site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा ढुक्कले लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह 
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा बुधबार भएको नेपाल-भारत ऊर्जा सम्मेलनको अवसरमा बोल्दै अध्यक्ष कार्कीले नेपाल सरकारले हालै मात्र सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुर्‍याउने महत्वाकांक्षी लक्ष्य लिएको र त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकाले अहिले नेपालमा लगानीको सुनौलो अवसर रहेको बताए ।

उनले ०५७ देखि मात्र विद्युत उत्पादन सुरु गरेको नेपाली निजी क्षेत्रले अहिले कुल जडित क्षमता ३५०० मेगावाट पुग्दा यसको ८० प्रतिशत (करिब २८०० मेगावाट) हिस्सा ओगटेको पनि जानकारी गराए ।

नेपाल र भारतबीच हाल १००० मेगावाट विद्युत आदानप्रदान भइरहेकोमा आगामी १० वर्षभित्र त्यसलाई बढाएर १० हजार मेगावाट पुर्‍याउने विषयमा दीर्घकालीन सम्झौता भइसकेको, भारती कम्पनीको लगानीमा नेपालमा ५ हजार मेगावाट बराबरका आयोजना अघि बढिरहेको र थप हजारौँ मेगावाट बराबरका आयोजनाले भारतीय लगानी पर्खिरहेको कार्कीले बताए ।

नेपाल लगानी बोर्डद्वारा गरिएको प्रारम्भिक अध्ययनअनुसार, नेपालको सौर्य उर्जा उत्पादन क्षमता ४.३२ गिगावाट भन्दा बढी रहेकाले सौर्य ऊर्जामा पनि नेपाल भारतीय लगानीकर्ताका निम्ति आकर्षक गन्तव्य हुन सक्ने कार्कीले बताए ।

नेपाल आदानी समूह, टाटा पावर, जिन्दल पावर, जीएमआर समूह, एसजेभीएन लिमिटेड, एनएचपीसीजस्ता प्रमुख भारतीय व्यापारिक घरानाहरूसँग साझेदारी गर्न इच्छुक रहेको पनि उनले जानकारी गराएका थिए ।

नेपालको प्रचुर जलविद्युत उत्पादन सम्भावनालाई वास्तविकतामा परिणत गर्दै नेपाललाई क्षेत्रीय बजारमा बढीरहेको ऊर्जाको मागलाई परिपूर्ति गर्ने मुलुकको रूपमा विकास गर्न सकिने कार्कीको भनाइ थियो ।

इप्पान उपाध्यक्ष आनन्द चौधरीले करिब २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेकाले आकर्षक आयोजना छानेर लगानी गर्न सक्ने अवसर भारतीय लगानीकर्तामाझ रहेको बताए ।

उनले निजी तथा सरकारी स्वामित्वमा रहेका नेपालका ठूला र आकर्षक तीन दर्जन जलविद्युत आयोजनाबारे भारतीय लगानीकर्तालाई संक्षिप्त जानकारी पनि गराए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादन लक्ष्य प्राप्तिका लागि मन्त्रालयले धेरै कुरामा सहजीकरण गर्ने भन्दै ढुक्कसँग नेपालमा लगानी गर्न आग्रह गरे ।

‘जलविद्युत र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूको खोजी’ भन्ने नारासहित नेपाली राजदूतावास भारत र इन्डियन फेडरेसन अफ ग्रिन इनर्जीको आयोजना तथा इप्पानको संस्थागत सहभागितामा उक्त सम्मेलन सम्पन्न भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro