काठमाडौं । इन्टरनेट कम्पनी गुगलले मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर अमेरिकाको खाडी बनाउने बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ‘गल्फ अफ मेक्सिको’को नाम फेरेर आधिकारिकरूपमा ‘गल्फ अफ अमेरिका’ बनाएको छ ।
सरकारले नाम परिवर्तन गरेसँगै गुगलले पनि आफ्नो म्याप्स एपमा नाम फेर्न लागेको हो ।
यस्तै, कम्पनीले अलास्कामा रहेको हिमालको नाम ‘माउन्ट म्याकिन्ले’ राख्ने बताएको छ । यसअघि, यस हिमालको नाम सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले ‘डेनाली’ राखेका थिए ।
“हामीलाई गुगल म्याप्सको नामकरणबारे केही प्रश्न आएका छन्,” कम्पनीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “आधिकारिक सरकारी स्रोतमा अद्यावधिक गरिएका नाम नै राख्ने हाम्रो लामो समयदेखिको अभ्यास छ ।”
सीएनबीसीबाट ।