site stats
बाह्रखरी :: Baahrakhari
देश
कारबाही भोगेका र पछि परेका एसपीको दबाबले अल्झियो एसएसपीको बढुवा

काठमाडौं । प्रहरीमा यतिखेर वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा पेचिलो बनेको छ । प्रहरीमा ११ जना एसएसपीको दरबन्दी रिक्त छ । 

तर, बढुवाका आकांक्षी बढी भएपछि प्रहरी प्रधान कार्यायल र गृहमन्त्रालयलाई बढुवा गर्न सकस परेको छ । प्रहरीमा ५६ जना एसएसपीको दरबन्दी छ । तर, हाल ४५ जनामात्रै कार्यरत छन् ।

गत जेठ १६ गते ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएसँगै एसएसपीको दरबन्दी रिक्त भएको हो । प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपीमा बढुवा गर्ने जिम्मेवारी गृहसचिवको नेतृत्वमा रहेको बढुवा सिफारिस समिति हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बढुवा हुन प्रतिस्पर्धीहरूको तीव्र दौडधूप सुरु भएको छ । एसएसपी बढुवा हुन ०५३ सालमा भर्ना भएका टोली तथा ०५६ र ०५८ मा भर्ना भएका टोलीबीच तीव्र दौडधूप चलेको हो । ०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना हुँदै प्रहरीमा स्थानान्तरण भएका एसपी विमल बस्नेत पनि प्रतिस्पर्धामा छन् । 

तुलबहादुर कार्की, राकेश सिंह, राजीबबहादुर बस्नेत, दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपेन्द्र शाही, रामप्रकाश साह पनि एसएसपी बढुवा दौडमा छन् । एसएसपीको प्रवीण धिताल, दयानिधि ज्ञवाली, भुवनेश्वर तिवारी, प्रकाश रानाभाट र कमल थापा छन् ।

उनीहरूबाहेक राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रप्रसाद सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, अर्जुनप्रसाद तिमिल्सिना र रमेश पण्डित बढुवाको लाइनमा छन् ।

कारबाही भोगेका र पुछारका एसपीको दबाब तीब्र
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, कारबाही भोगेका र एसपी बढुवामा पछि परेका अधिकृतको तीव्र दबाबका कारण बढुवामा ढिलाइ भएको हो ।

बढुवाका लागि शक्तिकेन्द्र धाउनेमा अधिकांश कारबाही परेका र एसपीको बढुवामा पुछारमा परेका अधिकारीहरू छन् । उनीहरूकै कारण बढुवा सकसमा परेको हो ।

प्रहरी प्रधान कार्यालयका एक अधिकारी भन्छन्, ‘‘सरुवा–बढुवा समयमै गरौँ भन्ने नै हो । तर, बढुवाका लागि कारबाहीमा भोगेका र एसपीको सूचीमा पछि रहेकाहरूको दबाब छ । त्यहीकारण रोकिएको हो ।’’

डीएसपीदेखि एसपीमै कारबाही परेका अधिकारी प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्रालयमार्फत बढुवाका लागि दबाबमा छन् । यसरी दबाब दिनेमा २०७७ वैशाख १७ गते एसपी भएका र कारबाही भोगेका अधिकारी छन् । यो टोलीबाट १० जना यसअघि नै एसएसपी भइसकेका छन् । 

त्यतिबेला २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका थिए ।

त्यही वर्ष माघमा थप १५ जना डीएसपी एसपी भएका थिए । यही टोलीको तीव्र दबाबका कारण बढुवा अलपत्र परेको हो । यसरी एसएसपीका प्रतिस्पर्धीमध्ये केही विभागीय कारबाही भोगेकाहरूसमेत छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, विभागीय कारबाही भोगेका प्रहरी अधिकारीलाई बढुवामा रोक्ने तयारी गृह र प्रधान कार्यालय दुवैको छ । तर, उनीहरूकै दबाब तीव्र हुँदा बढुवा अल्झनमा परेको हो । ११ जना एसएसपीका लागि ३३ जना एसपी प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्