site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रविधिको प्रयोगले वन्यजन्तुको संरक्षणमा सहजता, चोरी शिकारी रोक्न ‘स्मार्ट आई’ विकास गरिँदै

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज राखिएका सीसी क्यामरामा दुई व्यक्ति कैद भए, गत जेठ १९ गते । त्यो दृश्य लोथरमा राखिएको सीसी क्यामराले कैद गरेको थियो । 

जो व्यक्ति सीसी क्यामरामा कैद थिए, उनीहरूको हातमा बन्दुक थियो भने पछाडि झोला भिरेका थिए । यो दृश्य देख्ने बित्तिकै थाहा भयो, उनीहरू चोरी शिकार गर्न आएका हुन् । 

त्यसपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले निकुञ्जभित्र खोजी सुरु गर्यो । एक दिनपछि झोला र बन्दुकमा राख्ने बारुद फेला पर्यो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“उनीहरूलाई जेठ २२ गते पक्राउ गर्न हामी सफल भयौं,” नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, “प्रविधिको प्रयोगले प्रकृति संरक्षणमा थप सहजता भएको छ ।” 

नेपाली सेनाले प्रकृति संरक्षण तथा सुरक्षामा हात हालेको यस वर्ष ५० वर्ष पुगेको छ । यस अवधिमा प्रकृति संरक्षणमा नेपाली सेनाले थुप्रै आरेह–अवरोहको सामना गरको छ । 

पछिल्ला वर्षमा प्रविधिको प्रयोगले राष्ट्रिय निकुञ्जको सुरक्षामा निकै सघाएको अनुभव उनको छ । प्रविधिले सहज बनाएपछि नेपाली सेना आफैँ यसको विकासमा जुटेको छ । “हामी ‘स्मार्ट आई’ नयाँ प्रविधिको विकास गर्ने क्रममा छौं । यो विकास गर्नुको दुई उद्देश्य छन् । पहिलो शोधकर्ताको क्षमता बढाउने र दोस्रो, मौलिक प्रविधिको विकास गर्ने,” सैनिक प्रवक्ता बस्नेतले भने । 

‘स्मार्ट आई’को विकासपछि राष्ट्रिय निकुञ्जहरूको सुरक्षामा थप सहजता आउने विश्वास उनको छ । 

नागार्जुनमा अवस्थित शिलालेखअनुसार नेपालमा प्रकृति संरक्षणको प्रारम्भ तत्कालीन राजा सुरेन्द्रविक्रम शाहको पालामा सन् १८६९ बाट सुरु भएको मानिन्छ । जबकि अमेरिकामा पहिलो राष्ट्रिय निकुञ्ज ‘एलो स्टोन नेसनल पार्क’को स्थापना भएको थियो । 

नेपाली सेनाले २०१८ सालबाट गैंडा गस्ती सुरु गरेको थियो । २०३० सालमा नेपालमा पहिलो राष्ट्रिय निकुञ्ज ‘चितवन राष्ट्रिय निकुञ्ज’को स्थापना गरिएको थियो । यसको दुई वर्षपछि अर्थात् २०३२ सालबाट नेपाली सेनालाई औपचारिक रुपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ गरिँदै आइएको छ । 

नेपाली सेनाका अनुसार, हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष र एउटा शिकार आरक्षका संरक्षणमा नेपाली सेना खटिएको छ ।

mausam-1751602804.JPG
 

निकुञ्ज, वन्यजन्तु आरक्ष र शिकार आरक्षको सुरक्षार्थ ८ वटा गण, ७ वटा अनाश्रित गुल्म र एउटा प्रकृति संरक्षण शिक्षालय गरी करिव ८ हजारभन्दा बढी फौज निरन्तर परिचालित हुँदै आएका छन् । 

वन्यजन्तु ऐन, २०२९ तथा मन्त्रिपरिषदबाट २०६७ सालमा पारित स्थायी कार्य सञ्चालन विधि अनुसार संरक्षित क्षेत्र, वनसम्पदा तथा वन्यजन्तु संरक्षणमा नेपाली सेना क्रियाशिल रहँदै आएको छ । 

साझेदार निकायहरूसँगको समन्वय र सहकार्यमा नियमित गस्तीलगायत अन्य अपरेशनल कार्य वार्षिक रुपमा ‘अपरेशन संरक्षण’ सञ्चालन गरी वन्यजन्तु साथै वन पैदावार संरक्षण कार्यमा सेना संलग्न रहँदै आएको छ । हाल ‘अपरेशन संरक्षण–११’ सञ्चालन भइरहेको सेनाले जनाएको छ ।

