site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको भूमिमा पानीको प्रवाह रोके युद्ध कारबाहीको रूपमा लिने

काठमाडौं । पाकिस्तानले भारतले चालेको कदमविरुद्ध विभिन्न कारबाहीको घोषणा गरेको छ । आतंकवादीले मंगलबार २६ जनाको ज्यान लिने गरी जम्मू कश्मीरको पहलगाममा आक्रमण गरेपछि भारतले पाकिस्तानविरुद्ध विभिन्न कारबाहीको घोषणा गरेको थियो । त्यसको जवाफमा पाकिस्तानले भारतविरुद्ध बिहीबार कारबाहीको घोषणा गरेको हो ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफको अध्यक्षतामा बिहीबार इस्लामवादमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले ती निर्णयहरू गरेको हो ।

यसमा भारतसँगको द्विपक्षीय सम्झौताहरू निलम्बन गर्ने, हवाई क्षेत्र, सीमाहरू बन्द गर्ने र व्यापार निलम्बन गर्ने समावेश छन् । भारतले जस्तै पाकिस्तानले पनि रक्षा सल्लाहकार र उनीहरूका सहयोगीहरूलाई देश छोड्न भनेको छ । पाकिस्तानले कूटनीतिक कर्मचारीहरूलाई पनि सीमित गर्ने निर्णय गरेको छ ।

बैठकले सिन्धु जल सन्धि निलम्बन गर्ने भारतको निर्णय अस्वीकार गर्ने निर्णय गरिएको छ । यस सन्धिअन्तर्गत पाकिस्तानको भूभागमा पानीको प्रवाह रोक्ने वा मोड्ने कुनै पनि प्रयास भारतले गरे यसलाई युद्ध कारबाहीको रूपमा मानिने र पूर्ण शक्तिका साथ जवाफ दिने पाकिस्तानले जनाएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– “भारतले अन्तर्राष्ट्रिय महासन्धिहरू, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का प्रस्तावहरू र अन्तर्राष्ट्रिय दायित्वहरूको जानाजानी बेवास्ता गर्दै गरेको लापरवाह र गैरजिम्मेवार व्यवहारलाई ध्यानमा राख्दै, पाकिस्तानले भारतसँगको सबै द्विपक्षीय सम्झौताहरू निलम्बन गर्ने अधिकार प्रयोग गर्नेछ, जसमा शिमला सम्झौता पनि समावेश छ, जबसम्म भारतले पाकिस्तान भित्र आतंकवादलाई बढावा दिने, विदेशमा हत्या गर्ने र कश्मीरमा संयुक्त राष्ट्र संघको प्रस्तावहरूको पालना नगर्ने व्यवहार बन्द गर्दैन ।”

पाकिस्तानले भारतको स्वामित्वमा रहेका वा सञ्चालित सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र तुरुन्तै बन्द गर्ने घोषणा गरेको छ । साथै, वाघा सीमा पनि तुरुन्तै बन्द गर्ने घोषणा गरेको छ ।

यद्यपि, घोषणाअनुसार वैध कागजातहरूसहित सीमा पार गरेर भारत प्रवेश गरेकाहरू अप्रिल ३० सम्म यस बाटो हुँदै फर्कन सक्ने पाकिस्तानले जनाएको छ ।

पाकिस्तानले सिख तीर्थयात्रीहरूबाहेक सार्क भिसा छूट कार्यक्रमअन्तर्गत सबै भारतीय नागरिकहरूलाई दिइएको सबै भिसा निलम्बन गरेको छ र यी भिसाहरूलाई रद्द गरिएको मानिनुपर्ने बताएको छ । यस्ता भिसामा पाकिस्तानमा बसोबास गर्ने भारतीय नागरिकहरूलाई ४८ घण्टा भित्र देश छोड्न निर्देशन दिइएको छ ।

यसबाहेक घोषणामा भनिएको छ कि भारतसँगको सबै प्रकारको व्यापार पनि निलम्बन गरिएको छ । यो कुनै पनि तेस्रो देश मार्फत गरिने व्यापारमा पनि लागु हुने जनाइएको छ ।

पाकिस्तानले इस्लामावादमा रहेका भारतीय रक्षा/सैन्य सल्लाहकारहरूलाई पनि अवाञ्छित व्यक्ति घोषित गरेको छ र तुरुन्तै देश छोड्न भनेको छ ।

पाकिस्तानले यी सल्लाहकारहरूको सहयोगी कर्मचारीलाई पनि फिर्ता जान निर्देशन दिएको छ । घोषणाअनुसार अप्रिल ३०, २०२५ देखि इस्लामावादस्थित भारतीय उच्चायोगमा कर्मचारी संख्या ३० मा सीमित हुनेछ । बीबीसी हिन्दीबाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro