site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
कांग्रेसको धर्म संकट 

अहिले नेपालका राजनीति दलहरू एकअर्कोलाई कमजोर पार्ने खेलमा व्यस्त छन । कहिले नेपाल कम्युनिस्ट पार्टी माओवादी एमालेलाई कमजोर बनाउन साथ छोड्छ त कहिले माओवादीलाई कमजोर बनाउन एमालेले साथ छोड्छ । यदाकदा यी दुई दल नेपाली कांग्रेसलाई छोडेर सँगै रहने पनि गर्छन् । एमाले र माओवादीले एकअर्काविरुद्ध  प्रयोग गर्ने दल भने कांग्रेस भएको छ । अर्थात्, क्यारेमबोर्डको 'गोटी' कांग्रेस र 'स्ट्राइकर' एमाले वा माओवादी बन्ने गरेका छन् । राजनीतिक दलका नेताको ध्यान अहिलेसम्म विकास, सुशासन वा  भ्रष्टाचार नियन्त्रणमा नभएर एक दलले अर्कोलाई कमजोर बनाउनमात्र केन्द्रित भएको देखिएको छ ।

अहिले कांग्रेस र एमाले मिलेर शक्तिशाली सरकार बनाएको भनिए पनि सरकार पटकपटक चुक्ने र अलमलिने गरेको छ । कहिले मधेसवादी दलको एकताको अभियानले त कहिले पुष्पकमल दाहालको आक्रामक अभिव्यक्तिले, कहिले विपक्षका सात दल एकै ठाउँमा उभिनाले सरकारको ऊर्जा खेर गइरहेको छ । एमाले कांग्रेसका नेता विशेषगरी पार्टीभित्रको संस्थापन पक्षलाई यो गठवन्धन चौरासीसम्म कायम रहन्छ भन्ने विश्वास दिलाउनै धौधौ भएको छ । 

मानिस तर्सिँदा, झस्किँदा पनि ऊर्जा त खर्च हुन्छ । डोरीलाई सर्पको भ्रममा तर्सिदाँ पनि त ऊर्जा खर्च हुन्छ । अहिले सरकार अरू विपक्षी र मधेसवादी दलसँग त्यसरी नै तर्सिएको छ झस्किएको छ ।

एमालेलाई कमजोर बनाउने खेल 

दाहाल नेतृत्वको माओवादीले एमालेलाई कमजोर बनाउन हदैसम्म जाने रणनीति बनाएको देखिएको छ । त्यही अभियानमा सात दल एक ठाउँमा आइपुगेको र मधेसवादी पनि एक हुँदैगरेको हुनसक्छ ।  एमालेलाई कमजोर बनाउन उतिबेला माधव नेपाल समूहलाई पार्टीबाट अलग्याउँदा मूलतः दाहालको भूमिका देखिएको थियो । अहिले भीम रावललाई पार्टीबाट निकाल्दा  पनि ठूलै समूह एमाले त्यागेर रावलमा जोडिने सङ्केत देखिइसकेको छ ।

अर्कोतिर नेपाली काग्रेसको प्रभाव क्षेत्र मधेस क्षेत्र नै हो । सरकारविरुद्ध मधेसवादी दल एक हुन थाले भने मधेसी जनताको भावनाविपरीत उभिदाँ हुनसक्ने क्षतिलाई कांग्रेसले बेवास्ता गर्न सक्तैन । त्यस अवस्थामा कांबग्रेस धर्म संकटमा पर्नेछ । त्यस्तो अवस्थामा आयो भने यो गठबन्धन कति दिगो र स्थिर होला ?

माधव नेपालको सक्रियता

यो गठबन्धन भंग भएको अवस्थामा माओवादी, एकीकृत समाजवादी, कांग्रेस र अन्य दलबाटै कसैले नेतृत्व लिनुपर्ने अवस्था आउँछ । दाहालले अब तत्काल प्रधानमन्त्री नबन्ने उद्घोष गरेका छन् । यद्यपि, राजनीतिमा जे पनि हुन सक्छ । तर, माओवादीभित्र वर्षमान पुन र जनार्दन शर्माको विरोधका कारण तत्काल दाहाल प्रधानमन्त्री बन्ने सम्भावना देखिँदैन । 

पछिल्लो समयमा माओवादी भित्र दाहालको नेतृत्वको विकल्प खोज्दै दोस्रो पुस्ताले नेतृत्वको अवसर नपाउँदा पार्टी कमजोर भएको विषय उठेको छ । विशेषगरी जनार्दन शर्माले पार्टीभित्र विकल्पको कुरा उठाउँदै आएका छन् । नेत्रविक्रम चन्द 'विप्लव'लाई पार्टीमा ल्याएर शर्मा  र पुनलाई 'साइज'मा ल्याउने प्रयास पनि विप्लवकै असहमतिले पूरा हुन नसकेको देखियो । यिनै विविध कारणबाट दाहालले सरकारको नेतृत्व लिन अनिच्छा  देखाएका हुनसक्छन् । माओवादीको हालैको वैठकमा अन्य सदस्यलाईभन्दा जनार्दन शर्मालाई बोल्न बढी समय दिनु सायद दाहालप्रति शर्माको धारण बुझ्ने प्रयास पनि हुनसक्छ । 

उता नेपाली कांग्रेसले पनि दुई कारणले सरकारको नेतृत्व तत्काल लिन चाहँदैन र पहिलो कारण त अहिले एमालेलाई नै नेतृत्व दिएकोजस्तै  हो । पार्टीको पन्ध्रौं महाधिवेशनको समयमा संस्थापन पक्ष सरकारको नेतृत्व लिन चाहेको देखिन्छ । अर्को कारण वर्तमान गठबन्धन भंग गरेको दोष नलागोस् भन्ने पनि हो । 

अर्कातिर यो सरकार गिराउन विदेशी शक्ति सक्रिय हुनसक्छ । कांग्रेस सत्ताको मोहमा नचाहँदा नचाहँदै पनि  कालान्तरमा होमिदै जानसक्छ ।   वर्तमान गठबन्धन भंग गर्न चाहनेहरू कांग्रेसको नभएर एमालेको तेजोबध गर्न चाहन्छन् । अहिले पछिल्लो समयमा देशमा भइरहेको ध्रुवीकरण यसैको राजनीतिक रणनीति हो । 
 
माधव नेपालको हातमा पुग्ला त सरकारको नेतृत्व ?

कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनको सरकार बन्दा माधव नेपालले पनि नेतृत्व लिने सहमति भएको थियो । तर त्यसो हुन पाएन । अब त्यही वाचा पूरा गर्न  माधव नेपालको हातमा नेतृत्व दिइएला त?  अहिले एमालेलाई कमजोर तुल्याउन पनि माधव नेपाललाई सरकारको नेतृत्व दिने रणनीति अपनाइन सक्छ ।

नेपालले सरकारको नेतृत्व लिए भने एमालेबाट निकालिएका र एमाले त्यागेकाहरू सबै एकीकृत  समाजवादीमा प्रवेश गर्न सक्छन् । अरूले पनि एमाले छाड्ने सम्भावना बलियो छ । रावल त यसै पनि सुरुमा माधव नेपालसँगै नजिक थिए र विद्रोही 'दस भाइ' भित्रैका हुन् । 

यस अवस्थामा एमालेलाई संगठनात्मक रूपमा मात्रै हैन जनाधारमा पनि कमजोर बनाउने प्रयत्न हुनसक्ने देखिन्छ । माधव नेपालले पार्टी त्याग गर्दा एमालेलाई जति नोक्सान र क्षति भयो त्यसभन्दा धेरै रावलको कारणबाट हुनसक्छ ।

शंकर पोखरेल र विष्णु पौडेल रावलको कारणबाट पनि कमजोर हुने आकलन गरिएको छ। सुदूरपश्चिममा रावलको  छविका कारण  एमाले त्याग गर्ने जत्था ठूलै  देखिएको हुँदा चैरासीको निर्वाचनमा एमालेलाई धक्का लाग्न सक्नेछ । के थाहा यी सबै कारणले कतै माधव नेपालको भाग्य पो चम्कन्छ कि ? 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro