site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको आक्रमण अप्रत्याशित, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन : पाकिस्तानी राजदूत

काठमाडौ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाशमीले भारतले पाकिस्तानमाथि अप्रत्याशित आक्रमण गरेर अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएका छन् । 

काठमाडौंस्थित पाकिस्तानको दूतावासले बिहीबार काठमाडौंमा आयोजना गरेको पाकिस्तानी सशस्त्र बलका विभिन्न संस्थामा सैन्य तालिम लिएका नेपाली पूर्वछात्र भेलामा बोल्दै उनले उक्त आरोप लगाएका हुन् । 

कार्यक्रममा बोल्दै उनले भारतको अप्रत्याशित आक्रमणले पाकिस्तानको सार्वभौमसत्ता, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन गरेको भन्दै त्यसको निन्दा गरेका थिए ।  

भारतले पाकिस्तानमाथि गरेको आक्रमणले क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पारेको पनि पाकिस्तानी राजदूतले बताए ।

“पाकिस्तानले संयुक्त राष्ट्र संघको बडापत्रको धारा ५१ अन्तर्गत प्रतिक्रिया दिने अधिकार सुरक्षित राख्छ र उपलब्ध सबै माध्यमबाट आफ्नो सार्वभौमसत्ताको रक्षा गर्नेछ,” पाकिस्तानी दूतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

पाकिस्तानका राजदूत हाशमीले आपसी हित र विश्वासका आधारमा नेपाल र पाकिस्तानबीच मजबुत सम्बन्ध रहेको बताएका थिए । उनले दुई देशबीचको विद्यमान सैन्य सम्बन्ध निरन्तर बढ्दै जाने र नयाँ उचाइमा पुग्ने विश्वास समेत व्यक्त गरेका थिए ।

पाकिस्तानी दूतावासले आयोजना गरेको भेलामा विभिन्न समयमा पाकिस्तानको सशस्त्र बलका विभिन्न संस्थामा सैन्य तालिम लिएका नेपाली सेनाका अधिकारी उपस्थित थिए । 

कार्यक्रममा पूर्वप्रधानसेनापति गौरवशमशेर राणा प्रमुख अतिथि थिए । कार्यक्रममा पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री विशेष अतिथि रहेका थिए । 

हाल नेपाल भ्रमणमा रहेको राष्ट्रिय रक्षा विश्वविद्यालय (एनडीयू), पाकिस्तानको प्रतिनिधिमण्डल पनि कार्यक्रममा सहभागी भएको थियो ।

कार्यक्रममा बोल्दै पाकिस्तानी दूतावासका सैनिक सहचारी कर्णेल मुहम्मद अली अल्वीले नेपाल र पाकिस्तानी सैनिकबीचको सम्बन्ध र प्रशिक्षणबारे प्रकाश पारेका थिए ।
उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पाकिस्तानी सशस्त्र बलले निरन्तर सघाउने बताएका थिए ।

कार्यक्रममा पूर्वप्रधानसेनापति गौरवशमशेर राणाले नेपाली सेनाका अधिकारी र सैनिकहरूको तालिम, साथै पाकिस्तानी संस्थामार्फत नेपाली सेनाको क्षमता अभिवृद्धिजस्ता कार्यक्रमले समग्र संस्था र संलग्न व्यक्तिहरू दुवैका लागि ठूलो महत्त्व राख्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro