
काठमाडौं । विवाहको कानुनी उमेर घटाउने प्रसंग यतिखेर संसदीय समितिहरूमा छलफलको विषय बनेको छ । हाल २० वर्ष कायम रहेको उमेर घटाएर १८ वर्षमा झार्ने केही सांसदहरूको प्रस्तावमा सरोकारवालाले विभिन्न कोणबाट टिप्पणी गरिरहेका छन् । विशेषगरी बलात्कारजन्य घटनासँग जोडिएका मुद्दामा विवाहको उमेर घटाउने चर्चाले स्थान पाइरहन्छ ।
तर के शारीरिक र मानसिक स्वास्थ्यका दृृष्टिकोणले महिला वा पुरुष दुवै १८ वर्षमा नै विवाह गर्न योग्य हुन्छन् त ? विशेषगरी प्रजनन स्वास्थ्यसँग जोडेर हेर्ने हो भने अहिले नेपालको अवस्था कस्तो छ त ?
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ (एनडीएचएस)को रिपोर्टअनुसार किशोरी अवस्थामै गर्भवती (टिनएज प्रेग्नेन्सी)को दर चुनौतीपूर्ण छ । जसअनुसार प्रतिएक हजारमा ७१ जना किशोरी १५ देखि १९ वर्षको बीचमा गर्भवती भइरहेका छन् ।
अर्थात् १५ देखि १९ वर्ष उमेरका १४ प्रतिशत महिला गर्भवती हुने गरेका छन् । जसमध्ये १२ प्रतिशतले शिशु जन्माउँछन् भने २ प्रतिशतको गर्भ खेर जाने गरेको छ । टिनएज प्रेग्नेन्सीको दर सबैभन्दा कर्णाली प्रदेशमा २१ प्रतिशत छ भने सबैभन्दा कम वाग्मतीमा ८ प्रतिशत रहेको छ । त्यस्तै, मधेसमा २० प्रतिशत रहेको छ ।
औसतमा नेपाली महिलाले १८ वर्षमा पहिलो यौनसम्पर्क राख्ने गरेको र पुरुषको हकमा यो उमेर २० वर्ष रहेको पनि सर्वेक्षणले देखाएको छ । प्रतिवेदनले भन्छ कि २० वर्षमुनिकै उमेरमा गर्भवती भएका ३३ प्रतिशत किशोरीलाई किशोरावस्थामा गर्भवती हुनुका असरबारे थाहा छैन । जसको परिणामस्वरूप मातृमृत्युदर र नवजात शिशु मृत्युदर लक्ष्यअनुरूप घट्न सकेको छैन ।
एनडीएचएस २०२२ ले प्रत्येक एक हजारमा २१ जना शिशुको जन्मिएको एक महिनाभित्र मृत्यु हुने गरेको देखाएको छ । यो संख्या सन् २०१६ को सर्भेक्षणमा पनि उस्तै थियो ।
यस्तै मातृमृत्युदर प्रतिएक लाख जीवित जन्ममा १५१ जना रहेको छ । अर्थात् एक लाखमध्ये १५१ जनाको आमाको प्रसूतिका क्रममा नै मृत्यु भइरहेको छ । सरकारले दिगो विकास लक्ष्यअनुरूप सन् २०३० सम्ममा मातृ मृत्युदर प्रतिलाख ७० जनाभन्दा कममा झार्ने लक्ष्य लिएको छ । तर, सर्वेक्षणको यस्तो तथ्यांकले सरकारलाई लक्ष्य भेट्न चुनौतीपूर्ण रहेको देखाएको छ ।
मातृमृत्युको मुख्य कारण शिशु जन्मिएपछि अत्यधिक मात्रामा रगत बग्ने समस्या (पोस्टपार्टम हेमोरोज) रहेको विशेषज्ञहरू बताउँछन् । यो समस्याको एक प्रमुख कारण कलिलो उमेरमा गर्भ रहनु पनि रहेको बताउँछन्, वरिष्ठ स्त्रीरोग तथा प्रसूतिविशेषज्ञ डा. पदमराज पन्त ।
आमा र शिशुको स्वास्थ्यका दृष्टिले २० वर्षमुनिको गर्भ जोखिमपूर्ण हुने उनको अनुभव छ । चिकित्सा विज्ञानका अनुसार मानिसको ब्रेनमा दुईवटा भाग हुन्छन्, प्रिफ्रन्टल कोर्टेक्स र अमिग्डाला । जसमध्ये अमिग्डालाले भावहरूलाई चलाएको हुन्छ भने प्रिफ्रन्टल कोर्टेक्सले तर्क, वितर्क, योजना, विश्लेषणलगायत काम गर्छ ।
तर, प्रिफ्रन्टल कोर्टेक्स ब्रेनको सबैभन्दा ढिलो विकास हुने भाग हो । विशेषज्ञहरूका अनुसार यसको विकास २० देखि २५ वर्षसम्म पनि भइरहेको हुन्छ ।
वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. वासुदेव कार्की भन्छन्, “१२ वर्षभन्दाभन्दा माथि १९ वर्षसम्मको उमेरका किशोरकिशोरीमा इमोसनल ब्रेन हावी हुने हुँदा यो उमेर चञ्चल, अपरिपक्व, कुनै पनि कुरामा छिटो लोभिने, छिटो अरूको विश्वासमा परिहाल्ने र निर्णयमा परिपक्वता नभएको अवस्था हो । यही उमेरमा यौन चाहना, भावनामा बहेर गर्ने निर्णय तथा जोसमा गरिएका क्रियाकलापहरू बढी भएको पाइन्छ, तर यसलाई उमेरजन्य परिवर्तनका क्रममा हुने स्वाभाविक व्यवहार मान्नुपर्छ ।”
शारीरिक विकास हुँदैमा मानसिक परिपक्वता आएको नबुझौँ
विश्वव्यापी रूपमा सेक्सुअल्ली मस्ट एक्टिभ एज (सर्वाधिक यौन सक्रिय उमेर) यति नै हो भन्ने यकिन छैन । युनिसेफका अनुसार यो उमेर समाज र बालबालिकाको हुर्काइअनुसार फरक हुन जान्छ । युनिसेफले यसको औसत उमेर १५ देखि १६सम्म मानेको छ ।
तर बालबालिकाको शारीरिक विकास, उनीहरूमा उमेरअनुसारका चाहना, भावना बढ्दै जानु मानसिक रूपमा परिपक्व हुनु होइन । उनीहरूको शारीरिक विकास छिटो भएको देखिए पनि मानसिक विकास आफ्नै प्रक्रियामा भइरहेको हुन्छ ।
डा. कार्कीका अनुसार प्रिफ्रन्टल कोर्टेक्सले लजिक लगाएर, कुन काम गर्दा के परिणाम हुनसक्छ भनी विश्लेषण समेत गर्न सक्छ । तर यो भाग विकास नभइसकेका किशोरकिशोरी कसैको बहकाउमा छिटो लाग्न सक्ने, क्षणिक खुसीमा रमाउने, कुनै कुरामा एकोहोरो भएर लाग्नेजस्ता बानीका हुन्छन् ।
त्यसैले यो उमेरमा उनीहरूले गरेका कुनै पनि क्रियाकलाप र लिएका निर्णयका आधारमा उनीहरूको परिपक्वतालाई शारीरिक विकाससँग तुलना गर्नु उचित हुँदैन ।