site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेटौँडामा ‘जमिनभित्र गाडी बेपत्ता’का चालक भन्छन्– बाँच्न लेख्या रै’छ ! 

काठमाडौं । मकवानपुरको हेटौँडास्थित रत्नकाली एग्रिकल्चर फार्मका सञ्चालक हरेराम राईले गएको शुक्रबार (वैशाख १९) एउटा अनौठो घटना भोगे । माछापालन गर्दै आएका उनी आफ्नो फार्मतर्फ अघि बढिरहेका थिए । अचानक केही पड्केको सुने । उनले हाँकिरहेको डीआई गाडी असन्तुलित भयो । जमिनभित्र धसिन थाल्यो । हत्तपत्त गाडीबाट हामफालेर ज्यान जोगाए ।

हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सीमाक्षेत्रस्थित गैरीगाउँमा भएको त्यो घटना उनका निम्ति नौलो हो । त्यसयता उक्त गाडी बेपत्ता छ । खोजीकार्य पनि हाल रोकिएको छ ।

आफूले लामो समयदेखि यो क्षेत्रमा माछाको व्यापार गरेको तर यस्तो घटना पहिलोचोटि देखेको उनले बताए । गाडी खाली थियो । ‘लोड’ थिएन ।

गाडी गुडाइरहँदा पानी नभएको कुलेसोजस्तो ठाउँमा पुगेपछि एक्कासि विस्फोटको जस्तो आवाज सुनेको उनको भनाइ छ । “एक्कासि भूकम्प गएजस्तो हलचल भयो, गाडी दायाँ, तल हाट्टहुट्ट भयो,” उनले बाह्रखरीसित भने, “अनि पोखरीमा माछाहरू उफ्रिए । पोखरी नजिकै छ त्यहाँ पनि ।”

उनका अनुसार, त्यसपछि गाडी असन्तुलित भयो । गाडी दुईदेखि तीन मिटर अगाडि बढ्यो । बाटोमा धमिलो पानी गुचुचुच्च आएको आफूले देखेको उनले बताए ।

त्यति बेला गाडीमा उनी र चालकछेउको सिटमा उनका एक ‘स्टाफ’ थिए । गाडी विस्तारै अगाडि बढाइरहँदा उनले यो घटना भोगेका थिए । त्यसपछि क्षणभरमै बाहिर निस्किएर हेर्दा गाडी जमिनभित्र बेपत्ता भइसकेको उनको भनाइ छ ।

“ड्राइभर साइटको भाग कोल्टे भएर बगिहाल्यो । मैले आफूपट्टिको ढोका खोल्न सकिनँ,” उनले भने, “उसले (स्टाफ) आत्तिएर दाइ निक्लिनु, निक्लिनु भन्दै थियो ।”

यस्तै घटनाक्रमबीच आफू अर्कोपट्टिको ढोकाबाट हामफालेर बाहिर आएको उनले बताए । पछि त्यो ठाउँमा खाल्डो भएको उनले सुनाए । “पाँच सेकेन्डमै गयो के,” राईले भने, “बाँच्न लेख्या रै’छ !”

त्यहाँ करिब १८ बिघा क्षेत्रफलमा माछापालन अर्थात् उनको फार्म छ । त्यो त्यहाँ वरपर जाने भित्री बाटो हो । त्यहाँबाट मालवाहक गाडी पनि त्यसअघि गुड्ने गरेको उनले जानकारी दिए ।

भूभर्गविद्ले अध्ययन गर्ने
अब भूगर्भविद्ले त्यस स्थलको विस्तृत अध्ययन र क्षतिपूर्तिलगायत विषय अगाडि बढाउने जनप्रतिनिधिले उनलाई बताएका छन् ।

दुई वडाको सीमाक्षेत्र भए पनि घटना भएको स्थान हेटौँडा–१६ मा पर्छ । घटनापछि अरू स्थानीय, प्रहरी, जनप्रतिनिधि पनि त्यहाँ पुगेका थिए । गाडी खोजेका थिए । आइतबार (वैशाख २१) दिउँसोदेखि भने खोजीकार्य स्थगन गरिएको हेटौँडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए ।

“हिजोदेखि काम रोकेका छौँ । भूगर्भविद् नआईकन काम अघि नबढाउने भन्ने छ,” उनले भने, “मानवीय क्षति पनि हुन सक्ने भएकाले त्यहाँ सिल गरिएको छ ।”

हेटौँडा उपमहानगरका प्रमुख मीनाकुमारी लामाले त्यहाँको भौगोलिक अवस्थाको अध्ययननिम्ति खानी तथा भूगर्भ विभागलाई भनिएको जानकारी दिइन् । “भूगर्भविद् आज (सोमबार) आउने कुरा थियो, तर उहाँहरू भोलि (मंगलबार) मात्र आउने हुनुभएको छ,” उनले भनिन् ।

गाडी हराएको सूचनापछि त्यहाँ एउटा सिंगै बाँस गाडेर खोजिएको थियो । तर, गाडी फेला नपरेको प्रहरीले जनाएको छ । “हामीले अनुसन्धान गर्दै छौँ । सिंगै बाँस गाडेर खोज्दा पनि गाडी भेटिएन,” वाग्मती प्रदेश प्रहरी कार्यालयका एसएसपी सञ्जयसिंह थापाले भने, “पहिला पनि एक हल गोरु हराएको भन्ने सुनेका छौँ, विस्तृतमा बुझ्दै छौँ । भूगर्भविद् पनि बोलाइएको छ ।”

विज्ञ के भन्छन् ?
हाइड्रो जियोलोजिस्ट नीर शाक्यले अध्ययन नगरी त्यहाँ जमिनभित्र के भएको भन्ने यकिन गर्न नसकिने बताए । “त्यहाँको यथास्थिति, वस्तुस्थिति के भइरहेको छ सबैको हिस्ट्रिकल रेकर्ड थाहा नभईकन हामीले यकिन गर्न सकिन्न,” उनले भने, “तर, फसेको कारणचाहिँ एउटा कुरा भूमिगत जलको लेभल राइज (उठेको) भएको हुनसक्छ ।”

घटना भएको क्षेत्रमा बोरिङ खनिएको थियो । बोरिङका कारण त्यस्तो भएको हुनसक्छ ? भन्ने बाह्रखरीको जिज्ञासामा उनले भने, “जथाभावी रूपमा खनेर केही पनि प्रोटेक्सन नगरेको भएचाहिँ बोरिङ खनेरै भन्ने आशंका गर्न सकिन्छ । तर, बोरिङ खनेर पाइप हालिन्छ, जति माटो आएको हो त्यसलाई भोल्युम क्याल्कुसेसन गरेर गिट्टी प्याक गरिन्छ त्यहाँ ।”

हाइड्रो जियोलोजिस्ट शाक्यले आफूहरूले यसअघि हेटौँडाकै कमाने, हटिया, चौघडालगायत क्षेत्रमा ‘ड्रिलिङ’ गरेको भए पनि त्यस्तो कुनै जटिल भौगोलिक स्थिति नदेखिएको बताए ।

घटनाका ‘पीडित’ रत्नकाली एग्रिकल्चर फार्मका सञ्चालक हरेराम राईको भनाइ सुन्नोस्–

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro