काठमाडौं । प्रकाशक तथा साहित्यकाहरूले अहिलेकै अवस्था रहे केही वर्षपछि नेपालको रिडरसिप (पठन संस्कृति) शून्यमा झर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । निरन्तर रिडरसिप खस्किँदै गएको उनीहरूको भनाइ छ । हरेक वर्ष रिडरसिप खस्किँदै जानु राम्रो संकेत नभएको उनीहरू बताउँछन् ।
फाइन प्रिन्टका प्रकाशक नीरज भारी नेपालमा रिडरसिपको कल्चर स्याचुरेसनमा पुगिसकेको बताउँछन् । यसका विविध कारण छन् । त्यसमध्ये एक युवापुस्ताका लेखक नआउनु रहेको उनको तर्क छ । हरेक क्षेत्रमा युवापुस्ताले निश्चित समयपछि अघिल्लो पुस्तालाई विस्थापन गर्ने, तर नेपाली साहित्यमा त्यस्तो नदेखिएको उनको अनुभव छ ।
“फुटबल, क्रिकेटमा ३०–५३ वर्षमा खेलाडी रिटायर्ड हुन्छन् । साहित्यमा ३०–३५ वर्षमा लेखनमै कोही आइरहेको छैन,” नीरज भन्छन्, “नयाँ पुस्तामा पठन संस्कृति विकास गर्न सोही जेनेरेसनको लेखक आउनुपर्छ ।”
नयाँ पुस्ताको भावना समेट्न सोही पुस्ता नै लेखनमा आउनुपर्ने उनको तर्क छ । “समर लभ लेख्दा सुविन भट्टराई ३०–३२ वर्षको हुनुहुन्थ्यो । उहाँले नयाँ पुस्ताको भावना र मनोविज्ञान समेटेर लेख्दा प्लस टु र कलेजका पाठकले मन पराए,” उनी भन्छन्, “सुविनपछि ३०–३५ वर्षको उमेरमा को आए लेखनमा ?”
पाँच–सात वर्षका बालबालिकाका लागि कलर बुक आए पनि युवापुस्ताका लागि नयाँ पठनसामग्री नआउँदा पठन संस्कृतिको धरातल नै कमजोर भएको उनको तर्क छ । बेस नै बलियो बनाउन नसक्दा त्यसको असर दीर्घकालीन रूपमा परेको नीरज सुनाउँछन् ।
नयाँ पुस्ता लेखनमा नआउँदा पाठक निरन्तर घटिरहेको र यसलाई रोक्न सरकारले केही नगरेको उनको भनाइ छ । पछिल्लो समय बोर्डिङ स्कुलमा पढ्नेको संख्या बढ्दै गएको र नेपाली भाषा कमजोर हुँदा त्यसको असर रिडरसिपमा परेको नीरज बताउँछन् ।
“हाम्रो पुस्ताका अधिकांशले सरकारी विद्यालय पढे, जसको नेपाली भाषा राम्रो थियो । त्यो पुस्ताले साहित्य पढ्यो,” नीरज अगाडि थप्छन्, “अहिले अधिकांश बालबालिका बोर्डिङ स्कुल पढ्छन् । श्रीमान् विदेशमा हुन्छन्, श्रीमती छोराछोरीलाई बोर्डिङ पढाउन सदरमुकाम बस्छन् । उनीहरूको अंग्रेजी भाषा राम्रो भए पनि नेपालीमा कमजोर हुने गरेको छ ।”
अंग्रेजी भाषा राम्रो हुनु आफैँमा राम्रो भए पनि नेपाली सोचेभन्दा कमजोर हुनुलाई राम्रो मान्न नसकिने उनको भनाइ छ । नयाँ पुस्तामा नेपाली भाषा कसरी अब्बल बनाउने भन्नेमा सरकारी निकाय गम्भीर हुनुपर्ने नीरजको धारणा छ ।
बोर्डिङ स्कुलमा पढाउने फेसनकै रूपमा विकास भइरहँदा नयाँ पाठक नथपिने, र घट्दै जानेक्रम बढ्दै गएको उनी बताउँछन् ।
अबको १०–१५ वर्षपछि नेपालको पठन संस्कृति कस्तो होला भनेर चिन्ता गर्नुपर्ने समय आएको उनको धारणा छ ।
विसं २०६२–०६३ पछिको समय पठन संस्कृति सबैभन्दा राम्रो रहेको, तर त्यो लामो समय टिक्न नसकेको उनी सुनाउँछन् । दोस्रो जनआन्दोलनपछि युद्धमा होमिएका माओवादीमा पनि पढ्नुपर्छ भन्ने भावना विकास भएको र आमनागरिकमा पनि अब देशको विकास हुन्छ भन्ने अपेक्षा बढ्दा रिडरसिप बढेको उनी स्मरण गर्छन् ।
“अब देशको विकास हुन्छ, रोजगारीको सिर्जना हुन्छ भन्ने उत्साह थियो,” उनी भन्छन्, “तर राजनीतिक नेतृत्वले सही तरिकाले देश चलाउन सकेन । निराशा बढ्यो र पत्रिका तथा बुकको रिडरसिप पनि घट्यो ।”
कोभिड–१९को लकडाउनसम्म आइपुग्दा पठनसंस्कृति स्याचुरेसनमा पुगेको उनको भनाइ छ । “कोभिडको लकडाउनमा धेरैले ग्याजेटमा भिडियो सामग्री हेरेर बसे । त्यसले भिडियो स्ट्रिमिङ साइटतर्फ धेरैको बानी बस्यो,” पठन संस्कृति घट्दै जानुको कारणबारे नीरज अगाडि थप्छन्, “यो समयसम्म आइपुग्दा एकातिर भिडियो कन्टेन्टतर्फ नेपाली आकर्षित भएको देखियो । अर्कोतर्फ निराशा बढेर उत्कर्षमा पुगेपछि नेपालमा बसेर केही हुँदैन भनेर पढ्न र काम गर्न विदेशिनेको संख्या बढ्यो, जो नेपाली आख्यान र पत्रपत्रिकाका रिडर थिए ।”
यसको दृष्टान्त पनि छ, नीरजसँग । उदाहरण दिन्छन्, ‘इजोरिया’को । “सुरुमा पुस्तक प्रकाशन गर्दा नेपालमा पाँच हजार कपी बिक्री हुँदा विदेशबाट दुई–तीन सय कपी माग हुन्थ्यो,” उनी अगाडि थप्छन्, “तर, एक दशकपछि इजोरिया प्रकाशन हुँदा विदेशबाट एकैपटक दुई–तीन हजार माग आयो । यसको अर्थ हाम्रा पाठक विदेश गइसकेछन् भन्ने हो ।”
नयाँ पुस्तामा पठन संस्कृतिको विकास नहुनु र आख्यान पढ्ने पाठक विदेश पलायनको दर बढ्दै जाँदा पुस्तकको बिक्री संख्या अनपेक्षित रूपमा घटेको उनी सुनाउँछन् । पहिला पाँच हजार कपी पुस्तक प्रकाशन सामान्य मानिन्थ्यो भने अहिले दुई हजार कपी छाप्न डराउनुपर्ने अवस्था रहेको नीरज प्रस्ट पार्छन् ।
“रिडरसिप बढेन, पठन संस्कृति भएको पुस्ता नेपालमा छैन । देशमा विकास छैन । आम्दानी राम्रो छैन,” उनी भन्छन्, “पुस्तक पढ्नु भनेको लक्जरी हो । पहिला गाँस, बास र कपासको व्यवस्था भएपछि मात्रै मान्छेले पुस्तक किनेर पढ्ने हो ।”
साहित्यकार नवराज लम्साल सरकारका केन्द्रीय निकाय नै पठन संस्कृतिको विकासको बाधक रहेको बताउँछन् । प्रज्ञा प्रतिष्ठानलगायत सरकारी निकायले प्रतिभा पहिचान गरेर राम्रो लेखनलाई पुस्ताकाकार गर्नुपर्नेमा उनको जोड छ ।
“गाउँगाउँमा लेखक छन् । राम्रो साहित्य लेखिरहेका छन् । तर, उनीहरूले पुस्तक निकाल्न सकिरहेका छैनन् । पुस्तक निकाल्न सकिरहेको छैनन्,” उनी भन्छन्, “मेरै उमेर समूहका व्यक्तिलाई त पुस्तक निकाल्न समस्या छ भने नयाँ व्यक्तिलाई कुन प्रकाशकले पत्याउँछ ?”
