
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक हान्सी फ्लिकले बार्सिलोना ला लिगाको पहिलो स्थानमा रहे तापनि खेल सुधार्नुपर्नेमा जोड दिएका छन् ।
शनिबार लास पाल्मेसलाई पराजित गरेपछि गम्भीर हुँदै मुख्य प्रशिक्षक फ्लिकले खेल सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । शनिबार बार्सिलोनाले लास पाल्मेसविरुद्ध २–० गोलको कठिन जित निकालेको थियो ।
फ्लिकले खेलपश्चात् सञ्चारकर्मीमाझ खेलप्रति असन्तुष्टि व्यक्त गरेका थिए । तर, जितबाट बटुलेको तीन अंकले चित्त बुझाएको बताएका थिए ।
“पहिलो हाफमा म निकै चिन्तित थिएँ । ब्रेकमा हामीले केही गल्ती सच्याएका थियौँ । दोस्रो हाफमा खेलाडीले पनि गल्ती सच्याए,’’ उनले भने, “क्लिन सिट जोगाउनु निकै महत्त्वपूर्ण थियो । पहिलो हाफमा हामीले धेरै बल गुमायौँ । यो सुधार्न जरुरी छ । तर हामी पहिलो नै छौँ । त्यसैले समग्रमा म खुसी नै छु । हामी प्रदर्शन सुधार्न सक्षम छौँ र सुधार्न पनि जरुरी छ ।”
एटलिटीको मड्रिडलाई पछि पार्दै बार्सिलोना अंक तालिकामा ५४ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाको मुख्य प्रतिद्वन्द्वी मानिएको रियाल मड्रिड ५१ अंकसहित तेस्रो स्थानमा छ । आज जिरोनासँग रियाल भिड्दै छ ।