site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
अनुदार लोकतन्त्र उन्मुख नेकपा कांग्रेस ! 

प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा सुन्दर संयोग के हो भने उनी सुविधाजनक बहुमतको प्रधानमन्त्री बन्छन् । र, त्यो सुविधाजनक शक्तिलाई संविधानको मर्म र भावनाविपरित दुरुपयोग गर्ने मानसिकताबाट ग्रसित हुने गर्छन् । संसद्को प्रचण्ड बहुमतको आडमा संसदीय व्यवस्थाकै अपमान हुनेगरी  अहंकारी बन्ने चेष्टा गर्छन् । उनका यसपटकका केही कामकारबाही र विगतले यसै भनिरहेको छ । 

चर्चामा आइरहने राजनीतिक पात्र माधवकुमार नेपाल कुनै बेला नेकपा (एमाले)मा ओलीकै नेता थिए । अहिले एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । उनले केही दिनअघि सार्वजनिक मञ्चबाट रोष प्रकट गर्दे ओलीलाई लोकतान्त्रिक बन्न सुझाव दिएका थिए । नेकपा (एकीकृत समाजवादी)ले ललितपुरमा पुस २७ मा आयोजना गरेको एक कार्यक्रमा ओलीलाई लक्षित गर्दे नेपाल भन्दै थिए - ‘फासिस्ट बनेर पार लगाउन सक्नुहुन्न । लोकतान्त्रिक बन्नुस्, लोकतान्त्रिक विधि अवलम्बन गर्नुस्, अरूको मानसम्मान गर्न जान्नुस्, सहकार्य गर्नुस् ।’ 

एमाले अध्यक्ष ओलीका लागि माधवकुमार नेपाल सायद प्रम्रुख विरोधी हुन् । ओली नेपालको दल एकीकृत समाजवादीलाई कुनै हिसाबले मान्यता नदिने पक्षमा थिए । ओली अहिले पनि सायद त्यो दलको नामोनिसान नहोस् भन्ने चाहन्छन् । एमालेलाई टुक्र्याएर बनेको एकीकृत समाजवादीप्रति ओली रुष्ट हुनु स्वभाविकै मान्न सकिएला । तर, यहाँ विवेचना गर्न आवश्यक छ । माधव नेपालका आरोप आरोपका लागि मात्र हुन् वा सरकारको कार्यशैली र ओलीको विगतका व्यवहारबाट सृजित भएका शंका हुन् ? 

Dabur Nepal

नेपाली कांग्रेस र एमालेको समीकरणबाट बनेको सत्तालाई नेकपा 'कांग्रेस' को सज्ञा दिन सकिन्छ । त्यो लोकतान्त्रिक मूल्यपद्धति, लोकतान्त्रिक उदारवादप्रति संवेदनशील छ त ? चुनाव हुनु, सत्ताका लागि बहुमत पु¥याएर सत्ता संचालन गर्नुमात्र लोकतन्त्र हो ? सिंहदरबारमा जननिर्वाचित प्रतिनिधिको हातमा शासन हुनुमात्र लोकतन्त्र मान्न सकिन्छ ? सकिँदैन । कारण लोकतन्त्रका केही मानक छन् । ती मानकबाट ओली स्खलित हुँदै गएको उनका बोली व्यवहार, सरकारको कार्यशैलीले संकेत त गरिरहेका छैनन् ? 

संवैधानिकता, विधिको शासन, अल्पमतको सम्मान, मानव अधिकारको पालना, वैयक्तिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता आदि लोकतत्रसँग जोडिएका पक्ष हुन् । हुन त, नेपालमात्र होइन विश्वको राजनीतिक दृश्यमा निर्वाचनबाट सत्तामा आउने र अधिनायकवादी शैलीमा शासन चलाउने प्रवृत्ति बढ्दो छ । कोरा राष्ट्रवादी आवरणमा फैलँदै गएको यस्तो राजनीतिक परिवेश उदार लोकतन्त्रका पक्षधरका लागि चुनौतीपूर्ण बन्दै गएको छ ।

