
फ्नोम पेन्ह । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले देशमा हरेक वर्ष करिब २० हजार नयाँ क्यान्सरका बिरामी देखिने र तीमध्ये करिब १४ हजारजनाको दुःखद् निधन हुने गरेको जानकारी दिएका छन् ।
“हाम्रो १.७ करोड जनसंख्याको सन्दर्भमा यो संख्या निकै चिन्ताजनक छ,” उनले भने । प्रधानमन्त्रीले यो कुरा राष्ट्रिय क्यान्सर नियन्त्रण योजना सन् २०२५–२०३० सार्वजनिक गर्ने कार्यक्रममा सम्बोधन गर्दै बताएका हुन् ।
उक्त योजना क्यान्सरका नयाँ घटना र मृत्युदर घटाउने उद्देश्यले तयार गरिएको हो । यसले रोकथाम, प्रारम्भिक जाँच, समयमै उपचार तथा समुचित हेरचाहमा जनताको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।
प्रधानमन्त्रीले नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे । साथै, उनले सम्बन्धित निकायलाई खाद्यवस्तु, फलफूल र तरकारीको गुणस्तर तथा सुरक्षाको नियमित रूपमा अनुगमन गर्न निर्देशन दिए ।
स्वास्थ्यमन्त्री छेआङ राले कम्बोडियामा सबैभन्दा धेरै कलेजोको क्यान्सर देखिने गरेको बताए । त्यसपछि फोक्सो, स्तन, ठूलो आन्द्रा र पाठेघरको मुखको क्यान्सर पर्दछन् ।
उनका अनुसार क्यान्सरका कारण उक्त देशमा हरेक दिन करिब ३८ जनाको ज्यान गइरहेको छ ।
राजधानी फ्नोम पेन्हको दक्षिणपश्चिम क्षेत्रस्थित लुओङ मे अस्पताल क्यान्सरको उपचार तथा हेरचाहका लागि देशकै सबैभन्दा ठूलो केन्द्र हो । रासस/सिन्ह्वा