
काठमाडौं । नेपाली कांग्रेसले तीनकुनेलगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटना निन्दनीय रहेको जनाएको छ । शुक्रबार महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापाले संयुक्त विज्ञप्ति जारी गर्दै व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारीसाधनमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएका छन् ।
"संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई नेपाली कांग्रेस सदैव सम्मान गर्दछ । तर आज राजधानीको तिनकुने लगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा जेजस्तो हिंसात्मक घटना भएका छन् त्यो अत्यन्तै निन्दनीय छ । व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ," विज्ञप्तिमा भनिएको छ ।
लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२/०६३ को जनआन्दोलनबाट सोझै नभइ आन्दोलनले केवल प्रतिनिधिसभा पुनर्स्थापित गरेको स्मरण गराए । नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको पनि उल्लेख छ ।
"नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव छ । नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौँ । हामी जान्दछौँ कयौँ कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौँ," विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले शुक्रबारको हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउनेप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ । घाइतेहरूको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन तथा हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गरेको छ ।