
बेइजिङ । चीनले आपत्कालीन अवस्थामा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलतापूर्वक विकास गरेको छ । यो ड्रोनको विकास हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चिनियाँ विज्ञान अकादमी तथा अरू साझेदार संस्थाको सहकार्यमा गरेको हो ।
यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरण जडान गरिएको छ । कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर हुआङ युहङका अनुसार, यो ड्रोन उच्च चिसो तापक्रम तथा पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ ।
यो ड्रोनको तौल ६०० किलोग्राम छ । यसले ३०० किलोग्रामसम्मको भार बोक्न सक्छ । यसमा स्वचालित उडान प्रणालीका साथै टाढाबाट नियन्त्रण गर्ने सुविधा पनि छ । यसले गर्दा विपद् वा महामारीका बेला छिटो र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न सकिनेछ ।
हुआङले भने, “हामीले मेडिकल उपकरण, ड्रोन प्रविधि र कृत्रिम बुद्धिमत्ताको संयोजनमार्फत चीनको स्मार्ट आपत्कालीन उद्धार क्षमतामा ठूलो सुधार ल्याएका छौँ ।” रासस/सिन्ह्वा