
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरूको तर्फबाट एकजनाले सामूहिक रूपमा प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ ।
अस्वीकार गर्ने सांसदहरूको तर्फबाट एकजना प्रस्तावक बनेर अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताए । सभामुखसँगको छलफलपछि बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा अन्य समर्थकहरूलाई बोल्नका लागि तीन/तीन मिनेटको समय छुट्याइएको बताए ।
"भोलिको संसद्को बैठकमा पेस गर्ने कार्यसूचीका बारेमा छलफल भयो । सर्वसम्मतिले ती विषयहरू तय भएको छ । अध्यादेश प्रस्तुत गर्नेकुरा, अध्यादेश अस्वीकार गर्ने सांसदहरूको सामूहिक रूपमा परेको प्रस्तावमा एकजनाले प्रस्तुत गर्ने, ५ मिनेट उहाँले बोल्ने र तीन/तीन मिनेट मान्यज्यूहरूले राख्ने, भोटिङ सामूहिक रूपमा जुनजुन प्रस्तुतकर्ता सांसदज्यूहरू हुनुहुन्छ, सामूहिक भोटिङ हुन्छ," उनले भने ।
संसद्को बैठकमा सम्बन्धित मन्त्रीहरूले विधेयकको सम्बन्धमा जवाफ दिने पनि बताए । उनले प्रतिपक्ष दलको नेताले सम्बोधन गर्नुका साथै विशेष समय पनि राखिएको जानकारी दिए ।