
ओटावा । क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ६.९ प्रतिशतमा पुगेको छ । यो ०.२ प्रतिशत अंकले वृद्धि भएको हो । मार्चमा पनि ०.१ प्रतिशत अंकको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय तथ्यांक निकाय स्ट्याटिस्टिक्स क्यानडाले शुक्रबार जानकारी दिएको छ ।
यो वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको छ । र, २०१७ जनवरीयताकै उच्चतम दर हो ।
निकायका अनुसार, अप्रिलमा रोजगारी खोजिरहेका व्यक्तिहरूले अघिल्लो वर्षको तुलनामा अझै बढी कठिनाइको सामना गर्नुपरेको थियो । मार्चमा बेरोजगार ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार नै थिए । त्यो अघिल्लो वर्षको तुलनामा उच्च अनुपात हो ।
अप्रिलमा समग्र रोजगारीमा खासै परिवर्तन देखिएन । रोजगारी दर ०.१ प्रतिशत अंकले घटेर ६०.८ प्रतिशतमा झरेको बताइएको छ ।
१५ देखि ६९ वर्ष उमेर समूहका कर्मचारीमध्ये १३.२ प्रतिशतले आफ्नो कार्यस्थलमा आउँदो ६ महिनाभित्र कर्मचारी संख्या घट्ने अपेक्षा व्यक्त गरेका छन् ।
यस्तै, अमेरिकी मागमा निर्भर क्यानाडेली निर्यात उद्योगमा कार्यरत कर्मचारीमध्ये यो अनुपात १८.६ प्रतिशत रहेको स्ट्याटिस्टिक्स क्यानडाले जनाएको छ । रासस/सिन्ह्वा