site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘एक से एक कविता’ नियाल्दा

‘एक से एक छन्द कविता’ नेपाली समाजप्रतिको आक्रोश उजागर गर्दै बजारमा आएको छ । छन्द कविताको खडेरी लागेको आजको समयमा कवि भगवतीप्रसाद शर्माले छन्दमार्फत आफ्ना भावनाहरू अभिव्यक्त गरेका छन् । त्यसभित्र राजनीतिप्रतिको वितृष्णा पनि उजागर गरिएको छ । मूलतः गणतन्त्रपछि नेपाली राजनीतिमा देखिएको विकृति–विसंगतिप्रति कविको काव्यभावले तिखो वाण चलाएको छ ।  

कवितामा नेताप्रतिको वितृष्णा र जनआक्रोशलाई पोखिएको छ । शास्त्रीय छन्दमा कलम चलाउन सिद्धहस्त कविले कतै भाषाका उत्थानमा भएगरेका विद्वान्हरूका योगदानको उल्लेख गरेका छन् । कतै राष्ट्रभक्तिको भावना पोखेका छन् ।

बर्सन्छन् घनघोर आज असिना छैनन् कतै बादल 
छाइन्नन् घर त्यो बित्यो युग बित्यो देखे बिराले दल ।।
आफ्नो ओत बनाउँदैन कहिल्यै बाँध्दैन आफ्नो घर । 
आफ्नो थातथलो भएर पनि यो अन्यत्र लाग्यो नर ।।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कृतिका कवितामा नेपालको वर्तमान अवस्था ऐनाजस्तै छर्लंग देखिएको छ । युवाहरू विदेश गएर गाउँ रित्तिएका छन् । वृद्धवृद्धा मात्रले देश नै वृद्धाश्रमजस्तो भएको छ भन्ने भाव कविले पोखेका छन् भने आफ्नै देशमा परिश्रम गरेर नेपाललाई सुन्दर बनाउनुपर्छ भन्ने विचार पनि कवितामा देखिन्छ ।

चुनावमा नेपाली जनताले योग्य मानिस छान्न नसकेर मासुभात र पैसामा आफ्नो मत बेची भ्रष्ट नेतालाई जिताएकोमा कविको दुःखेसो कवितामा छताछुल्ल छ । बुढा नेताले देशको माया गरेनन्, अब विद्वान् र युवा नेता जिताएर देशको विकास गर्नु हाम्रो कर्तव्य हो भन्ने सन्दर्भ कविताका हरफले व्यक्त गर्दछ ।

चुनावी नारामा कथित गुलियो खान्न अवता ।
गुलाफी काँडामा अलि पर बसे छुन्न अब ता ।।
नजान्दा राम्रो हो पनि नभन है चुन्नु गतिलो ।
भए मध्य राम्रो प्रतिनिधि चुनौ हुन्छु कमलो ।।

कविको चाहना, कविको भावना र कविको देशभक्ति प्रेम सद्भावनालाई मुक्तकण्ठले प्रशंसा गर्दा पनि कम हुन्छ । स्वार्थलिप्सामा ग्रसित दुराचारी, भ्रष्टाचारी नेता जिताएर देशको प्रगति भएन भनेर पछुतो गर्नु औचित्यहीन कुरा हो । बेलैमा सजग बनेर चुनावमै राम्रा मान्छे जिताउनुपर्छ भन्ने सन्देश कविताले दिन्छ । कवितामा भनिएको छ–
आयो चुनाव तिम्रो पैसा लिएर आऊ ।
केटा लठैत गुण्डा भर्ती गरेर आऊ
रक्सी र मासु खुवाई पार्टी भनेर ल्याऊ
सिद्धान्त नीति बेच्दै बुट्टा भरेर आऊ ।

राष्ट्रिय पुँजीको दुरुपयोग, कमिसन खोरी र हत्याहिंसा, बलात्कारको चरम बेथितिमा कवि चिन्तित देखिन्छन् । कवितामा उनी भन्छन्–
फोक्सिङटारे पुलतुल भयो सोध्दथे हालचाल
कोही भन्थे अलिकति उठ्यो माथिको भाग हाल
वर्षौं बित्छन् तर पुल कता बांगियो मर्छ आस
सोध्दा सोध्दै दिन कति बिते जान्छ होला कि सास ।

वर्षौं लगाएर बनाएको पुल पनि बांगो, त्यही पनि कविको अनुमानानुसार विगतको बाढीले बगायो । यस्तो छ गणतान्त्रिक सरकारको विकासे गतिविधि र अनुगमन प्रणाली । देश बनाउन आफैँ जाग्नुपर्छ भन्ने कुरामा कवि यसरी पोखिन्छन्–
आफैँ नजागीकन काम छैन 
बदल्नुपर्नेछ हरेक ऐन 
नेतृत्व हाम्रो गतिलो भएन 
सन्तान कोही पनि निस्किएन ।

वास्तवमै हो, आफ्नो देशको प्रगति आफैँले विकास गरेर हराभरा सुन्दर बनाउने हो । अरू देशका जनताले आएर हाम्रो देशको विकास गर्दैनन् । खेती लगाउने बेलामा अल्छी गरेपछि मंसिरमा बाली उठाउने सपना नदेखे हुन्छ । उर्वर युवा उमेर विदेशीको सेवामा खर्चिएर हाम्रो देशको विकास कसले गरिदिन्छ ? यस्तैयस्तै भावनामा कवि तल्लीन देखिन्छन् ।

नेताले जे जसो गरे पनि चुप लागेर बस्नु हुन्न, अन्याय सहनु पनि अन्याय गर्नुजस्तै हो भन्ने मूल आशय कविको अन्तरमनले बोलेको कवितामा प्रस्ट झल्कन्छ । कवितामा प्रकृति वर्णन, पवित्र नदीनाला, हिमाल, पहाड, तराई सबै मिलेको सुन्दर नेपालको गौरवमय गरिमा समेत सुन्दर ढंगले वर्णन गरिएको छ । यसरी कविले देश निर्माणमा लाग्न अभिप्रेरित गरेका छन् ।

कविमा एक सशक्त प्रगतिशील चेतनाशक्ति जुर्मुराएको देखिन्छ । मानिस एक दिन मर्नुपर्छ, जीवन जिउनु मात्र जीवन होइन, कीर्ति राखेर जिउनु पो जिउनु हो भन्ने मूल आशय उनका रचनाका गर्भमा लुकेको स्पष्ट देख्न सकिन्छ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तमाम नेपालीहरू हामी एकै नेपाल आमाका सन्तान हौँ र हामी हामीबीच प्रगाढ आत्मीय भावना छ र हुनुपर्छ भन्ने सन्देश कविताले दिन्छ । वर्षाको भेलमा काठ, कसिंगर र हिलोमैलो नदीमा बगेझैँ छन्दोबद्ध कविता निर्बाध रूपमा एक से एक छन्दमा बगेको छ । 

(इटहरी–२०, सुनसरी)
 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्