site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'पूर्ण बहादुरको सारङ्गी'को रेकर्ड तोड्न यसको अर्को पार्ट बनाउने हो : निर्माता पौडेल

(नेपाली चलचित्र उद्योगमा ‘पूर्ण बहादुरको सारङ्गी’ले ठूलो बेन्चमार्क खडा गर्‍यो । पौने एक अर्ब रुपैयाँभन्दा माथि कमाइ गरेको यो चलचित्र अझै प्रदर्शनरत छ । निर्माताले यसको दोस्रो पार्ट बनाउने घोषणा गरिसकेका छन् । तर, निर्देशकले आफूसँग अनुमति नलिई बनाउन नपाउने जिकिर गरिरहेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ले अनपेक्षित कलेक्सन गर्‍यो । तर, यसको निर्माण कम्पनीका साझेदारबीच खटपट भयो । अन्ततः टिम विभाजित भयो । यिनै विषयमा केन्द्रित रहेर ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलसँग बाह्रखरीकर्मी नरेश फुयाँलले गरेको कुराकानीको सम्पादित अंश ।)

‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनको सय दिन भयो, अहिलेसम्म कति कमायो ?
८४ दिनको हिसाब मसँग आएको छ । ८४ दिनमा ४८ करोड सात लाख छ । अहिले चारपाँचवटा हलमा मात्र छ । थोरै अकुपेन्सी हुँदा दिनको पाँचसात हजार थपिरहेको छ ।

ओभरसिज मार्केटबाट कति आयो ? 
नेपालको भन्दा केही कम छ । ३२/३३ करोड जति छ । सबैतिर बक्सअफिसमा रिलिज भएको छैन । कति ठाउँमा प्राइभेटमा बिक्री गरिएको छ । हामीसँग बक्सअफिसको रिपोर्ट मात्र आउँछ । 

जापानमा कम्तीमा डेढ करोड रुपैयाँ उठेको छ, यो हाम्रो रिपोर्टमा आउँदैन । यूकेमा प्राइभेट स्क्रिनिङ भएको छ, १८ हजार पाउन्डको व्यापार भएको छ । यो पनि हाम्रो हिसाबमा आउँदैन । सबै ओभरसिजको हिसाब गर्ने हो भने ३२/३३ करोड उठेको छ ।

एक करोड ३० लाखमा बनाइएको चलचित्रले पौने एक अर्ब उठायो ? 
उठायो । उठाउँदो रहेछ । बनेको चाहिँ एक करोड ३० लाखमा हो । मार्केटिङको खर्च जोड्दा अलि बढी होला ।

यति धेरै कलेक्सन हुन्छ भन्ने अपेक्षा थियो ?
थिएन । 

कसरी सम्भव भयो ? 
पहिलो कुरा त हामीले चलचित्र बनाउँदा बाउछोराको इमोसन हुनुपर्छ भन्ने थियो । बाउछोराको इमोसन देखाउने चलचित्र छैनन् भन्ने पनि थियो ।

सिनेमा सम्पादन गरिसकेपछि रिलिज डेट कात्तिक १५ लियौँ । कात्तिक १५ नै किन भन्दा आठवटाजति बिदा थियो । दुईवटा हिन्दी र दुई नेपाली चलचित्र थिए । पछि विभिन्न कारणले नेपाली चलचित्र ब्याक भए । 

दुईवटा चलचित्र ब्याक भएपछि आठवटा बिदाका दिन छन्, नेपाली सिनेमा हेर्ने नेपालीले नै हो, त्यसैले बढीमा पाँचदेखि सात करोड कलेक्सन गर्छ भन्ने थियो ।

तर, कसरी चल्यो, के कारणले चल्यो भन्ने भएन । इतिहास नै रच्यो । हेर्दा अचम्मै भयो ।

चलचित्र चल्यो, पैसा कमाउनुभयो, टिमचाहिँ किन सँगै रहेन ? 
टिम थियो, अब रहेन । मैले एक्लै लगानी गरेर बनाएको चलचित्र हो, पूर्ण बहादुरको सारङ्गी । सुरुमा दर्ता गर्दा तीनजनाको सगोलमा रहेको कम्पनीमा दर्ता गरेका थियौँ ।

चलचित्रले पैसा कमाएपछि उचाल्ने, पछार्ने मान्छे भए । उचालिने र पछारिने मान्छे भएपछि टिम पनि टुक्रियो । पैसा पनि बाँडफाँट भयो ।

तपाईंलाई अपारदर्शिताको आरोप लाग्यो नि ? 
आरोप लगाउनुभयो, तर कुरा सही होइन । एकल लगानीमा बनेको चलचित्र हो । उहाँहरू (प्याट्रिक सुवेदी र रमेश ढकाल)ले पैसा लगानी गर्नुभएको छैन । एक रुपैयाँ पनि हाल्नुभएको छैन । यो प्रुभ गर्न चाहेर पनि सक्नु हुन्न ।

कम्पनीमा सँगै रहेर काम गरिरहेका थियौँ । नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा लैजाने भनेर काम गरिरहेका थियौँ ।

कम्पनी सगोलमा भए पनि मैले सिनेमा बनाउँछु भनेर एकल पहलमा गरेको चलचित्र थियो । कम्पनीको नाम पनि माथि जान्छ भनेर बनाएको चलचित्र हो । पछि उहाँहरूले इथिक्स भुल्नुभयो । कानुनी रूपमा म तल परे पनि नैतिकता भन्ने कुरा पनि त हुन्छ होला । उहाँहरूले नैतिकतालाई खाइदिनुभयो ।

इतिहास हेर्दा पनि चलचित्रले पैसा कमाएपछि सँगै बसेका कमै देखिन्छ, किन ?
हो, धेरै टिम फुटेका छन् । उचाल्ने र पछार्ने मान्छेको कुरा सुनेर उचालिने र पछारिने मान्छे भएपछि यस्तै हुँदो रहेछ । यही नै हो कारण । उसले यति कमायो, तिमीले के पायौ भनेर उचाल्ने मान्छे भएपछि यस्तै हुने रहेछ ।

यसको असर नेपाली चलचित्र उद्योगमा परिरहेको छ ? 
परिरहेको छ । टिममा काम गर्नु र एक्लै गर्दा केही न केही फरक हुन्छ ।

यो क्रम रहिरहन्छ ?
रहन्छ, सधैँ रहन्छ । भ्रष्टाचार नेपालमा रहिरहन्छ भनेजस्तै यो प्रवृत्ति नेपालमा रहिरहन्छ जस्तो लाग्छ ।

‘पूर्ण बहादुरको सारङ्गी–२’ निर्माणको घोषणा गर्नुभयो, पहिलो हिट भएपछि दोस्रो नबनाई नहुने हो ? 
बनाउँदै नबनाउने भन्ने पनि छैन । सुरुमा कथा लेख्दा नै मैले पार्ट २ बन्छ भनेको थिएँ । धेरै कलाकारसँग पार्ट १ र पार्ट २ बन्छ है भनेको थिएँ । कतिवटा अन्तर्वार्तामा यसको पार्ट २ पनि आउँछ भनेको छु ।

हाम्रो चलचित्रमा पूर्णबहादुर पात्रसँगै बाटुली भन्ने पात्र पनि छ । बाटुलीको पात्रलाई हामीले किन बीचबाटै हटायौँ, अथवा अन्तिममा किन जोडेनौँ भने पार्ट २ कै लागि छोडिएको हो । कतिले बाटुलीलाई किन बीचमै छोडेको भन्नुभयो । दुई बनाउनकै लागि छोडेका हौँ । जब बाटुलीको कथा पूर्ण हुन्छ, तब मात्र पूर्ण बहादुरको कथा पनि पूर्ण हुन्छ । त्यसैले पार्ट २ बन्न लागेको हो ।

धेरैलाई चाहिँ ‘पूर्ण बहादुरको सारङ्गी चलेपछि दुई बनाउन लागियो भन्ने छ नि ? 
थाहा नभएर हो । अड्कल काट्न पाइयो । हाम्रो तयारी कथा लेख्दैदेखिको हो । हामीले कथा भन्ने क्रममा कथालाई पूरा गरौँ भनेर चलचित्र बनाउन लागेका हौँ । तीन/चार/पाँच/छ आउँदा त भएकै छ । हामीले दुई बनाउन नहुने भन्ने त होइन होला ।

‘अगस्त्य’ले जस्तै सुरुमै च्याप्टर एक र दुई बन्छ भनेर घोषणा गरेको भए ‘पूर्ण बहादुरको सारङ्गी’को ब्याज खाने लोभ निर्माताले गरे भन्ने टिप्पणी हुने थिएन कि ! 

चलचित्रको अन्तिममा राख्ने कि भन्ने तयारी पनि थियो । तर, विभिन्न कारणले त्यो गरिएन । तर, चलचित्र हेर्नेलाई थाहा हुन्छ, कथा छोडेका छौँ । हाम्रो हजुरआमा कस्तो हुनुहुन्थ्यो भन्दा भाग्यले भेटेछ भने कुनै दिन सुनाउँला भनेर इन्डिङ गरेका छौँ, त्यो पार्ट २ कै लागि छोडेका हौँ । त्यो अनाउन्सजस्तै हो । त्यसैले लेखेर अनाउन्स गर्नुभन्दा कथामार्फत नै गरौँ भन्ने लागेर त्यसैगरी इन्डिङ गरेका हौँ ।