संविधानले संसदीय लोकतान्त्रिक राजनीतिक प्रणालीको प्रत्याभूत गरेको छ । सत्ताधारी कांग्रेसको राजनीतिक आदर्श संसदीय लोकतन्त्र नै हो । तर, संसद छल्ने नियतवश कसरी र किन एकपछि अर्को अध्यादेश जारी गरिए ? हिउँदे संसद् बोलाएर त्यहाँ आफूले चाहेका विधेयक पेस गर्ने, संसद्, संसदीय समितिहरूमा छलफल गर्ने र विधेयकलाई ऐनको रूप दिने संसदीय परिपाटीलाई किन लत्याइयो ? प्रतिपक्षीहरूले हिउँदे अधिवेशन आह्वान गर्न माग गरिरहेको अवस्थामा अध्यादेश जारी गर्नु संसदीय विधि प्रक्रिया छल्न खोज्नु नै त हो ।

किन यस्तो अवस्था आइलाग्यो त ? कुनै पनि विधेयक ऐन बन्नुअघि गहन छलफल हुनु आवश्यक हुन्छ । प्रतिनिधिसभा, राष्ट्रियसभा हुँदै विधेयक परिमार्जित हुँदै दुवै सदनबाट पास भएपछि ऐन निर्माण हुने हो । प्रचारात्मक शैलीमा सार्वजनिक गरिएका अध्यादेशले कुनै अपरिहार्य आवश्यकता देखाउँदैनन् । संसद् नचलेको समयमा आकस्मिक रूपमा कुनै, अत्यावश्यक कानुन आवश्यक परेमा अध्यादेशको बाटो लिने हो । तर, त्यस्तो इमरजेन्सी अहिले केही देखिँदैन ।

विसं २०८१ पुस १४ गते ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संधोधन गर्ने अध्यादेश जारी भएको छ । सहकारी समस्याको विकराल पाटो छ । यो समस्यालाई लिएर गत वर्षको प्रतिपक्षी काग्रेसले संदन र सदनबाहिर पनि चर्काएको विरोधको पष्ठभूमिमा समिति बनेको हो । नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई काँध थापेका ओली प्रारम्भमा समिति बनाउन नहुने पक्षमा थिए । तर, अन्त्यमा ओलीकै विश्वासपात्र सूर्य थापाको संयोजकत्वमा समिति बन्यो र समितिले सहकारीका समस्याहरू पर्गेल्दै विभिन्न सुझाव दिएको छ । 

समितिको प्रतिवेदन तथा सहकारी पीडितका उजुरीहरूको पृष्ठभूमिमा चालेको कारबाहीमा संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायत माथिको कानुनी कारबाही जारी छ । मौजुदा ऐन कानुनअनुसार कारबाही चलाउन कुनै बाधाअड्काउ परेको भए पनि अध्यादेशबाट ऐन ल्याउने कामले शंका बढाउँछ र राजनीतिक नियत राखेर राखेर कारबाही चलाइयो भन्ने आरोपलाई बल मिलेको छ । वर्षौंदेखि जकडिएका समस्याको समाधान हतारमा गरिहाल्ने इमानदार हुटहुटीबाट अध्यादेशको बाटो लिएको हो त ? राजनीतिक परिदृश्यले त्यस्तो संकेत गर्देन । 

पुष २६ गते अपराह्न प्रधानमन्त्री ओली, न्याय कानुन तथा संसदीय मामिलामन्त्री अजय चौरसिया तथा मुख्यसचिव एकनारायण अर्यालसमेतको टोलीको नेतृत्व गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगे ।

सोही दिनरात अबेरसम्म मन्त्रिपरिषद् बैठक बस्यो र तीनवटा अध्यादेश जारी गर्नेलगायतका निर्णय लिन पुग्यो । भूमि, लगानी र सरकारी कामकाजसम्बन्धी कानुनहरू मन्त्रिपरिषद्बाट अध्यादेशको रूपमा जारी भइसकेका छन् ।

संभवत: माघ १८ देखी सुरु भएको अधिवेशनमा पेस हुनेछन् । अध्यादेश संसद्मा पेस भएपछि त्यसलाई स्वीकृत गर्ने वा अस्वीकृत गर्नेबाहेक विकल्प हुँदैन । अध्यादेशहरूले संसद्मा विस्तृत छलफल हुने, समितिहरूमा छलफल भएर परिमार्जित हुने संभावना भने राख्दैनन् । संसदीय रेकर्ड वा औपचारिकताका लागि भाषणहरू हुनसक्छन् । विरोध समर्थन र औचित्यमाथि बहस हुँदाहुँदै पनि नेकपा कांग्रेसको बहुमतको बलमा अध्यादेश अनुमोदित हुन सक्छन् ।

संविधानको धारा ११४ मा अध्यादेशको प्रावधान छ र त्यसको उपधारा (१) मा संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ भन्ने लेखिएको छ ।

संविधानमै तत्काल केही गर्न आवश्यक परेमा भन्ने शब्द उल्लेख भएको छ तर कुनै तत्काल नगरी नहुने अवस्था देखाएर यी अध्यादेश अगाडि सारिएका होइनन् ।  सोही धाराको उपधारा (२) मा उपधारा (१) बमोजिम जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ ।

तर त्यस्तो प्रत्येक अध्यादेश (क) जारी भएपछि बसेको संघीय संसद्को दुवै सदनमा पेस गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ, (ख) राष्ट्रपतिबाट जुनसुकै बखत खारेज हुन सक्नेछ, र (ग) खण्ड (क) वा (ख) बमोजिम निष्क्रिय वा खारेज नभएमा दुवै सदनको बैठक बसेको साठी दिनपछि स्वतः निष्क्रिय हुनेछ भन्ने उल्लेख छ ।

स्पष्टीकरण : यस उपधाराको प्रयोजनका लागि “दुवै सदनको बैठक बसेको दिन” भन्नाले संघीय संसद्का दुवै सदनको अधिवेशन प्रारम्भ भएको वा बैठक बसेको दिन सम्झनुपर्छ र सो शब्दले संघीय संसद्का सदनहरूको बैठक अघिपछि गरी बसेको अवस्थामा जुन सदनको बैठक पछि बसेको छ सोही दिनलाई जनाउँछ ।’ भन्ने लेखिएको छ ।

दुवै सदनबाट अनुमोदन हुनुपर्ने बाध्यता भने सत्ताधारीका लागि चुनौतीपूर्ण देखिन्छ । कारण, राष्ट्रिय सभामा प्रतिनिधि सभाको जस्तो बहुमतको सुविधा छैन । कुल ५९ सदस्यीय राष्ट्रिय सभामा अध्यक्ष नारायणप्रसाद दाहाल सामान्य अवस्थामा पक्ष, विपक्षमा खुल्न मिल्दैन । बहुमतका लागि बाँकी ५८ जनामध्ये ३० सदस्यको मत आवश्यक हुन्छ । सत्ताधारी र विपक्षी दुवै कित्तामा २९ २९ सांसद छन् । 

सत्ताधारी कांग्रेसका १६, एमालेका १०, लोकतान्त्रिक समाजवादीको एक र मनोनीत अन्जन शाक्य एक गरेर २८ जना हुन्छन् । हालैमात्र एमालेमा 'सम्मानजनक' प्रवेश पाउने आश्वासन पाएका  नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई सत्ताको कित्तामा जोड्दा २९ हुन आउँछ ।

उता, प्रतिपक्षी कित्तामा माओवादीका १७ नेकपा (एकिकृत समाजवादी)का ८, जनता समाजवादी नेपालका ३ गरेर २८ जना हुन्छन् । राष्ट्रिय जनमोर्चाका एक जना संभवत: सत्ताधारी कित्तामा गणना गर्न मिल्दैन । यस अर्थमा प्रतिपक्षी कित्ता पनि २९ को हुन आउँछ । अध्यक्षले निर्णायक मत दिनुपर्ने अवस्था भयो भने माओवादीका सांसद अध्यक्ष भएका कारण प्रतिपक्षी बलियो हु्ने हुन्छ । 

अध्यादेश जारी भइरहेको समयमा सत्ता राजनीतिक वृतमा अर्को खेल पनि भइरहेको थियो । राजनीतिक दल विभाजनसम्बन्धी कानुनमा परिवर्तन गर्ने मन:स्थितिमा प्रधानमन्त्री ओली रहेको समाचारमा आएका छन् । निर्वाचन कानुनमा परिवर्तन गरेर समानुपातिक निर्वाचनबाट दलहरूले संघीय  र प्रदेश संसद्मा पाउने सिटमा नियन्त्रण गर्ने सोचमा काम भइरहेको छ ।

समानुपातिक निर्वाचनमा प्राप्त मतको निश्चित सीमा तोकेर सिट बाँडफाड गर्ने गरिएको छ जसलाई 'थ्रेस होल्ड' भनिन्छ । जसअनुसार संघमा ३ प्रतिशत र प्रदेशमा १.५ प्रतिशत मत ल्याउने दलले मात्र समानुपातिक सिट प्राप्त गर्ने विद्यमान कानुन छ ।

सो व्यवस्थामा परिवर्तन गरेर संघमा ५ र प्रदेशमा ३ प्रतिशतको सीमामा राख्ने गरी गृह मन्त्रालयले विधेयकको मस्यौदा कानुन मन्त्रालय पठाएको समाचार सार्वजनिक भएका छन् । कानुन मन्त्रालयमा पुगेको विधेयक यसै अधिवेशनमा पेस हुने हो वा राजनीतिक अवरोधको भयले त्यत्तिकै थन्किने हो ? ओलीको विवेक, कांग्रेसको रणनीति र प्रतिपक्षीहरूको दबाबबीच कसरी अगाडि बढ्ने हो ? 

संसद्का ठूला दलहरू मिलेर सत्ता लिनु पछाडिको मनोविज्ञान साना दललाई किनाराकृत गर्ने उद्देश्य हो भन्ने आवाज पनि यतिबेला फराकिलो बन्दै गएको छ  । विशेष गरेर ओली दुई दलीय राजनीतिक प्रणाली विकास गर्ने स्कुलिङबाट प्रभावित बनेका छन् । एमालेको शीर्ष तहमा यही रणनीतिले आकार लिएको देखिन्छ । यता दुई दलीय राजनीतिक प्रणालीको पक्षमा कांग्रेसमा भने सामान्य छलफलसमेत भएको सुनिएको छैन ।

थ्रेस होल्डको सीमा बढाउने र राजनीतिक दलसम्बन्धी ऐनमा ओलीका आँखा गाडिनुका पछाडि भने राष्ट्रिय सभाको समीकरण पनि एक हुनसक्छ ।  ओली नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी नेपाललाई थप विभाजन गर्ने मानसिकताबाट ग्रसित देखिन्छन् र त्यहीँ प्रयोजनका लागि निर्वाचन कानुन तथा राजनीतिक दलसम्बन्धी कानुनलाई हतियार बनाउन उद्यत देखिन्छन् । उनको यो कलुषित चिन्तनलाई देउवाले कुन हदसम साथ समर्थन दिने हुन् त्यो समयमा देखिने नै छ । 

साना दललाई किनारा लगाउने सोच प्रत्युत्पादक बन्नसक्छ । विसं २०६३ को जनआन्दोलनपछि उठेको आदिवासी, जनजाति र मधेसवादी आन्दोलनको जगमा अहिलेको संविधान बनेको हो । पहिचानवादी राजनीतिक मागलाई संविधान निर्माणको समयमा सीमित बनाएपछि त्यसबेला उठेका आवाज केही कमजोर बनेका हुन् पूरै निस्तेज भइसकेका छैनन् । तिनको अवसान भइसकेका होइन । 

पहिचानवादी आन्दोलनलाई साना दलले केही हदसम्म अपनत्व लिएको देखिन्छ । यस्तो पेचिलो राजनीतिक अवस्थामा साना दललाई समेट्दै अगाडि बढ्ने दायित्वबोध ठूला दलका नेतामा आवश्यक थियो । 'विनाशकाले विपरीत बुद्धि’ भने झैँ संघीयतामा अखण्डवादी, एकीकृत सोचलाई बढावा दिने प्रयास गरिँदैछ । 

पेलेर जाने कि मिलेर अगाडी बढ्ने ? रोजाइ ओली, देउवाको हो । उदार लोकतन्त्रको अभ्यास गरौँ, लोकतन्त्रको आडमा अनुदार बन्ने कोसिस नगरौँ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro