site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
ऋणको भार 

दुईटै गोरुलाई चराएर घरतिर आउँदा खैरे गोरुको हिँडाइमा केही सुस्तपन देखेपछि देवलालले मनमनै भन्यो, हैन आज यो खैरे गोरु किन सुस्त–सुस्त हिँडिरहेछ ? मानौँ हिँड्नै नपरे हुन्थ्यो जस्तो । किनभने हिजो–अस्तिको जसरी आज काले गोरुसँग नारिएर ऊ हिँड्न सकिरहेको थिएन र फुर्तिलो पनि थिएन । 

दुवै गोरु नारिएर हिँड्दा काले गोरुसँग खैरे गोरु वेलावेलामा सिङौरी खेल्थ्यो । तर ऊ आज एकदम शान्त थियो । यो सबै देखेर देवलालले अनुमान लगायो कि खैरेलाई आज पक्कै पनि सञ्चो नभएकै हो ।

घर पुगेपछि देवलालले दुवै गोरुलाई गोठभित्र लग्यो । पहिले खैरे र त्यसपछि काले गोरुलाई पालैपालो किलामा बाँध्यो । हलोलाई गोठकै एउटा कुनामा अड्यायो । आफ्नो अनुहारको पसिना पुछ्यो । अनि खैरे गोरुको गर्धनदेखि पुछारसम्म दुई–तीनपटक सुम्सुम्यायो र उसको दुवै कानमा हल्का स्पर्श गरेर छाम्यो । 

Dabur Nepal
NIC Asia

उसले खैरे गोरुको दुवै कान अघिपछिको भन्दा केही तातो अनुभव गर्‍यो । खैरे गोरु हलचल नगरीकन शान्त उभिइरह्यो । कुनै हरकत पनि देखाएन, बरु प्रतिक्रियास्वरूप दुवै नाकको प्वालबाट अलिक जोड गरेर हावा निकाल्दै फूँ...गर्‍यो । 

तब देवलालले भन्यो, ‘‘तँलाई आज ज्वरो आएजस्तो छ खैरे !’’ सायद मालिकको कुरा बुझेजस्तो गरेर खैरे गोरुले पनि एकपटक देवलालतिर पुलुक्क हेर्‍यो । त्यो हेराइभित्र केही पीडा छ भन्ने अनुमान लगाएर देवलाल खैरेलाई हेरेर त्यहीँ उभिइरह्यो ।  

देवलालकी जहान माहिली बाख्राको दुईवटा पाठा–पाठीलाई च्यापेर गोठभित्र छिर्दै थिई । तीन दिन मात्रै भएको थियो बाख्रीले पाठा–पाठी पाएको । एउटा पाठो र अर्को पाठी थिए । पहिलो बेतमा तीनवटा पाठा–पाठी पाएकी बाख्रीले यसपटक भने दुईवटा मात्र पाएकी थिई । 

पाठीचाहिँ पाठोको तुलनामा अलिकति सानी र कमजोर थिई । माहिलीले माऊ र पाठा–पाठीलाई कुँडो खुवाएर गोठभित्र लगेकी थिई । बाहिर भुसुनाले माऊ र दुवै पाठा–पाठीलाई टोकेर हैरान पारिरहेथ्यो ।

‘‘खैरेलाई ज्वरो आएजस्तो छ । त्यसको दुवै कान अलिअलि तातेको छ । आज उसले चरण पनि राम्रो गरेन । पहिले पहिलेको जस्तो फुर्तिलो र चञ्चल पनि छैन,’’ देवलालले भन्यो । 

‘‘हिजो पनि त्यसले राम्रोसँग घाँस–पराल खाएको थिएन । उसको पेट पनि अलिअलि डम्मजस्तो देख्छु म । जेटीएलाई ल्याएर देखाउन पाए हुन्थ्यो । तर के गर्नु आजकल उनी गाउँघरमा आउँदैनन् । कोरोनाकालदेखि पशु स्वास्थ चौकी पनि कहाँ लगे, लगे । अब सदरमुकाममै जानुपर्छ । असारको चटारो छ, सबैलाई । खेत रोप्ने मेलो पनि उठाइसकियो । फसाद पर्लाजस्तो छ,’’ माहिलीले चिन्ता व्यक्त गर्दै भनी, ‘‘पर्सिको दिन काजी तेजप्रसादको खेत जोत्नुपर्छ । खेत रोप्न भनेर रोपाहार सबै डाकिसक्या छन् रे । आज बिहानै खबर पठाएका थिए । यता आफ्नो गोरु बिरामी भइदियो ।’’  

‘‘यस्तै कामको वेला गोरु नै बिरामी हुन्छ भन्ने के था ? भोलिसम्म पनि गोरु बिरामी भइरह्यो भने उसलाई जोत्न सकिन्न । यो असारमा सबैका गोरुलाई भ्याई–नभ्याई छ । हामीलाई कसैले पनि दिँदैनन् गोरु,’’ देवलालले दिक्क मानेर भन्यो । 

हजार काम छाडेर पनि तेजप्रसादको खेत जोत्न जानैपथ्र्यो देवलालले । किनभने त्यही खैरे गोरु किन्नलाई तेजप्रसादसँग देवलालले ३० हजार रुपैयाँ सापट लिएको थियो । उसले त्यसको सावाँ र ब्याज महिना नबिराईकन बुझाउनुपर्छ । खेतबारी जोतेको पैसा तेजप्रसाद आफूले लिने सावाँ र ब्याजमै कटाउने गरेको थियो । 

‘‘यो असारमा चार–पाँच दिन तेजप्रसादको खोत जोत्न पाए कमसे कम चार–पाँच हजार रुपैयाँ भए पनि ऋण घटाउन पाइन्थ्यो,’’ देवलालले भन्यो ।