निर्देशक (सरोज पौडेल)ले कपिराइटको कुरा गर्नुभएको छ, कसरी बनाउनुहुन्छ ?
पूर्णबहादुरको सारङ्गी–२ बनाउँदा मेरो इजाजत लिनुपर्छ भन्ने कुरा गर्नुभएको छ । तर, त्यो ठिक होइन । नाम कम्पनीको सम्पत्ति हो । कसलाई राख्ने र कसलाई नराख्ने निर्णय गर्ने अधिकार कम्पनीसँग हुन्छ । चलचित्र बनाइसकेपछि त्यो कम्पनीको हुन्छ ।

चलचित्र बनाउँदै हुनुहुन्छ, कहाँ देखाउनुहुन्छ ? चलचित्र संघ र वितरकले त तपाईंले बनाएका चलचित्र बहिष्कार गर्ने, प्रदर्शन नगर्ने भनेका छन् ?
हो, चलचित्र संघ र वितरकले त्यसो भन्नुभएको छ । पहिला चलचित्र बनाइसकेपछि कहाँ लगाउने, कसरी लगाउने भन्ने कुरा टुंगो लागिहाल्छ नि ! उहाँहरूले गरेको कुरा कानुनसम्मत छ कि छैन भन्ने पनि होला । अहिले यसबारे धेरै बोलिरहनु पर्दैन । एक वर्षपछि सिनेमा बन्छ, हलमै रिलिज गर्ने हो ।

पैसा पर्याप्त कमाउनुभयो, हल खोल्दै हुनुहुन्छ र ? 
छैन । सिनेमा हल प्राइभेट कम्पनी हुन् । यसले बनाएको सिनेमा लगाउँछु, यसको लगाउँदिनँ भन्न कसैले पाउँदैन । कानुन र नियम त सबैले पालना गरेर बस्ने होला नि ! होइन भने हामी पनि त्यसैगरी अगाडि बढौँला नि !

सर्वकालिक सिनेमा बनाएर बक्सअफिसमा बेन्चमार्क खडा गर्नुभयो, यसलाई तोड्नभन्दा पनि पछ्याउनै कठिन होला नि तपाईं स्वयंलाई ?
रेकर्ड तोड्नेभन्दा पनि इमानदार भएर काम गर्ने हो । कमर्सियल नै हुन्छ र त्यसमा सफल हुन्छ भन्ने म मान्दिनँ । कथा भन्दा मिहिनेत गरेर राम्रोसँग कथा भन्ने हो । व्यापारको कुरा गर्दा कुन चलचित्र चल्छ कुन चल्दैन भन्ने कसैलाई थाहा हुँदैन ।

तर, पूर्णबहादुरको सारङ्गी’को रेकर्ड तोडिँदैन भन्ने हुँदैन । जसले तोडे पनि चाँडै तोड्नुपर्छ । त्यसैगरी बजार बढ्दै जाने हो । अब पूर्णबहादुरको सारङ्गीको रेकर्ड तोड्न सकिँदैन भनेर हतोत्साही भएर बस्ने कुरा हुँदैन । पूर्णबहादुरको सारङ्गी–२ बाट यो रेकर्ड तोड्छु अथवा ‘रोल नं १’ ले तोड्छु भन्ने मेरो उद्देश्य हुनुपर्छ । हुन्छ वा हुँदैन त्यो भोलिको कुरा हो । तर, पूर्णबहादुरको सारङ्गीको रेकर्ड तोड्छु भनेर चलचित्र बनाउने हो । अर्को मेकरले पनि यही सोच्नुपर्छ । जसले तोडे पनि यो रेकर्ड चाँडै तोड्नुपर्छ । 

वैशाखदेखि कात्तिकसम्म चलचित्र चले पनि त्यसपछि खासै राम्रो व्यापार देखिएन, कस्तो चलचित्र चल्ने रहेछ ? 
चलचित्रको बजारको पूर्वानुमान नै गर्न नसकिने रहेछ । कहिले भदौमा, कहिले कात्तिकमा पनि चलचित्र चल्छ । असारमा पनि चलचित्र चल्छ । ‘कबड्डी–४’ जेठमा चलेको हो । चलचित्र कुन समयमा चल्छ भन्ने मलाई थाहा छैन । तर, फेस्टिभ मुडमा चलेको देखिन्छ ।

चलचित्रभन्दा पनि फेस्टिभल चल्छ ?
फेस्टिभलमा माहोल बन्छ । यो माहोलमा चलचित्र हेरेर मनोरञ्जन लिनुपर्छ भनेर सिनेमा हेर्न गएको देखिन्छ । अरू बेला पनि नचल्ने होइन, चल्छ । ‘पुष्पा–२’ चल्यो । हामी आफैँमा केही कमजोरी छ कि !

चलचित्र नै कमजोर छ कि, मार्केटिङ कमजोर भयो कि, रिलिज डेटमा कमजोरी भयो कि ! रेगुलर एकैखालको कन्टेन आइरहेको पनि हुनसक्छ । दर्शकको चाहना र चलचित्रको कन्टेन म्याच भएन कि ! त्यसैले चलचित्रको बजारबारे थाहै छैन । काम गर्दै सिक्दै जाने हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro