
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीमाथि शान्तिवार्तालाई नकारात्मक प्रभाव पार्न खोजको आरोप लगाएका छन् । जेलेन्स्कीले क्राइमियामाथि रुसी कब्जालाई मान्यता नदिने बताएपछि ट्रम्पको अभिव्यक्ति आएको बीबीसीले जनाएको छ ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध अन्त्य गर्ने सम्झौता धेरै नजिक पुगिसकेकामा जेलेन्स्कीले अमेरिकी सर्त स्वीकार्न अस्वीकार गरेर द्वन्द्व लम्ब्याउन खोजेको आरोप लगाएका छन् ।
योभन्दा अगाडि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भूमिसम्बन्धी सीमा विवादलाई हालको अवस्थामै स्थिर राख्ने आशयको शान्ति सम्झौताको अमेरिकी दृष्टिकोण प्रस्तुत गरेका थिए । भान्सले शान्ति सम्झौताले युक्रेन र रुस दुवैले हाल आफ्नो अधिनमा रहेको क्षेत्रको केही भाग त्याग्नुपर्ने बताएका थिए ।
युक्रेनले लामो समयदेखि रुसले सन् २०१४ मा अवैधरूपमा कब्जा गरेको क्राइमिया नछाड्ने स्पष्ट पारेको छ ।
ह्वाइट हाउसमा पत्रकारहरूले क्राइमियामा रुसी सार्वभौमिकतालाई मान्यता दिनेबारे गरेको प्रश्नमा ट्रम्पले आफूले युद्ध अन्त्य भएको हेर्न चाहेको तर कसैप्रति पक्षपात नभएको र सम्झौता भए राम्रो हुन्थ्यो भन्ने मात्र लागेको बताएका थिए ।