
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र स्वयं र दुर्गा प्रसाईंको संयुक्त आन्दोलन सुरु भएको बताएका छन् ।
८६ वर्षीय पूर्वमहापञ्च नवराज सुवेदी नेतृत्वको राजा फर्काउने आन्दोलनमा जनपरिचालन कमान्डर तोकिएका प्रसाईंले राजा आफैँ आन्दोलनको अंश भएपछि अब गणतन्त्रवादीहरूका दिन सकिएको बताए ।
“गणतन्त्रवादी सिध्याउन एक्लो दुर्गा प्रसाईं काफी थियो । म एक्लैले गणतन्त्रवादीलाई आच्छुआच्छु बनाएको तपाईंहरूले देखिसक्नुभएको छ,” प्रसाईंले बाह्रखरीसँग भने, “अब त यो आन्दोलन दुर्गा प्रसाईं र राजाले संयुक्तरूपमा सुरु गरेको आन्दोलन हो । गणतन्त्रवादीले आफ्नो सुरक्षा खोज्दा हुन्छ ।”
यसअघि, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’का नाममा आन्दोलन गर्दै आएका प्रसाईंलाई राप्रपासहितका राजावादी पार्टीले बैंकको ऋण नतिर्ने अभियान चलाउने ‘फटाहा’ भन्दै आएका थिए ।
तर, उनै प्रसाईंसहितको योजनामा गत फागुन २५मा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कार्यक्रममा ठूलो संख्यामा मानिस सडकमा उत्रिएपछि राजावादीहरूले उनी समेतको संलग्नतामा नवराज सुवेदीको नेतृत्वमा नयाँ अभियानका लागि समिति गठन गरेका थिए ।
उक्त समितिले जनपरिचालन समिति प्रसाईंकै नेतृत्वमा गठन गरेपछि उनी उत्साहित भएका छन् । उत्साही प्रसाईंले विगतका कुनै पनि आन्दोलन स्वदेशमा बसेर स्वदेशीकै पहलमा नभएको भन्दै अहिलेको आन्दोलन भने त्यस्तो बनाएको बताए ।
“माओवादीले ०५२ फागुन १ गते आन्दोलन सुरु गरे के गरे । युद्ध त हामी लडेका हौँ, उनीहरू नोयडामा कपालमा महंगा तेल लगाएर बसे । यता गरिब तथा निमुखाहरू मारिए,” प्रसाईंले भने, “झापा आन्दोलन गर्ने अर्का कम्युनिष्टहरूले नेपाली उद्योगीहरूको टाउको काटेर आन्दोलन गराएर आफू बनारसमा बसे । अहिले मारवाडीहरूसँग व्यापार साझेदारी गरिरहेका छन् ।”
उनले नेपाली कांग्रेसले पनि बनारसमा गएर पान खाएर यता आन्दोलन गरेको आरोप लगाए । तर, अहिले यहीँ बसेकाहरूले आन्दोलन गरेकाले अब विदेशीका ‘दलाल’ र मारवाडीका साझेदारहरूको भागाभाग हुने दाबी गरे ।
आन्दोलनमा कति मान्छे जम्मा गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, “यो प्रश्न गणतन्त्रवादीहरूलाई सोध्नुस्, उनीहरूले कति ल्याउँछन् । हाम्रो त जनताको समर्थनमा भएको आन्दोलन हो, कति आउँछन् हामी नै हेर्दैछौँ ।”
राजावादीले आज काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दैछन् । प्रदर्शन सुरु भइसकेको छ ।