
काठमाडौं । मिति : २०८१ असोज १२ गते
समय : बिहान ८ बजेतिर
स्थान : ललितपुरको नखिपोटस्थित नख्खु खोलाको किनार ।
एक परिवारका चार सदस्य उद्धारका लागि हारगुहार गरिरहेका थिए । असोज १० देखि निरन्तरको वर्षापछि आएको बाढीले आफू बसेको टिनको टहरा टुबाएपछि उनीहरू ज्यान बचाउन छानामाथि चढेका थिए ।
जस्ताको छानामाथि चढेका उनीहरू लगातार आधा घण्टाभन्दा बढी समय उद्धारका लागि गुहार माग्दै चिच्याइरहे । केही स्थानीय र ढिलो गरी पुगेका प्रहरीले बचाउन डोरी फ्याँकेका थिए ।
तर, डोरी समाउँदै किनारतर्फ आउने क्रममा उनीहरूलाई नख्खु खोलाको बाढीले बगायो । बगेका चारमध्ये दुईजनाको उद्धार गरियो । एकजनाले आफैँ पौडेर ज्यान जोगाएका थिए । चार वर्षीया शेर्तु साहलाई बाढीले बगायो, उनको मृत्यु भयो ।
असोज १० देखि १२ सम्मको वर्षाले शेर्तुको मात्र ज्यान लिएन, देशभर बाढीपहिरोमा परी २५० जनाले ज्यान गुमाए । तीन दिनमा १७८ जना घाइते भए ।
मनसुन अवधिको अन्त्यतिर त्यो वितण्डा आउने सायदै कसैले सोचेका थिए । तर, अनपेक्षित बाढीपहिरोले धेरैलाई चोट पुर्यायो । तीन दिनको वर्षाले नेपालमा ४६ अर्ब ६८ करोड ४३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भयो ।
पछिल्लो एक दशकयता नेपालमा यस्ता अनपेक्षित विपद्का घटना देखिन थालेको छ । जलवायु परिवर्तनका कारण यस्ता घटना नेपालमा बर्सेनि घट्दै गएको छ ।
०८१ असार २३ र २४ गते नेपालको इतिहासमै सबैभन्दा ठूलो वर्षा मापन गरियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागका अनुसार, असार २४ गते बिहानसम्म २४ घण्टाको अवधिमा कञ्चनपुरको दोधारा वर्षा मापन केन्द्रमा ६२४ मिलिमिटर वर्षा मापन गरिएको थियो । पछिल्लो ७८ वर्षमा नेपालमा २४ घण्टामा मापन गरिएको यो सबैभन्दा ठूलो वर्षा हो ।
त्यसअघि ३१ वर्षपहिले अर्थात् ०५० साउन ५ गते मकवानपुरको टिस्टुङमा २४ घण्टाको अवधिमा ५४० मिलिमिटर वर्षा मापन गरिएको थियो ।
०८० साउनको अन्तिम साता हिमाली जिल्ला मुस्ताङको बारागुङ गाउँपालिका–४, कागबेनी बजारमा ठूलो बाढी आएको थियो । बाढीले कागबेनी जलमग्न भयो । कागबेनीका ३० भन्दा बढी घरमा क्षति पुग्नुका साथै लोमान्थाङ जाने पक्की र काठे पुल समेत बगाएको थियो ।
मुक्तिनाथका स्थानीय बासिन्दाले बाढी आएको खबर बेलैमा कागबेनीमा दिएका थिए, जसले गर्दा मानवीय क्षति भएन ।
तर, भौतिक क्षति रोक्न सकिएन । बाढीले करोडौँ रुपैयाँबराबरको क्षति गरेको थियो । हिमाली क्षेत्रमा यति धेरै पानी पर्छ भन्ने कल्पना गर्न नसकिने कुरा हो, तर भयो ।
०८० असार २ गते राति संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलाममा पनि यस्तै खालको वर्षा भएको थियो । मनसुन राम्रोसँग सुरु हुन नपाउँदै संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलाममा ठूलो वर्षा भयो । वर्षापछिको बाढीपहिरोमा परी ती जिल्लामा ६ जनाले ज्यान गुमाए । २५ जना बेपत्ता भएका थिए ।
यस्तै अकल्पनीय घटना ०७८ जेठ अन्तिम साता भएको थियो । हिमाली जिल्ला मनाङमा अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठूलो क्षति पुगेको थियो । स्थानीय बासिन्दाले त्यति बेला त्यति वर्षा आफ्नो जीवनकालमै नदेखेको दाबी गरेका थिए ।
०७८ सालमा मनाङमा वर्षाका कारण एक अर्ब एक करोड ८३ लाख रुपैयाँबराबरको आर्थिक क्षति भएको थियो । बाढीपहिरोले सडक, घर, जलविद्युत्गृह, पुलमा ठूलो क्षति पुगेको थियो । खासगरी चामे गाउँपालिका र नासोँ गाउँपालिका बढी प्रभावित भएका थिए ।
०७८ असार १ गते मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीपहिरो पनि यस्तै अनपेक्षित घटना थियो । उक्त बाढीपहिरोका कारण एकैदिन ११ जनाको मृत्यु भएको थियो । २५ जना बेपत्ता भएका थिए ।
मेलम्ची र हेलम्बु क्षेत्रमा आएको भीषण बाढीपहिरोले पुल, विद्यालय, पसल, होटेललगायत संरचनामा अर्बौं रुपैयाँको क्षति भएको थियो । बाढीबाट मेलम्ची खानेपानी आयोजनामा समेत ठूलो क्षति पुगेको थियो ।
पछिल्लो दशकमा अनपेक्षित विपद्का घटना बर्सेनि बढ्दो छ । बढ्दो तापक्रम र जलवायु परिवर्तनका कारण यस्ता घटना दोहोरिएका हुन् । तर, नेपालमा यस्ता घटनाको पर्याप्त अध्ययन, अनुसन्धान हुन सकेको छैन ।
प्राकृतिक विपद्बाट कुन वर्ष कति क्षति ?
नेपालमा बर्सेनि मनसुनजन्य विपद्का घटनाबाट ठूलो मानवीय र आर्थिक क्षति हुने गरेको छ ।
पछिल्लो १० वर्ष (०७२ वैशाख १ देखि ०८१ माघ २८ सम्म)मा विपद् (भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ, जनावर आतंक र अरू)का ४० हजार ८११ घटना भएका छन् । उक्त अवधिमा १३ हजार ९९१ जनाको मृत्यु भएको छ । ६८७ जना बेपत्ता भएका गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ ।
०७२ सालमा एक हजार ७४ विपद्का घटनामा नौ हजार २७३ जनाको मृत्यु, २११ बेपत्ता र २२ हजार ६५७ जना घाइते भएका थिए । ०७२ वैशाख १२ गते ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो ।
०७३ सालमा दुई हजार ५७१ विपद्का घटना रेकर्ड गरियो । ती घटनामा ४८६ जनाको मृत्यु, ४९ बेपत्ता र ८३७ जना घाइते भएका थिए । विपद्का घटनाबाट उक्त वर्ष दुई अर्ब ९४ करोड ५० लाख १८ हजार ८०६ रुपैयाँबराबरको आर्थिक क्षति भएको थियो ।
०७४ सालमा दुई हजार ८४३ विपद्का घटनामा परी ५८८ जनाको मृत्यु, ६५ बेपत्ता र ८४५ जना घाइते भएका थिए । विपद्का घटनाबाट उक्त वर्ष दुई अर्ब ७३ करोड ९६ लाख १६ हजार ५५९ रुपैयाँबराबरको आर्थिक क्षति भयो ।
