site stats
बाह्रखरी :: Baahrakhari
खेल
महिला क्रिकेट टिम फ्रेन्चाइज प्रतियोगिता कुरिरहेको छ

थाइल्यान्डमा आयोजित आईसीसी महिला ट्वान्टी–२० एसिया क्षेत्रीय छनोटबाट ग्लोबल छनोटमा स्थान बनाएपछि नेपाली महिला क्रिकेट टिमको चर्चा चुलिँदो छ । नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपटक ग्लोबल क्वालिफायरमा स्थान बनाएकाले पनि समर्थकमाझ यो चाखको विषय बनिरहेको हो । प्रतियोगिताको शीर्ष दुईमा रहँदै ग्लोबल क्वालिफायरमा स्थान बनाएको नेपालले उक्त चरण पनि पार गर्न सके इतिहासमै पहिलोपल्ट विश्वकपको मञ्चमा प्रतिस्पर्धा गर्नेछ । महिला टिमको उपलब्धि, अप्ठ्यारा, सम्भावनालगायत समसामयिक क्रिकेट विषयमा केन्द्रित रहेर उपकप्तान विन्दु रावलसँग बाह्रखरीका आशिष पुडासैनीले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली समर्थकमाझ अहिले ग्लोबल क्वालिफायरको चर्चा धेरै छ, तपाईंले त्यो पललाई कसरी अनुभव गर्नुभयो ?
पछिल्लो समय महिला टिमले धेरै आलोचना खेप्दै आएको छ । हामी यी सबै चिजसँग लड्दै थियौँ । तर पनि हाम्रो टिममा सक्छौँ भन्ने भावना थियो । त्यो जितले हामीले आफूलाई प्रमाणित गर्‍यौँ जस्तो पनि लाग्छ । हामीले पनि सक्छौँ भन्ने देखायौँ ।

ग्लोबल क्वालिफायरमा छनोट हुने आत्मविश्वास थियो ? 
एकदमै । हाम्रो टिमको प्रत्येक सदस्यमा त्यो आत्मविश्वास थियो । हाम्रो लक्ष्य पनि त्यही थियो । त्यहीअनुसार हामीले मिहिनेत पनि गरेका थियौँ । क्यानले पनि हामीलाई शतप्रतिशत साथ दिएको थियो । विदेशी प्रशिक्षकको कुरा आउँदा विदेशी प्रशिक्षक पनि क्यानले दिएको थियो । टिमको माहोलअनुसार हामी क्वालिफायरमा छनोट हुन्छौँ भन्ने विश्वास थियो ।

Argakhachi Cement Island Ad

अब अन्तिम चरण ग्लोबल क्वालिफायर छ । त्यसपछि विश्वकप । कत्तिको सम्भावना देख्नुहुन्छ नेपालको ?
नेपाली महिला टिमले अब जितको बानी बसाउनुपर्छ । एसियन रिजनल छनोटमा बलियो टिमसँग खेलेर आएका छौँ । त्यसले हाम्रो आत्मविश्वासलाई माथि पुर्‍याएको छ । अब जुनसुकै टिमलाई जित्न सक्छौँ भन्ने सोचेर आएका छौँ । जसरी हामीले मिहिनेत गरेका छौँ र जस्तो नतिजा निकाल्यौँ, यसरी नै निरन्तर जाने हो भने पक्कै पनि नेपाली महिला टिमले विश्वकप खेल्छ नै ।

एक महिला क्रिकेटरका रूपमा तपाईंले कत्तिको गाह्रो/सहज महसुस गर्नुभएको छ ? 
पछिल्लो समय महिला क्रिकेटमा आफू एक्लै बाँच्न सहज नै छ । तर, यही पारिश्रमिकले परिवार पाल्न त गाह्रै छ । महिला क्रिकेटरलाई अहिलेको अवस्था केही सहज नै छ भन्दा फरक पर्दैन ।

