site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगानी–प्रतिफलसहित सुरक्षा दिए नेपालमा लगानी गर्न भारतीय लगानीकर्ता तयार

नयाँ दिल्ली । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि भारतीय ठूला व्यापारिक घरानाले लगानी र प्रतिफलको नीतिगत सुरक्षासहित तीनवटा ठूला समस्या समाधानमा सरकारको साथ खोजेका छन् ।

नेपाली राजदूतावास भारत र इन्डियन फेडेरेसन अफ ग्रिन इनर्जीको संयुक्त आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को संस्थागत सहभागितामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘नेपाल–भारत इनर्जी समिट’मा सरकारको साथ खोजेका हुन् ।

कार्यक्रममा सहभागी भारतका ठूला व्यावसायिक घरानाले, नेपालमा नीतिगत सुरक्षामार्फत भारतीय लगानीको सुरक्षा हुनुपर्ने, प्रतिफलको ग्यारेन्टी हुनुपर्ने बताए । सहज रूपमा लगानी फिर्ता लिन पाउनुपर्नेलगायत जलविद्युत् आयोजनाले सामना गर्नुपरेका तीन–चारवटा समस्या समाधानका लागि सरकारले सहजीकरण गरिदिएमा आफूहरू नेपालमा लगानी गर्न उत्साहित रहेको बताएका हुन् ।

Argakhachi Cement Island Ad

नेपालमा ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन)का आयोजना निर्देशक सुशील शर्माले नेपालमा काम गर्नको लागि वन, जग्गा प्राप्ति, भन्सार र सडकको समस्या रहेको ती समस्या समाधानका निम्ति सरकारले सहजीकरण पनि गरिरहेको बताए ।

एसजेभीएनले २१७ किलोमिटर लामो प्रसारणलाइन निर्माण गरिरहेको र सरकारको सहयोग रहेकाले नै ९०० मेगावाटको आयोजना ३ वर्षमै ८४ प्रतिशत सम्पन्न भएको पनि उनले बताएका थिए ।

अरुण ३ मा ३४ हजार करोड भारतीय रुपैयाँ लगानी गरेर २५ वर्षपछि सरकारलाई नै हस्तान्तरण हुने भएकाले यसले नेपालको अर्थतन्त्रमा ठूलो फरक पार्ने उनको दाबी थियो । यो आयोजनाले भारतीय लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने पनि उनले बताए ।

भारतीय ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव आकाश त्रिपाठीले नेपाल र भारतबीच एक हजार मेगावाट विद्युत् आदानप्रदानका निम्ति संरचना तयार भइसकेको र ८ हजार मेगावाट विद्युत् आदान प्रदान गर्न सक्ने क्षमताका चारवटा प्रसारणलाइन निर्माणमा गइसकेकोले नेपालमा उत्पादित विद्युत् भारत निर्यातका लागि कुनै समस्या नहुने बताए । 

उनले नेपालबाट भारतमा मात्रै नभएर बंगलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेकोले नेपालमा उत्पादिन विद्युत् खपत नहुँदा भारत वा बंगलादेशमा जहाँ पनि बिक्री गर्न सक्ने वातावरण बनिसकेको बताए ।

तर नेपालमा निजी क्षेत्रले बनाउने आयोजनाले सरकारलाई दिनुपर्ने फ्रि इनर्जीको विषयमा पुनर्विचार गर्नुपर्ने र वन, जग्गा प्राप्ति, भन्सारलगायत विषयमा सरकारले ध्यान दिनुपर्ने पनि बताए ।

आईएफजीईका वरिष्ठ कार्यसमिति सदस्य तथा उत्तर भारत हाइड्रोपावर कम्पनीका सिईओ नरेश गोयलले नेपाल सरकारले प्रशासनिक अवरोध हटाएर लगानीको वातावरण बनाइदिने हो भने भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताए ।

सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट उत्पादनको लक्ष्यलाई वास्तविकतामा बदल्ने हो भने नेपाल सरकारले केही बोल्ड डिसिजन गरेर भारतीय लगानीकर्तालाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिए ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाल सरकारले अघि सारेको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राप्तिका निम्ति दूतावासले यो समिट आयोजना गरेको बताए ।

उनले भारतीय लगानीकर्ताले नेपालमा आयोजनाको स्वामित्व किनेर वा जोइन्ट भेन्चरमा पनि काम गर्न सक्ने बताए ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्