काठमाडौं । मछिन्द्र एफसी र संकटा क्लब काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार मछिन्द्रले एफसी ट्रान्सपोर्ट युनाइटेड र संकटा क्लब एपीएफलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको दोस्रो खेलमा मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
मछिन्द्रको जितमा स्टेफेन जलिले निर्णायक गोल गरे । स्टेफेनले खेलको ८०औँ मिनेटमा सनिस श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । मछिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, मंगलबार नै भएको पहिलो खेलमा ट्राइब्रेकरमा एपीएफलाई ५–३ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।
एपीएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दीप कार्कीले असफल पार्दै टोलीलाई जित दिलाए । अब फाइनल प्रवेशका लागि संकटाले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।