काठमाडौं । पहिलोपटक ०५७ मा ‘आफन्त’ चलचित्र हेर्दा अर्जुन घिमिरे (पाँडे)लाई हिरो हुने रहर जाग्यो । श्रीकृष्ण श्रेष्ठको नृत्य हेरेर उनी मोहित भए । लाग्यो– यस्तै नाच्न पाए, ठूलो पर्दामा देखिन पाए, सिनेमा हलको बाहिर ठूलो पोस्टरमा आफ्नो बडेमानको फोटो भए कस्तो हुन्थ्यो ?
निश्चय नै संसार जितेजस्तो हुने थियो । हिरो हुन पाए गाउँमा आनबान र सान नै छुट्टै हुने थियो । त्यसका निम्ति जिन्दगीमा कति पापड बेल्नुपर्छ भन्ने उनको त्यो बालमस्तिष्कलाई के बोध !
भुइँमान्छेका सपना कति पूरा हुन्छन्, कति तुषारापात ? तुलोमा तौलिन नमिल्ने । मिल्थ्यो भने तुषारापातको पल्ला नै भारी हुन्थ्यो होला । भलै, अर्जुनले त्यो बाटोको यात्रा भने त्यही बेलादेखि तय गरिसकेका रहेछन् ।
कसरी ?
दसैँमा गाउँमा अर्जुनका दाइहरूले सांस्कृतिक कार्यक्रम गर्थे । त्यसमा अर्जुन छुट्दैनथे । पछि उनी आफैँले सांस्कृतिक कार्यक्रम गर्न थाले । सडकनाटक गर्थे । त्यसमा अर्जुन अभिनय गर्थे । आफैँ आयोजक, कलाकार । अभिनयको रहरलाई छेक्न नसकेपछि बाटोमा जेजे गर्नुपर्थ्यो, गरे ।
विद्यालयमा पनि उनी नाटक गर्थे । नागार्जुन ठूलागाउँ मावि उनी पढ्ने विद्यालय थियो । त्यहाँ उनले कक्षा–६ देखि नाटक गर्न सुरु गरे । हरेक दसैँमा सांस्कृतिक कार्यक्रम देखाए । उनीभित्रको रहरको आगोलाई त्यसले केही मत्थर गर्थ्यो ।
संयोग भनौँ वा रोजाइ ? विद्यालयमा पनि अर्जुनले बुढो मान्छेको चरित्र नै गरेका रहेछन् । “केही समयअगाडि स्कुलका सरहरूले नै फोटो पठाइदिनुभएको थियो, त्यो बेला पनि मैले नाटकमा बुढोको क्यारेक्टर गरेको रहेछु,” अर्जुन नोस्टाल्जिक हुन्छन्, “त्यो समय कुण्ठित अभिलाषा भन्ने नाटक गरेको थिएँ, जसमा मैले बुढो मान्छेको क्यारेक्टर निभाएको थिएँ । अहिले पनि ती फोटोमा हेर्छु, मैले त बालक हुँदै बुढो मान्छेको चरित्र नै पो गरेको रहेछु । सायद को–इसिन्डेन्ट पनि होला ।”
० ० ०
चलचित्र हेर्दा त्यसले बोकाइदिएको रहरको भारी र आफैँ सक्रिय भएर गाउँ र विद्यालयमा गरेको अभिनयनले कलाकारितामा रस बसाइदियो । टेलिचलचित्रले बजार पिटेको समय थियो । टेलिशृंखलामा काम गर्ने रहरको घर बलियो भएर आयो ।
त्यसपछि अर्जुन निर्देशक र निर्मातासँग टेलिचलचित्रमा काम माग्न जान थाले । पासिङ सटको लोभमा सेटमा पुग्न थाले । क्यामेरा फेस गर्न मात्र भए पनि सानोतिनो रोलमा काम गर्न थाले ।
तर...
तर के ?
रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा पत्रकारिता पढ्थे । पत्रकारिता गर्ने रहर पनि उत्तिकै थियो । तर, त्यसलाई थाहै नपाई विस्तारै कलाकार बन्ने रहरले उछिन्दै गइसकेछ । कलाकारिताको भोकले पत्रकारिताको रहरलाई छेउ लगाइदियो । साथीहरू अरूको क्यारिकेचर गर्थे, कलाकार बन्ने हो भन्थे । अर्जुनको बाटो पनि त्यतैतिर मोडियो । दोबाटो छिचोलेर मूलबाटोतिर लागे ।
झिनोमसिनो नै सही, सानो पर्दामा काम गर्न थाले । त्यसको प्रतिक्रियाले पुलकित बनाउन थाल्यो । सानोतिनो अनुहार देखिँदा मात्रै त यस्तो छ, साँच्चै कथा नै मेरो वरिपरि घुम्न थाल्यो भने ? सम्झँदा मात्र पनि रोमाञ्चित हुन्थे ।
० ० ०
हास्यटेलिचलचित्र ‘भद्रगोल’ बन्यो । त्यसमा अर्जुन बुढो मान्छेको रोलमा देखिए । चरित्रको नाम थियो, ‘पाँडे’ ।
विस्तारै दर्शकमा यो पात्र परिचित बन्दै गयो । चर्चा हुन थाल्यो । अनि, एक दिन...।
के भयो ?
“बच्चालाई दूध किन्न बिहानै पसल जाँदै थिएँ, स्टेसनरीमा मेलै निभाएको चरित्र पाँडेको फोटोसहित पत्रिकामा ठूलो समाचार छापिएको छ । लुगा पनि त्यही लगाएको छु,” अर्जुन भन्छन्, “मसँग समाचारका लागि कसैले कुरा गरेको थिएन । तर, गज्जबको फिचर छापिएछ । त्यो दिन त मलाई बाघ मारेको फिल भयो ।” अर्जुनलाई संसार जितेझैँ लाग्यो ।
० ० ०
अर्जुनलाई ‘पाँडे’ले पहिचान दियो । कलाकारितामा फैलिने बाटाहरू कोरिदियो । अहिले अर्जुनसहित टेलिशृंखला ‘सक्किगोनि’को टिम कथानक चलचित्र बनाउँदै छ । नाम राखेको छ, ‘लाज शरणम्’ । यसमा उनको छोटो रोल छ । फिचर फिल्म भए पनि ‘लाज शरणम्’ले पाँडे क्यारेक्टर नै क्यारी गरेको छ । त्यसैले उनलाई दर्शकले यो चलचित्रमा पाँडेकै रूपमा देख्नेछन् ।
काँचबाट सेतो पर्दामा उक्लिए । चरित्रप्रधान चलचित्र बनाइरहेका छन् ।
चरित्रप्रधान सिनेमामा लिड रोल गर्न मन लागेन ? “कुमार कट्टेल सरले स्क्रिप्ट लेख्नुभयो, निर्देशन पनि उहाँले नै गर्ने हुनुभयो,” जवाफमा अर्जुन भन्छन्, “पाँडे क्यारेक्टर नै यसमा रहन्छ भन्नुभयो । हामी सधैँ सल्लाह गरेर सँगै काम गर्ने मान्छे, नाइँ भन्ने कुरा भएन । छोटो तर राम्रो रोलमा छु । फिचर फिल्ममा टेलिचलचित्रकै क्यारेक्टरमा भए पनि खुसी छु ।”
आफ्नै टिमले सिनेमा बनाउँदै छ । को हिरो र कसको रोल कति लामो, छोटोभन्दा पनि कसरी राम्रो सिनेमा बनाउने भन्नेमा आफूहरू केन्द्रित हुनुपरेको उनी सुनाउँछन् ।
अर्जुनलाई लामो समयको अनुभवले क्यामेरा फ्रेन्डली बनायो । पात्रको निरन्तरता र त्यसलाई न्याय गर्ने तरिका सिकायो । अडियोलाई ट्रयाकमा ल्याउन अभ्यस्त बनायो । बडी ल्यांग्वेज म्यानेज गर्न सिके । हाउभाउलाई सिँगार्न सक्ने भए । सबैभन्दा ठूलो उपलब्धि त आत्मविश्वास बढायो । उनी भन्छन्, “कलाकार भएपछि राम्रो गरौँ, अरूभन्दा अगाडि बढौँ भन्ने त म मात्रै होइन, सबैमा हुन्छ होला । हिरो होइन, सिनेमाको लिड रोल गर्न सक्छु भन्ने आत्मविश्वासचाहिँ पलाएको छ ।”
आफ्नै चलचित्र भएकाले लिड रोल गर्छु भन्ने लोभ नहुने अनुभव सुनाउँदै अर्जुन कसरी सफल बनाउने भन्ने सोच हाबी भएर आउने गरेको बताउँछन् ।
उमेरसँगै हिरो नै हुने रहर अर्जुनबाट छेउ लाग्यो । भलै, चरित्र अभिनेतामार्फत चलचित्रलाई आफ्नै काँधमा बोक्ने उनलाई रहर छ ।
अर्जुनसहितको टिमले आठ वर्षअगाडि नै सिनेमा बनाउन कम्मर कसेको थियो । सिनेमाको कथा लेखे । स्क्रिप्ट बनाए । लगानीकर्ता खोजे । मात्र काम सिनेमा बनाउने रह्यो । कोसँग सहकार्य भन्ने निधोमा पुग्न मात्र बाँकी थियो ।
त्यति बेला अहिले नेपाली सिने उद्योगमा नाम चलेका निर्देशकको घरघरमा पुगे । टिम बनाएर काम गर्न प्रस्ताव गरे । निर्देशकको स्टेरिङ समाउन आग्रह गरे । तर, सम्भव भएन ।
कसैले पत्याएन ?
“होइन, यसलाई म हाम्रै खराब समय चलिरहेको थियो भन्छु,” अर्जुन अगाडि थप्छन्, “विभिन्न कुरा मिलेन, त्यसैले सहकार्य भएन । अहिले हेर्दा साँच्चै हामीले सिनेमा बनाउन प्रस्ताव गरेको कथा ठिक थियो र ? भन्ने पनि लाग्छ । कमजोरीहरू देखिन्छन् । जे भयो ठिकै भयो भन्ने लाग्छ ।”
अरूलाई खोट लगाउनुभन्दा पनि अर्जुन आफ्नै कमजोरी औँल्याउँछन् । समयले साथ नदिएको भन्दै चित्त बुझाउँछन् । समय खराब चलेको भनेर मन बुझाए । हास्यशृंखलातिरै फर्किए ।
० ० ०
फिचर लेन्थको चलचित्र बनाउने रहर मरेको थिएन । केही समय विराम मात्र लागेको थियो । त्यसैले अर्जुनले फेरि सुतेको रहर ब्युँझाए । उनीसँगै थिए, कुमार कट्टेल । तीन वर्षअगाडिको कुरा, कुमारले कथा लेख्न थाले । पुरानो कथा डस्टबिनमा फाले । कर्णालीको कथा लेख्न थाले । त्यही कर्णालीको कथामार्फत उनीहरूले फिचर फिल्म बनाउने रहर पूरा गरे ।