
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ डल्लीडाँडामा चट्याङ लागेर दुईजना घाइते भएका छन् । मंगलबार चट्याङको झिल्को लागेर त्यहाँस्थित हरि तामाङको होटेलमा खाजा खाँदै गरेका दुईजना घाइते भएका हुन् ।
चट्याङ लाग्दा चम्पादेवी–८, विलन्दुका ३१ वर्षीय चुत्रबहादुर दर्जी र त्यहाँकै पुरानो गाउँ बस्ने गणेश लाखेकी छोरी १६ वर्षीया सविना लाखे घाइते भएकी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घाइतेको तत्काल उद्धार गरी नजिकैको स्वास्थचौकीमा उपचारका लागि पठाइएको उनले बताए ।
चम्पादेवी गाउँपालिकाको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको स्थाननजिकै परेको चट्याङको झिल्काले अन्य केही स्थानीय तथा खेलाडीलाई समेत चोट लागेको छ । रासस