पहिले नतिजा ल्याऊ त्यसपछि लगानी आउँछ भन्ने सुनिन्छ, के भन्नुहुन्छ ?
कोही एक व्यक्तिले अर्को व्यक्तिलाई लगानी गर्नका निम्ति लगानी गर्ने मान्छेमा यसले केही गर्न सक्छ भन्ने विश्वास हुनुपर्छ । पुरुष क्रिकेटसँग तुलना गर्ने हो भने हामीले त्यो विश्वासलाई जित्न सकेका छैनौँ । त्यो विश्वास पाउन पनि हामीलाई धेरै स्रोतहरूको आवश्यकता पर्दछ । त्यो पनि क्रिकेटका स्टकहोल्डरहरूले बुझिदिनुपर्‍यो । स्रोत आइसकेपछि हामीले त्यसलाई प्रयोग कसरी गर्छौं र के नतिजा दिन्छौँ भन्ने कुराले पनि लगानी निर्धारण गर्छ जस्तो लाग्छ । त्यसका लागि सबैभन्दा सुरुमा महिला टिमलाई विश्वास गर्नुपर्छ ।

पुरुष क्रिकेटमा गत वर्ष नेपाल प्रिमियर लिग (एनपीएल) भव्य रूपमा भयो । महिला क्रिकेटर पनि फ्रेन्चाइज क्रिकेट लिग कुरिरहेका छन् ?
एकदमै । नेपाली महिला क्रिकेटरहरू फ्रेन्चाइज प्रतियोगिता कुरिरहेका छौँ । यसको हामीलाई आशा छ । ढिलोचाँडो हामीले त्यसलाई पाउँछौँ भन्ने विश्वास पनि छ ।

क्रिकेट नै किन रोज्नुभयो ?
सुरुमै म क्रिकेटर बन्छु भनेर हिँडेको होइन । मलाई सुरुमा क्रिकेट खेल्दा घरबाहिर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू खेल्न पाइन्छ, राष्ट्रिय खेलाडी बन्न सकिन्छ भन्ने थाहा पनि थिएन । सुरुमा घरतिर रमाइलोको लागि मात्रै खेलेको हो । तर, खेल्दै जाँदा क्रिकेट नै बानी बन्यो । चासो पनि यसैमा हुन थाल्यो । खेल्दै जाँदा यसैमा रमाएँ । 

परिवारको साथ कस्तो पाउनुभयो ?
घरमा मलाई पहिलेदेखि नै खेल, खेल्नुपर्छ, स्वास्थका लागि पनि राम्रो हुन्छ भन्नुहुन्थ्यो । बीचमा चाहिँ केही समस्या खेपेँ । तर, अहिले ठिक छ ।

अबको लक्ष्य ?
मेरो व्यक्तिगत र टिमकै लक्ष्य पनि विश्वकप खेल्ने हो ।

अब ग्लोबल क्वालिफायरमा नेदरल्यान्ड्स, अमेरिका, थाइल्यान्डजस्ता बलिया टोली हुनेछन् । त्यहाँबाट अघि बढ्नेमा टिममा कत्तिको विश्वास छ ?
हामी अहिले निकै सकारात्मक रूपमा अघि बढिरहेका छौँ । स्किल र गेमअनुसार हामी अरू टिमसमान नै छौँ । सबै खेलाडी व्यक्तिगत रूपमा निकै राम्रा छन् । तर, हामीले मैदानमा आफूलाई कसरी प्रस्तुत गर्छौँ भन्ने कुराले अर्थ राख्ने रहेछ । अहिले नेपाली टिममा हामी जुनसुकै टिमसँग पनि राम्रो गर्न सक्छौँ भन्ने विश्वास बनेको छ ।

टिमका सबै सदस्य राम्रा छन् भन्नुभयो, भविष्यमा नेपालबाट राम्रो गर्न सक्ने एक खेलाडीको नाम लिनुपर्दा कसको लिनुहुन्छ ?
नेपाली टिमका सदस्यहरूमा कुनै पनि खेलाडीको स्किल कमजोर छैन । कुनै एक खेलाडीको नाम लिँदा टिमका अरू सदस्यलाई कमजोर बनाएजस्तो हुन्छ । सबै खेलाडी अहिले र भविष्यमा पनि राम्रो गर्न सक्ने हुनुहुन्छ ।

क्रिकेट करियरमा तपाईंको सबैभन्दा खुसीको क्षण कुन हो ?
अहिलेसम्म सम्झिनुपर्दा मलाई मेरो डेब्युको याद आउँछ । मैले सन् २०१९ मा डेब्यु गर्दा टिममा एकदमै सिनियर दिदीहरू हुनुहुन्थ्यो । नेरी दिदी, करण दिदीजस्ता सिनियर खेलाडीहरू हुनुहुन्थ्यो । त्यो समयमा आफूभन्दा धेरै सिनियर खेलाडीहरूमाझ डेब्यु गर्दा निकै खुसी लागेको थियो ।

महिला क्रिकेटमा अवसरबारे तपाईंको अनुभव कस्तो छ ?
पछिल्लो समय नेपाली क्रिकेटमा पुरुषपुरुष मात्रै पनि छैन । क्यानकै तालिका हेर्ने हो भने पनि महिला र पुरुष दुवैका खेलहरू उत्तिकै छन् । घरेलुमा पनि मौकाहरू धेरै पाइरहेका छौँ ।

समर्थकप्रति महिला टिमको गुनासो किन छ ?
हो, समर्थकप्रति महिला टिमको गुनासो छ । पुरुष र महिला जसले खेले पनि क्रिकेट नै हो । क्रिकेट रुचाउनेले हाम्रो क्रिकेट पनि हेर्दिनुपर्‍यो भन्ने गुनासो त अहिले पनि छ ।

नयाँ आउने महिला क्रिकेटरलाई के भन्न चाहनुहुन्छ ?
अहिले महिला टिमले निकै राम्रो गरिरहेको छ । आउने दिनमा पनि टिमले यही लयलाई  कायम राख्नेछ । अहिले हाम्रो अभिभावक निकाय क्यानले पनि राम्रो गरिदिनुभएको छ । क्रिकेटमा भविष्य देख्नुहुन्छ भने एकरूप भएर लाग्नुपर्‍यो । भविष्य राम्रो छ ।

क्रिकेटमा उपकप्तानसम्मको तपाईंको यात्रालाई कसरी हेर्नुहुन्छ ?
यो यात्रा त्यति सहज थिएन । अप्स एन्ड डाउन धेरै भोगेँ । अहिले त्यो सोच्दा आफैँप्रति गौरवान्वित महसुस हुन्छ, हार मानिनँ भनेर । अहिले जे पनि पाएको छु, त्यसमा एकदमै खुसी लाग्छ ।

परिवारमा सबैभन्दा राम्रो साथ कसले दिनुभयो ?
मेरो परिवारमा सबैले मलाई राम्रो साथ दिइरहनुभएको छ । तर, शब्दले गर भन्नु र आर्थिक रूपमा पनि सहयोग हुनुले धेरै फरक पार्ने रहेछ । मेरो दिदीलाई मलाई धेरै सपोर्ट गर्नुहुन्छ । एक समय क्यानबाट पारिश्रमिक पनि थिएन, तर दिदीले तँ खेल, म छु भन्नुभयो ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
हामी धेरै आलोचना खेपेर यहाँसम्म आएका छौँ । त्यही भएर म समर्थकहरूलाई पनि अहिले महिला टिमलाई आलोचनाभन्दा तपाईंहरूको साथ आवश्यक छ भन्न चाहन्छु । तपाईंहरूले समर्थन गर्नुहुँदा हामी पक्कै पनि नतिजा दिनेछौँ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्