प्रकृति संरक्षण सेना खटिएपछि उल्लेख्य प्रगति भएको दाबी नेपाली सेनाको छ । सन् २००९ मा १२१ को संख्यामा रहेको पाटेबाघ हाल ३५५ र सन् २००५ मा ४०० को संख्यामा रहेको एकसिँगे गैंडा हाल ७५२ वटा भएको तथ्याङ्क सेनाको छ ।

“प्रकृति संरक्षण पूण्यको काम हो,” सैनिक प्रवक्ता बस्नेतले भने । 

५० वर्ष पुगेकोमा विशेष कार्यक्रम 

प्रकृति सरंक्षण तथा सुरक्षामा हात हालेको ५० वर्ष पुगेको अवसरमा यस वर्ष नेपाली सेनाले कार्यक्रमहरू आयोजना गरी मनाउँदै छ । 

केही साताअघि चितवन राष्ट्रिय निकुञ्जमा कार्यक्रम गरेको सेनाले यही असार १६ र १७ गते लाङटाङ राष्ट्रिय निकुञ्जमा एक विशेष अवलोकन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीनाथ गण र लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका पदाधिकारीहरू सहभागी थिए । 

कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावलले पछिल्लो समय निकुञ्जहरूको निगरानी सीसी क्यामरा र ड्रोनबाट भइरहेको बताए ।

“चोरी शिकारीको बदलिँदो प्रवृतिले सुरक्षामा चुनौती थपिइरहेका छन्,” रावलले भने ।

सजिलो छैन संरक्षणको काम 

राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिनु सहज काम होइन । वन्यजन्तुको आक्रमणमा जुनसुकै बेला पर्न सकिन्छ । सावधानी अपनाउन नसके घाइते मात्र हाइन ज्यानै जान पनि सक्छ । निकुञ्जहरूको सरंक्षण तथा सुरक्षामा खटिँदा थुप्रै सैनिकले ज्यान गुमाएका छन् । “हालसम्म ११६ जना सैनिकले विरगति प्राप्त गरिसकेका छन्,” रावलले जानकारी दिए । 

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा राष्ट्रिय निकुञ्जहरूमा वन्यजन्तुको आक्रमणमा परी ५७ जना घाइते भएको छन्, जसमा १० जना सैनिक छन् । यस अवधिमा वन्यजन्तुको आक्रमणमा परी २१ जना सर्वसाधारणको मृत्यु भएको छ । गैंडाको आक्रमणमा ९, हात्तीको आक्रमणमा ७ र बाघको आक्रमणमा परी ७ जनाको मृत्यु भएको हो । 

निकुञ्जभित्र अपरेशन

राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाले निकुञ्जभित्र अपरेशन चलाउने गर्छ । विशेषगरी चोरी शिकारी रोक्न यस्तो अपरेशन चलाउने गरिन्छ । 

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपाली सेनाले चलाएको अपरेशनका क्रममा २१ वटा हतियार, १ हजार ७४७ वटा जाल तथा पासो, १ हजार ६७५ वटा घरेलु औजार, ३२५ वटा सवारी साधन र १० वटा आखेटापहार बरामद गरेको छ । 

के छन् चुनौती ? 

राष्ट्रिय निकुञ्जसाम थुप्रै चुनौतीहरू छन् । यस्ता चुनौतीहरू निकुञ्जअनुसार केही भिन्न छन् । “लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तुहरू के/कति संख्यामा छन् त्यो थाहा हुन सकेको छैन । किनकि यहाँ वन्यजन्तुको गणना भएको छैन । यो यहाँका एउटा चुनौती पनि हो,” लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ श्रीनाथ गणका गणपति प्रद्युम्नप्रसाद गौतमले भने । 

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख श्यामकुमार साह निकुञ्जको कोर इलाकामा समेत उल्लेखनीय मानव बस्ती हुँदा बेलाबखत समस्या आउने गरेको बताउँछन् । 

“कोर र मध्यवर्ती क्षेत्र इलाकामा बढ्दो बस्ती र होटल व्यवसायले पनि चुनौती थपेका छन्,” उनले भने, “मानव वन्यजन्तु द्वन्द्व अर्को चुनौती हो ।” 

विकास र संरक्षणमा पनि सन्तुलन गर्नुपर्ने साह बताउँछन् । वन क्षेत्रमा हुने आगलागी, वन्यजन्तुको चोरी शिकारी, फोहोर व्यवस्थापन पनि चुनौतीको रुपमा देखिएका छन् । निकुञ्जहरूमा पर्यटकहरूको आवागमनको समयमा, चाडपर्वको समयमा, वर्षायामको अन्त्य र हिउँदयामको सुरुवातको समयमा बढी चोरी शिकारी तथा तस्करीका घटना हुने गर्छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्