिमा नागरिकलाई सुरक्षा प्रदान गर्न जिम्मेवार संघीय एजेन्सीका प्रमुखले जर्मनीको पुरानो र जीर्ण बंकर नेटवर्कमा ठूलो सुधार आवश्यक भएको बताएका सीएनएनले जनाएको छ ।

संघीय नागरिक सुरक्षा र विपत्ति राहत एजेन्सीका अध्यक्ष राल्फ टिएस्लरले एक जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा भने, “लामो समयसम्म जर्मनीमा यो विश्वास व्यापक थियो कि हामीले युद्धको तयारी गर्न आवश्यक छैन । अब त्यो धारणा परिवर्तन भएको छ । हामी युरोपमा ठूलो आक्रमणको जोखिमबारे चिन्तित छौँ ।”

Argakhachi Cement Island Ad

टिएस्लरको यो भनाइले रुसले चार वर्षभित्र युरोपमा फेरि आक्रमण गर्ने प्रयास गर्न सक्छ भन्ने युरोपभर फैलिएको वास्तविक डरलाई प्रतिनिधित्व गर्छ । यो अवधिलाई रुसले युक्रेनमा लामो र रक्तरञ्जित युद्धपछि पुनः सैन्य शक्ति जुटाउन आवश्यक न्यूनतम समय मानिन्छ ।

उक्त पत्रिकाका अनुसार, जर्मनीमा हाल ५८० मात्र बंकर छन् । तीमध्ये धेरै चालु अवस्थामा छैनन् । यो संख्या शीतयुद्धकालीन दुई हजार बंकरको तुलनामा निकै कम हो ।

हाल जर्मन जनसंख्याको मात्र ५ प्रतिशतले आक्रमण भएमा बंकरभित्र शरण लिन सक्ने जनाइएको छ । जर्मनीको जनसंख्या लगभग आठ करोड ३० लाख छ ।

नागरिक सुरक्षा एजेन्सी प्रमुखले सुरुङ, मेट्रो स्टेसन, भूमिगत ग्यारेज र सार्वजनिक भवनको अन्डरग्राउन्डलाई उन्नत बनाएर १० लाख भूमिगत आश्रयस्थल चाँडो सिर्जना गर्ने र राष्ट्रिय साइरन एवं सूचना प्रणाली विस्तार गरिने बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्