site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण टिममा फुट, निर्देशकले भने– कमाइ खाने भाँडो नबनाऊ

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण टिममा विवाद देखिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली चलचित्र उद्योगमा ऐतिहासिक ग्रसकलेक्सन गरेको छ । यस चलचित्रले नेपालमा मात्र करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

ऐतिहासिक सफलता पाएको अवसरमा निर्माता विनोद पौडेलले आइतबार काठमाडौंमा ‘सक्सेस पार्टी’ पनि दिए । ‘सक्सेस पार्टी’मा उनले ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’ पनि घोषणा गरे । 

तर, ‘पूर्ण बहादुरको सारङ्गी–२’ घोषणाबारे आफूले सञ्चार माध्यम र सामाजिक सञ्जालबाट थाहा पाएको ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले बताएका छन् । उनले यसको कथा र आइडिया आफ्नो भएको बताएका छन् । 

‘पूर्ण बहादुरको सारङ्गी’लाई 'कमाइ खाने भाँडो' नबनाउन पनि आग्रह गरेका छन् । “पूर्ण बहादुरको सारङ्गी–२ घोषणा भएपछि मैले पनि तपाईंहरूसँगै जानकारी पाएको छु । पूर्ण बहादुरको सारङ्गी विशुद्ध मेरो स्टोरी आइडिया र निर्देशनमा बनेको फिल्म थियो, जसलाई दर्शकले अपार माया साथ दिएर ऐतिहासिक बनाइदिनुभएको छ,” सरोजले फेसबुकमा लेखेका छन्, “इतिहास घरिघरि कोर्न सम्भव हुँदैन । त्यही कारण मैले पूर्ण बहादुरको सारङ्गीले कोरेको इतिहासलाई इतिहास नै बनाइ सम्मानपूर्वक राखौँ । यसलाई कमाइ खाने भाँडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफ्नै कारण भत्किन सक्छ । मैले यो फिल्म दोस्रो भागमा काम गर्दैन भनिसकेको छु ।” 

सकेसम्म २, ३, ४, ६ बनाउनतिर नलागेर आफ्ना कथा फरक शैलीमा भन्न निर्देशक पौडेलले सुझाएका छन् । उनले आफूलाई बिनाजानकारी आफूले सिर्जना गरेका पात्र र आफ्नो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबाउन आग्रह गरेका छन् । 

“पूर्ण बहादुरको सारङ्गी–२, मैले काम नगरे पनि आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउनुहोला । सारङ्गी–१ ले स्थापित गरेको गरिमा जोगाउनुहोला,” उनले भनेका छन् । 

आइतबार घोषणा गरिएको दुई चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’ मध्ये ‘पूर्ण बहादुरको सारङ्गी–२’को लेखक तथा निर्देशकको नाम घोषणा गरिएको छैन । ‘रोल नं १’को निर्देशक र लेखकको नाम भने उल्लेख गरिएको छ । निर्मातामा भने विनोद आफ्नै नाम छ । 

‘पूर्ण बहादुरको सारङ्गी’मा निर्मातामा प्याट्रिक सुवेदी र रमेश ढकाल पनि थिए । तर, ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’मा उनीहरूको नाम छैन । 

निर्माता पौडेलले आइतबार दुई सिनेमा निर्माणको घोषणा गर्दा सेभेन सिज सिनेमाका नयाँ लोगो पनि सार्वजनिक गरेका थिए । कार्यक्रममा प्याट्रिक र रमेश दुवै उपस्थित थिएनन् । यसले पनि यो टिम औपचारिकरूपमा विभाजित भएको देखाउँछ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro