
काठमाडौं । यही चैत २८ गते (भोलि)बाट दुईवटा नेपाली चलचित्र रिलिज हुँदै छन् । एक्सन जनराका चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ रिलिज हुँदै छन् ।
यी चलचित्रको अग्रिम बुकिङ दुई दिनअगाडि नै खुलिसकेको छ । शो बाँडफाँट हुनबित्तिकै अग्रिम बुकिङ खुला भएको थियो । अग्रिम बुकिङ खुलेसँगै केही बुकिङ पनि हुन थालेको छ ।
तर, दुईवटै सिनेमाको बुकिङ निकै कमजोर देखिएको छ । अधिकांश शो बिहीबार मध्याह्न १२ बजेसम्म रित्तै छन् । कतिपय शोमा एउटा टिकट पनि गएको छैन ।
कुनै शोमा एउटा/दुईवटा टिकट काटेको देखिएको छ । सबैभन्दा धेरै हल रहेको काठमाडौंमा ‘पिताम्बर’ले क्यूएफएक्सका आउटलेटमा २७ र ‘कर्मा’ले १९ शो पाएको छ ।
यी शोका अधिकांश सिट खाली छन् । केही टिकट बिक्री भएका शोमा पनि निकै न्यून टिकटमात्रै गएका छन् । धेरै टिकट बिक्री भएका शोमा नै १५/२० वटा टिकटभन्दा धेरै गएका छैनन् ।
औसत सिनेमाका पनि राम्रो टिकट बिक्री हुने ललितपुरको लबिम महलमा रहेको क्यूएफएक्समा र भक्तपुरको भाटभटेनीमा रहेको क्यूएफएक्समा पनि निकै न्यून संख्यामा टिकट बिक्री भएका छन् ।
चैत २२ गते रिलिज भएको चलचित्र ‘वसन्त’को पनि अग्रिम बुकिङमा यस्तै देखिएको थियो । उच्च शो पाए पनि अग्रिम बुकिङ न्यून देखिएको थियो । अधिकांश शो खाली देखिएका थिए । रिलिजपछि पनि 'वर्ड अफ माउथ' बलियो नहुँदा यो चलचित्रले राम्रो व्यापार गर्न सकेन ।
तर, ‘पिताम्बर’ र ‘कर्मा’का लागि समय बाँकी नै छ । ओपनिङ डेका लागि अग्रिम बुकिङ अझै गर्ने समय बाँकी छ । यदि, अन्तिम समयसम्म अग्रिम बुकिङ पनि राम्रो भएन भने रिलिजपछि राम्रो ‘वर्ड अफ माउथ’ पाएको खण्डमा त्यसका आधारमा बक्सअफिसमा यी चलचितत्र राम्रो चल्नेछन् ।
चलचित्र ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।
‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक सौरभ चौधरी आफैँले लेखेका छन् ।
‘पिताम्बर’लाई निर्देशक कृषा चौलागाईंले निर्देशन गरेकी छन् । केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देललगायतको अभिनय छ ।