site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल–अमेरिका व्यापारिक सम्बन्ध सुदृढ बनाउँदै एमच्याम

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले अमेरिकासँग व्यापारिक सम्बन्ध सुदृढ बनाउनका लागि पहल गरेको छ । अमेरिका भ्रमणका क्रममा एमच्यामको प्रतिनिधिमण्डलले वासिंटन डीसीमा दुई मुलुकबीचको आर्थिक सहकार्यलाई अघि बढाउन महत्त्वपूर्ण छलफल गरेको हो । सो क्रममा नेपाली प्रतिनिधिमण्डलले अमेरिकी सरकारी निकाय, व्यवसायी र नीति निर्माण तहका उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट गरेको थियो ।

एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित विक्रम शाह, मोघा इनर्जीका सीईओ सम्राथ मोघा र एमच्याम नेपालका महाप्रबन्धक अमिरराज थापाको टोलीले अमेरिकी विदेश मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, अमेरिकी व्यापार तथा विकास संस्था, अमेरिकी चेम्बर अफ कमर्स र विश्व बैंकका उच्च अधिकारीहरूसँग दुई पक्षीय आर्थिक सम्बन्धबारे छलफल गरेको थियो ।

एमच्यामको प्रतिनिधिमण्डललाई स्वागत गर्दै अमेरिकी विदेश मन्त्रालयका एक्टिङ डेपुटी असिस्टेन्ट सेक्रेटरी अला कमिन्सले नेपाल अमेरिकाबीच आर्थिक गतिशीलता र आपसी समृद्धिमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा अमेरिकी वाणिज्य विभागको अन्तर्राष्ट्रिय व्यापार प्रशासनका कार्यवाहक निर्देशक क्रिस एसले नेपाल–अमेरिकाबीचको व्यापार अवरोध हटाउने एवं व्यापारिक अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाली दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डेले अमेरिकी सरकारलाई दूतावासको तर्फबाट धन्यवाद ज्ञापन गर्दै दुई देशबीचको लामो समयदेखिको कूटनीतिक साझेदारीको प्रशंसा गरे । उनले आइटी क्षेत्र विशेष गरी एआई प्रवर्द्धनमा सीप अभिवृद्धि र प्रमाणीकरणका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले अमेरिकी सरकारलाई यस क्षेत्रमा गरेको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनको साझेदारीका लागि तत्पर रहेको बताएका थिए ।

एमच्याम नेपालका संस्थापक अध्यक्ष शाहले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको उच्च सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरे । नेपालमा रहेको अमेरिकी दूतावासमार्फत आर्थिक र सामाजिक क्षेत्रमा भएको सहयोगको सराहना गर्दै शाहले उद्योगकेन्द्रित व्यापार विकासमा थप सहयोगका लागि आग्रह गरेका थिए ।  

अमेरिकी जलविद्युत् विकासकर्ता सम्राथ मोघाले नेपालमा अमेरिकी लगानी आकर्षित गर्न कर सुधारको आवश्यकतामा जोड दिए । उनले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)लाई सहज बनाउन र अमेरिकी व्यवसायहरूको प्रतिफल सुनिश्चितताका लागि नीतिगत पहल गर्न आग्रह गरे ।

एमच्यामको प्रतिनिधिमण्डलले राष्ट्रिय सुरक्षा परिषद्का ग्रेग डी. पाइप र राजन नाथानिएलसँगको भेटमा व्यापार सहजीकरण र नीतिगत स्थिरताका लागि प्रतिबद्धता जनाएका छन् । यस्तै, प्रतिनिधिमण्डलले यूएसटीडिएका निर्देशक भेरिन्डा फाइक र प्रबन्धक अन्ना पिट्जरसँगको छलफलमा नेपाल र अमेरिकी व्यवसायहरूबीच आर्थिक सहकार्य गर्नुपर्ने बताएका थिए ।  

अमेरिका नेपालका लागि चौथो ठूलो व्यापार साझेदार राष्ट्र समेत हो । अमेरिकासँग गत वर्ष २०२३–२४ मा नेपालले ४१४५ मिलियनको आयात र ४१२८ मिलियनको निर्यात गरेको थियो । दुई मुलुकबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउँदा व्यापार वृद्धिसँगै नेपाललाई विकासशील राष्ट्रको दिशामा अघि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाली प्रतिनिधिमण्डलले एमसीसी कम्प्याक्ट व्यापार वृद्धि र नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउनका लागि एक महत्त्वपूर्ण पहल भएको उल्लेख गरेको छ । एमसीसी परियोजनामा अमेरिकाबाट ५० अर्ब र नेपालबाट १३ अर्ब रुपैयाँको लगानीमा बन्ने एमसीसी परियोजना सफल हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro