
काठमाडौं । चिनियाँ विद्युतीय एवं हाइब्रिड गाडी निर्माता बीवाईडीले अमेरिकी ईभी निर्माता टेस्लालाई उछिनेको छ । बीवाईडीले आम्दानीका हिसाबले विश्वकै अमेरिकी ईभी निर्माता टेस्लालाई उछिनेको हो ।
सन् २०२४ मा बीवाईडीको आम्दानी २९ प्रतिशतले १०७ अर्ब अमेरिकी डलर पुगेको छ । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी टेस्लाले सन् २०२४ मा ९७.७ अर्ब अमेरिकी डलर आम्दानी गरेको तथ्यांक छ ।
बीवाईडीको सोमबार प्रकाशित वित्तीय तथ्यांकले हाइब्रिड गाडीको बिक्री बढ्दा आम्दानी बढेको देखाएको छ ।
बीवाईडी अध्यक्ष वाङ चुआनफुले २०२४ मा कम्पनीले राम्रो प्रगती गरेको बताएका छन् । गत नोभेम्बरमा बीवाईडी एक करोड नयाँ ऊर्जा सवारीसाधन (एनईभी) उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो ।
“ब्याट्री, इलेक्ट्रोनिक्सदेखि नयाँ ऊर्जा सवारी साधनसम्म, विदेशी ब्रान्डको प्रभुत्व तोड्दै र विश्वव्यापी बजारको नयाँ परिदृश्यलाई नयाँ आकार दिँदै बीवाईडी हरेक क्षेत्रमा उद्योगको लिडर बनेको छ,” वाङले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।
बीवाईडीले हालै पेट्रोलियम पदार्थ भर्न जत्तिकै समयमा चार्ज गर्न सकिने प्रविधि सार्वजनिक गरेको छ ।
हङकङमा सूचीकृत बीवाईडीको सेयर मूल्य यस वर्ष हालसम्म ४६ प्रतिशतले बढेको छ ।
टेस्लाको सेयर मूल्य भने यस वर्ष सन् २०२५ मा हालसम्म ३१ प्रतिशतभन्दा बढीले घटेको छ ।