प्रज्ञा प्रतिष्ठान सेमिनार र गोष्ठीबाट बाहिर निस्किन नसकेको उनको निष्कर्ष छ । राम्रो उपन्यास, नाटक, महाकाव्य, कथा, निबन्धजस्ता पुस्तक देशभरबाट प्रकाशनका लागि आह्वान गर्न नसकेको नवराज बताउँछन् ।
नयाँ पुस्तालाई सहयोग नगर्ने अनि योङ जेनेरेसन नै आएर भनेर पाको पुस्ताका साहित्यकारले भनिरहेको अवस्था रहेको उनी सुनाउँछन् ।
“नयाँ पुस्ताको सिर्जना बजारमा आउन सहयोग नगर्ने अनि कोही आएन भनेर भनिरहेका छन् । केटाहरूले केही गरेनन्, केही आएन, हाम्रो पालामा थियो भन्नु मनोरोग मात्रै हो,” उनी अगाडि थप्छन्, “अरूले केही लेखेनन् भन्नु पाको पुस्ताको मनोरोग हो । मैले त भयंकर लेखेको थिएँ भन्नु आत्मरति मात्रै हो । आफू जीवन, जगत् बुझेको लेखक हुँ भन्ने पार्न यो भइरहेको छ ।”
जो नयाँ पुस्ताले लेख्न सकेन भनिरहेको छ, वास्तवमा ऊ अहिलेको जेनेरेसनबाट टाढा रहेको नवराजको आरोप छ । युुवामाझ नपुगेकाहरूको मनोद्वन्द्व मात्रै भएको उनको टिप्पणी छ । आफूले गर्न नसकेको पीडाबोध ओकल्ने काम भइरहेको उनी बताउँछन् ।
“हामीले जसलाई ठूला, वरिष्ठ, महान् साहित्यकार भन्यौँ । जो एकेडेमी, साझा प्रकाशन र गोरखापत्रमा दौरासुरुवालमा देख्यौँ उहाँहरूको किताब पल्टाएर हेरौँ, उनका किताबमा समयबोध पनि छैन । नयाँ शिल्प र चेत पनि छैन,” नवराज भन्छन्, “बाउ उमेरका लेखकलाई यसो भन्नु हुन्छ अथवा हुँदैन त्यो फरक कुरा हो । तर, अहिलेको लेखकले लेखेको चिन्तन र शिल्प हेरौँ र पाकाहरूको हेरौँ, त्यहाँ प्रस्ट कसको क्षमता कति हो देखिन्छ । जसले राम्रो लेखेको छैन, उसैले अहिलेको पुस्ताले केही लेखेन भनेर आरोप लगाउने गरेको प्रस्ट हुन्छ ।”
अहिलेको पुस्ताले कहाँ कस्तो लेखेको छ भनेर खोजी मात्रै नभएको नवराजको दाबी छ । केन्द्रमा प्रज्ञा प्रतिष्ठान रहेको र अहिले हरेक प्रदेशमा प्रतिष्ठान रहेकाले तिनले लेखक पहिचान गर्नुपर्ने र राम्रो सिर्जनालाई प्रकाशन गरेर बाहिर ल्याउन सहयोग गर्नुपर्ने उनको धारणा छ ।
जिम्मेवार सरकारी निकायबाट मात्रै यस्तो प्रयास नभएको भन्दै उनी स्थानीय स्तरमा भने यस्तो प्रयास भइरहेको अनुभव सुनाउँछन् । स्थानीय स्तरमा स्कुलले नेपाली साहित्य पढ्न प्रेरित गरिरहेको उनी सुनाउँछन् ।
“संखुवासभामा १६ वटा विद्यालयबीचमा नेटवर्किङ रहेछ । १६ वटा विद्यालयका कविले आएर कविता सुनाए । मैले हेरेँ, राम्रा कविता थिए । ती कविता संग्रह गरेर छाप्नलायक थिए । तर, कसैले हेरेन । म कैलालीमा पुग्दा चैतन्य पाठशालाले किताब किनेर विद्यालयमा बाँडेर अन्तरविद्यालय पुस्तक सारांश प्रतियोगिता आयोजना गरेका रहेछन्,” उनी अगाडि थप्छन्, “पुस्तक पढेर आएर त्यो पुस्तकको समीक्षा गरे । विजेतालाई आकर्षक पुरस्कार थियो । यसले पुस्तक पढ्ने बानीको विकास मात्रै गर्दैन, समालोक पनि जन्माउँछ ।”
यस्तो अभ्यास विद्यालयहरू आफैँले गर्न थाले पनि असली जिम्मेवार निकायले भने कानमा तेल हालेर बसिरहेको उनको आरोप छ ।
पठन संस्कृति अभियान भनेर गैँडाकोटबाट त्रिलोचन सापकोटालगायतले अभियान नै चलाइरहेको उनले स्मरण गरे । “उनीहरूले महिनाको एकपटक कार्यक्रम गरिरहेका छन् । २० जनाको समूह बनाएर २० वटा पुस्तक निःशुल्क दिने । पुस्तक लिनेले पढेर आउने र त्यो किताबबारे १० मिनेट बोल्ने र त्यसलाई स्थानीय एफएफमबाट लाइभ प्रसारण गर्ने काम गरिरहेका छन्,” उनी भन्छन्, “अर्को महिना त्यस्तै अर्को २० जनामा नयाँ पुस्तक बाँडेर त्यस्तै कार्यक्रम गरिरहेका छन् । यस्तै अभियान कावासोतीमा सुरु भएको छ ।”
यसले स्थानीयस्तरमा पठन संस्कृति विकास गर्ने प्रयास भइरहेको, तर सरकारी निकाय भने रमिते बनेर नयाँ पुस्ताको उपहास गरेर बसिरहेको नवराजको टिप्पणी छ ।
काठमाडौंमा बसेर विश्वविद्यालयमा विद्यार्थीलाई चिट, नोट, गाइड पढाउने र त्यसैलाई समालोचना भनेर पुस्तक छाप्नेले नेपाली समाज नै नबुझ्ने उनको तर्क छ । यसले नेपाली साहित्यलाई नधान्नेमा उनी प्रस्ट छन् ।
लेखकहरू आफैँ विद्यालय–विद्यालयमा पुगेर अहिलेका बालबालिकाको मनोविज्ञान, चिन्तन र उनीहरूको भावना बुझ्न नसकेको नवराज बताउँछन् । “अहिलेका बालबालिका पढ्छन् । म केही समयअघि काठमाडौंको एउटा स्कुलमा पुगेको थिएँ । ३२ वटा स्कुलको कविता प्रतियोगिता थियो,” नवराज सुनाउँछन्, “उनीहरूले मलाई तपाईंलाई पढेका छौँ भनेका थिए । यसले अहिलेका बालबालिका पढ्दैनन् भन्ने होइन, उनीहरूलाई समेटेर लेखेकले लेखेनन्, उनीहरूलाई बुझेनन् भन्ने हो ।”
नयाँ पुुस्तालाई लक्षित गरेर पठनसामग्री प्रकाशन नभएको उनको निष्कर्ष छ । यसका लागि लेखकले नयाँ पुस्तासँग भिज्नुपर्नेमा उनको जोड छ ।
३०–३५ वर्ष उमेर समूहमा पनि राम्रा लेखक रहेको, तर उनीहरूमा आख्यान प्रकाशन गर्ने क्षमता मात्रै नभएको नवराज बताउँछन् ।
“अहिलेसम्म कुन संस्था र प्रकाशनले हामी यस्तो खालको कृति प्रकाशन गर्छौं भनेर आह्वान गरेका छन् ?,” नवराज प्रश्न गर्छन्, “लेखक र पाठकको अभाव छैन । राम्रो सामग्री पुस्ताकाकार हुन नसकेको मात्रै हो ।”