०७५ सालमा चार हजार २८० विपद्का घटनामा परी ४५५ जनाको मृत्यु, १० बेपत्ता र चार हजार १८८ जना घाइते भएका थिए । उक्त वर्ष चार अर्ब ४० करोड ८७ लाख ९५ हजार ४४२ रुपैयाँबराबरको आर्थिक क्षति भएको थियो ।
०७६ सालमा चार हजार ७६ घटना रेकर्ड हुँदा ४०७ जनाको मृत्यु, ४० बेपत्ता र एक हजार १३३ जना घाइते भएका थिए । चार अर्ब ३५ करोड ४३ लाख ८४ हजार ९६९ रुपैयाँबराबरको आर्थिक क्षति उक्त वर्ष राज्यले व्यहोरेको थियो ।
०७७ सालमा विपद्का चार हजार १७९ घटनामा ५९४ जनाको मृत्यु, १०२ बेपत्ता र एक हजार १७२ जना घाइते भएका थिए । विपद्का घटनाबाट उक्त वर्ष दुई अर्ब दुई करोड ५४ लाख ४८ हजार ६६ रुपैयाँबराबरको आर्थिक क्षति भएको थियो ।
०७८ सालमा तीन हजार ९१५ विपद्का घटना रेकर्ड गरियो । ती घटनामा ५०८ जनाको मृत्यु, ७६ बेपत्ता र एक हजार ७८३ जना घाइते भए । विपद्का घटनाबाट उक्त वर्ष दुई अर्ब ६१ करोड ४० लाख रुपैयाँबराबरको आर्थिक क्षति भएको थियो ।
०७९ सालमा चार हजार ५५६ विपद्का घटना भएको तथ्यांक छ । ती घटनामा परी ४८४ जनाको मृत्यु भयो । ३७ जना बेपत्ता भएका थिए । एक हजार ४० जना घाइते भए । उक्त अवधिको विपद् घटनाबाट दुई अर्ब ८५ करोड ९९ लाख रुपैयाँबराबरको आर्थिक क्षति भएको थियो ।
०८० सालमा ६ हजार ३८९ विपद्का घटना रेकर्ड भएको केन्द्रको तथ्यांक छ । ती घटनामा ४९९ जनाले ज्यान गुमाए । ३१ जना बेपत्ता भए । एक हजार ६११ जना घाइते भएका थिए । त्यसबाट पाँच अर्ब ४२ करोड १७ लाख रुपैयाँबराबरको आर्थिक क्षति भएको थियो ।
०८१ को माघ २८ गतेसम्म ६ हजार ८८१ विपद्का घटनामा परी ६९७ जनाको मृत्यु भएको छ । ६६ जना बेपत्ता छन् । एक हजार ४२४ जना घाइते भएका छन् । विपद्का घटनाबाट यो वर्षको वैशाखदेखि हालसम्म दुई अर्ब ४७ करोड ५२ लाख रुपैयाँबराबरको आर्थिक क्षति भएको छ ।
यसै वर्ष मनसुनको अन्त्यतिर असोज १०–१३ गतेको भारी वर्षा र बाढीबाट २० जिल्ला प्रभावित भए ।
भूगर्भविद् मेघराज धिताल पछिल्ला वर्षमा पहिरोबाट हुने विपद् थप चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । दुई किसिमले प्राकृतिक विपत्ति बढेको उनको भनाइ छ– एक – जलवायु परिवर्तन, अर्को – मानवीय लापरबाही ।
सडक निर्माण गर्दा जति संरचना निर्माण गरिनुपर्थ्यो, त्यसमा कसैले ध्यान नदिएको उनको बुझाइ छ । पर्खाल, ड्रेन, पानीको निकासबारे कसैले नसोच्ने, बाटो मात्र बनाइने गरेको भन्दै उनी चिन्ता व्यक्त गर्छन् ।
“प्राकृतिक रूपमा पहिलेभन्दा क्षति बढिरहेको देखिन्छ । खोलाकै तीरमा घर बनाएको देखिन्छ । बाटो, हाइड्रोपावर, कुलो बाँध बनाउने कुरामा मानिसले त्यति ध्यान दिएको हुँदैन । क्षणिक सुविधा मात्रै हेर्छन् । दीर्घकालीन सोचिँदैन,” उनले भने, “जोखिमयुक्त जमिनमा सडक निर्माण गर्दा कुलोकुलेसो, खोल्सो बनाइँदैन । पुरानो इतिहास कोट्ट्याइँदैन । पानी जाने बाटो हुँदैन, अनि पहिरो जान थाल्छ ।”
एक विश्वविद्यालयको टोलीले गरेको अध्ययनमा ०७२ सालको भूकम्पमा जति पहिरो गएको थियो, त्योभन्दा बढी स्थानीय सरकारको उपस्थितिपश्चात् गाउँगाउँमा सडक बनाइँदा गएको देखिएको उनी सुनाउँछन् । “स्थानीय सरकारसँग पैसा र डोजर मात्रै छ, तर बनाउनुपर्ने सामान्य ज्ञान समेत छैन या उपयोग गर्नु हुन्न । यसले धेरै नै समस्या ल्याएको छ । विपद् बढ्नुमा यो एउटा प्रमुख कारण पनि हो,” उनले भने ।
भूकम्पले हल्लाएर पहाड कमजोर बनायो । त्यसले पहिरो निम्त्यायो । बाढी बढ्यो । जलवायु परिवर्तनले पानी पार्ने प्रणालीमा उथलपुथल ल्यायो । त्यसबाट पाठ सिकेर कमजोर भूवनोट व्यवस्थापनका लागि विशेष योजना बनाउनु जरुरी रहेको उनी औँल्याउँछन् ।
केन्द्र सरकारको ध्यान र प्राथमिकता काठमाडौं आसपास क्षेत्रमा मात्र छ । पूर्व–पश्चिमका बस्तीमा पनि नजर जानुपर्नेमा उनी जोड दिन्छन् । अर्कोतर्फ, स्थानीय तहले पैसा र डोजर मात्र खर्चने नभई तालिम, दक्ष जनशक्ति उत्पादन गर्ने विषयमा जोड दिनुपर्ने उनको सुझाव छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख अनिल पोखरेल पनि नेपालमा विपद्का घटना दुई कारणले बढेको बताउँछन् । पहिलो कारण मानिसको व्यवहार हो भने दोस्रो, जलवायु परिवर्तन ।
“हामीले असुरक्षित ठाउँमा घर बनाउन थाल्यौँ, भिरालो जमिन, खोला केही भनेनौँ । पानी कुन ठाउँमा कति पर्छ विचार गरेनौँ अनि त्यहीअनुसार सडक बनाउन थाल्यौँ,” उनले भने, “विश्वमा नेपाल जोखिमको सूचीमा यति नम्बरमा पर्छ भनेर कण्ठ त गर्यौँ, तर पूर्वाधार बनाउँदा जोखिमको अध्ययन गरेनौँ ।” पछिल्ला वर्षमा विपद् र यसको जोखिमलाई बेवास्ता गरिएको उनको अनुभव छ ।
जलवायु परिवर्तनका कारण अकल्पनीय विपद्का घटना सामना गर्नुपरेको उनी बताउँछन् । “देशको भौगोलिक तथा जलवायुको अवस्था, हरित ग्यास उत्सर्जनका कारण जलवायुमा भइरहेको सूक्ष्म परिवर्तनले विपद् निम्त्याएको छ,” उनले भने, “अव्यवस्थित मानवबस्ती विकास, अनियन्त्रित प्राकृतिक स्रोतको दोहन पनि विपद्का कारण बनेको छ ।”
विपद् जोखिम न्यूनीकरणमा राज्यले प्रत्येक वर्ष करोडौँ रुपैयाँ खर्च गर्दै आएको छ । तर, विपद्का घटना र क्षति घट्नेभन्दा बढ्दो क्रममा रहेको उनी सुनाउँछन् ।
भूकम्पबाट हुने जोखिम कम गर्न सुरक्षित स्थानमा एकीकृत बस्ती बसाउनुपर्नेमा उनी जोड दिन्छन् । यसो गरिए बाढीपहिरोको जोखिम पनि कम हुन्छ । पूर्वाधार निर्माण गर्दा भूकम्प, बाढीपहिरोको जोखिम अध्ययन गरेर मात्र काम थाल्नुपर्ने उनी टिप्पणी गर्छन् ।
“एकीकृत बस्ती बसाउन सकेका छैनौँ । जमिनको व्यवस्थापन राम्रोसँग हुन सकेको छैन, जहाँ घर बनाउन पनि हामीलाई छुट छ । बस्ती कहाँ बसाउने कहाँ नबसाउने भन्ने छैन,” पोखरेलले भने ।
बाढीपहिरो, डुबानबाहेक आगलागी र चट्याङले मानवीय क्षति गराइरहे पनि घटना न्यूनीकरण प्राथमिकतामा छैन । जनावर आतंक पछिल्लो समय बढ्न थालेको छ । बस्तीसम्मै पुगेर आक्रमण गरेको घटना सार्वजनिक भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता एवम् उपसचिव डा. डिजन भट्टराई हाल वायु प्रदूषण र वन डढेलोको चुनौती रहेको बताउँछन् । मौसमानुसारका विपद्का घटनाबारे मानिसलाई सचेत गराउनुपर्ने उनी औँल्याउँछन् ।
“जनताको सचेतना मुख्य उपाय हो । जनतामा जनपरिचालन हुनुपर्छ । शिक्षक, विद्यार्थी, सामाजिक संघसंस्था, आमा समूहमा सचेतना प्रदान गर्न सके क्षति केही कम हुन्छ,” उनले भने, “घटना घटिहाल्यो भने कसरी छिटोभन्दा छिटो उद्धार गर्ने, समाधान गर्नेतर्फ ध्यान दिनुपर्छ ।”
विपद्बाट प्रभावितलाई पुनर्स्थापन गर्न सरकारले अस्थायी आवास पुनर्निर्माण कार्यक्रमलाई अघि बढाएको उनले जानकारी दिए । क्षतिपूर्ति समेत प्रदान गर्दै आएको उनले बताए ।
विपद्मा प्रहरीको भूमिका
विपद्मा प्रहरीको भूमिका महत्त्वपूर्ण हुन्छ । विपद् भइहाले त्यसको सुरुआतदेखि अन्तिमसम्मको सारथि प्रहरी नै हुने गरेको प्रहरी प्रवक्ता एवं डीआईजी दिनेशकुमार आचार्य बताउँछन् । “विपद्को उद्धारदेखि शान्ति सुरक्षामा प्रहरी खटिएको हुन्छ,” उनले भने ।
देशभर रहेका प्रहरी युनिटले सम्बन्धित ठाउँको सुरक्षा, उद्धारलगायत कार्य गर्ने गरेको उनले बताए । फरक–फरक सम्भावित विपद्का घटनामा सोही खालको तयारी गरिन्छ ।
“पानी पर्ने मौसममा बाढीपहिरोको, हिउँदमा आगलागीका घटना हुने गरेको छ । त्यसको सुरक्षा, उद्धारका कार्यहरू भइरहेको छ । अवस्था हेरेर तयारी गरिन्छ,” डीआईजी आचार्यले भने ।
भूकम्प, बाढीपहिरो, हावाहुरी, आगलागी, चट्याङ, शीतलहर, दुर्घटना, जनावर आतंकलगायत विपद्को अवस्थामा प्रहरी सक्रिय रूपमा उद्धारमा जुट्ने गरेको छ । विपद् प्रतिकार्यमा शीघ्र परिचालन, प्रभावकारी खोज र कुशल उद्धार प्रहरीको ‘मिसन’ नै छ ।
पूर्वसूचना प्रभावकारी
जल तथा मौसम विज्ञान विभागले विगत केही वर्षदेखि मनसुन तथा अरू बेलामा पनि वर्षा हुँदा नदीमा पानीको बहावबारे नियमित रूपमा सूचना जारी गर्ने गरेको छ । सम्भावित बाढी, डुबान र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्नेलाई एसएमएस पठाएर समेत पूर्वसूचना दिने गरिएको छ ।
विभागले जारी गर्ने पूर्वचेतावनी र प्रक्षेपणलाई पछिल्ला वर्षमा प्रभावकारी मान्न थालिएको छ । कुन स्थानमा कति वर्षा र नदीहरूमा पानीको तह मापनका आधारमा चेतावनी जारी गर्ने गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।
बाढी र डुबानका लागि दिइने पूर्वचेतावनी जति प्रभावकारी देखिएको छ, पहिरोका हकमा त्यस्तै खालको पूर्वसूचना जारी गर्न नसकिएको उनी स्वीकार गर्छन् । विभागले बुलेटिन, सामाजिक सञ्जाल, मोबाइलमा सन्देशमार्फत पनि पूर्वसूचना जारी गर्ने गरेको छ ।
वर्षाको पूर्वसूचना दिने प्रणालीको विकासले सबै प्रकारका क्षति कम गर्न सघाउने कायस्थ बताउँछन् । “मोबाइलमा पठाइएका सूचनाले स्थानीय प्रशासन र समुदायलाई सतर्क रहन र जोखिम आइपरे तत्काल सुरक्षित स्थानमा सर्न सघाउँछ,” उनले भने, “विभागले केही स्थानमा गरेको स्थलगत अनुगमनले पूर्वसूचनाले जोखिम कम गराएको, स्थानीयहरू सर्तक भएको र क्षति कम भएको देखिन्छ ।”
विभागअन्तर्गत २०० भन्दा बढी मापन केन्द्र छन् । जोखिम भएका खोला, नदी क्षेत्रका स्थानीयलाई मोबाइलमा एसएमएसमार्फत दिइएको सूचनाले क्षति कम भएको उनी सुनाउँछन् ।
कसरी गर्न सकिन्छ विपद् न्यूनीकरण ?
भूगर्भविद् धिताल विपद् न्यूनीकरणका निम्ति अरू देशबाट नेपालले सिक्नुपर्ने बताउँछन् । “नेपालमा घटना भइसकेपछि राहत बाँड्ने काम मात्रै हुन्छ, अन्य देशले अवलम्बन गरेका उपायहरू नेपालले सिक्नुपर्छ,” उनले भने, “विकसित देशले बिमाको कार्यक्रम ल्याएको देखिन्छ । पहाड तथा जोखिमयुक्त ठाउँका घरलाई सरकारले बिमा गराइदिएको देखिन्छ । यसले क्षति भइहाले उसको गाँस, बासका लागि अन्य निकायमा गुहारिरहनु पर्दैन ।”
जोखिम न्यूनीकरणमा मानिस आफैँले पनि लापरबाही गरिरहेको उनको बुझाइ छ । “हामीले हाम्रा संरचना उपयुक्त ठाउँमा बनाउनुपर्छ । खोलाकै बगरमा घर बनाइएको छ । भिरालो जमिनमा बनाइएको छ । मानिस आफैँ पनि सजग हुनुपर्छ,” उनले भने ।
नीति–नियम तथा कानुन निर्माण गरिनुपर्नेमा पनि उनी जोड दिन्छन् । “नीति–नियम, कानुन पनि कडा हुनुपर्छ, सबैले मान्नुपर्छ,” उनले भने, “राजनीतिक पहुँच हुन दिनु हुँदैन । सबैतिर एकनासको व्यवहार भए जोखिम न्यूनीकरणमा केही सघाउ हुन्छ ।”
मनसुनजन्य विपद्बाट हुने क्षति रोक्ने पूर्वतयारी प्रमुख उपाय हो । भरपर्दो सूचना संकलन, सम्भावित जोखिम र क्षतिको आकलन, समयमै आवश्यक सूचना प्रवाह र त्यसबाट उत्पन्न हुने परिस्थितिको सामनानिम्ति गर्नुपर्ने तयारी चुस्त बनाउन नसकिए जनधनको ठूलो क्षति हुने भूगर्वविद् धिताल बताउँछन् ।