‘‘खैरेकोे पेट खराब भएको हो कि भन्ने लाग्या छ मलाई । जसरी हुन्छ जेटीएलाई देखाएर औषधि खुवाइहाल्न पाए छिटै ठीक हुन्थ्यो होला,’’ माहिलीले भनी । 

‘‘भोलि बिहानै सदरमुकाम जानुपर्ला,’’ यति भन्दै देवलाल बाहिर निस्कियो । खैरे गोरु अझै पनि झोक्राएर उभिइरहेको थियोे । काले गोरुचाहिँ अघिल्तिरको परालको त्यान्द्रा टिपेर खाँदै थियो । 

त्यही दिन साँझदेखि परेको पानी रोकिएको थिएन । बेलुकाको खाना खाइवरी देवलाल गोठभित्र गयो । खैरे गोरुको अघिल्तिरको पराल जतिका त्यति नै थियो । काले गोरु भने पराल खाइरहेको थियो । 

त्यो देखेर देवलाल अझै चिन्तित भयो । ‘‘भोलि जसरी भए पनि जेटीए ल्याउनै पर्ने भो,’’ मनमनै यही सोच्दै देवलाल गोठको ढोका बन्द गरेर निस्कियो । 

देवलाल बिहान सबेरै उठेर गोठमा गयो । खैरे गोरु आँखा चिम्लेर बसिरहेको थियो । हिजो बेलुका राखेको पराल गोरुले एक त्यान्द्रो पनि खाएको थिएन । काले गोरुचाहिँ देवलाललाई देखेर चटपटायो । देवलालले गएर खैरे गोरुको कानमा हल्का स्पर्श गर्‍यो । खैरेले आँखा उघार्‍यो । 

मालिकलाई आफूनजिक देख्यो र पनि चुपचाप बसिरह्यो, बसेको ठाउँबाट उठ्दा पनि उठेन । उसको कान हिजोको जस्तै तातो थियो । देवलालले खैरेको पिठ्युँमा विस्तारै सुम्सुम्यायो र ‘उठ् !’ भन्दै उसको गर्धनको दाम्लो समातेर विस्तारै माथितिर उचाल्यो । 

खैरेले उठ्नै मन गरेको थिएन । तर, देवलालले दुई–तीनपटक उठ्, उठ् भनेर कर गरेपछि ऊ सकिनसकी विस्तारै उठ्यो । देवलालले खैरेको भुँडीतिर नियाल्यो । भुँडी खासै फुलेको जस्तो देखेन । 

देवलालले गोरुको पछाडितिर हेर्‍यो । खैरेको गोबरचाहिँ अलिअलि पातलो देख्यो । त्यो देखेर उसले अनुमान लगायो कि पक्कै पनि खैरेको पेटै खराब भएको हो ।

देवलाल बाहिर निस्कियो । पिँढीमा राखेको घाँस खैरेको अघिल्तिर लगेर राखिदियो । तर खैरेले घाँसतिर पटक्कै ध्यान दिएन मात्र, एक त्यान्द्रो नि टिपेन । कालेले भने तन्किएर खैरेको अघिल्तिरको घाँस खान खोज्यो । त्यसपछि देवलालले अलिकति घाँस काले गोरुतिर सारिदियो र बाहिर निस्कियो ।

मध्य असारको चटारोमा गोरु बिरामी भएपछि देवलाल चिन्ताग्रस्त भयो । एकातिर गोरु बिरामी भएको र अर्कोतिर तेजप्रसादको खेत जोत्न नपाउने चिन्ता बढिरहेथ्यो, उसको मनमा । 

तेजप्रसादको खेत जोत्न गएन भने धोका दिएको आरोप लगाउन बेर छैन । अनि सापटी लिएको रकमको सावाँ र ब्याज समयमै बुझाएन भने जरिवाना पनि लिन्थ्यो तेजप्रसाद । 

देवलालको आम्दानीको स्रोत भनेकै तिनै गोरु थिए । गोरु जोतेर आएको आम्दानीले ऋणको सावाँ र ब्याज बुझाउने हो । गोरुलाई घाँस, पराल र दाना पनि त्यही आम्दानीको भर थियो ।

माहिलीचाहिँ कुवाबाट पानी ल्याएर दैलो पोत्दै थिई ।

‘‘गोरु त साँच्चै नै बिरामी परेछ, माहिली । आज जसरी भए पनि जेटीएलाई ल्याउनैपर्ने भयो । छिटो भात पका है । चाँडै गएन भने जेटीएसँग भेट हुँदैन,’’ देवलालले भन्यो ।

‘‘मैले आज बिहानको मेलो पनि उठाइसक्या छु । तल्लाघरे अन्तरी आमाले अस्तिदेखि नै भनेकी छिन् । असारको मेलो नगई हुन्न । दैलो पोतिसकेर म गइहाल्छु,’’ माहिलीेले छिटोछिटो दैलो पोत्दै भनी ।

‘‘ए, त्यसो भए भात मैले नै पकाउनु पर्ने ?’’ देवलालले भन्यो ।

‘‘के गर्नु, आज एक दिन हो । मैले भ्याइन । असारको वेलामा यस्तै हो । उठाइसक्या मेलो नगई हुन्न । अरूजस्ती होइनन् अन्तरी आमा, औधी रिसाउँछिन्,’’ माहिलीले दैलो पोतिसकेर हात धुँदै भनी ।

०००

देवलाल खाना खाइवरी जेटीएलाई लिन भनी सदरमुकामतर्पm गयो । माहिली पहिले नै अन्तरीको खेतमा धान रोप्न गइसकेकी थिई । घरबाट सदरमुकाम पुग्न झन्डै दुई घन्टाको समय लाग्थ्यो । 

बिहान परेको पानी रोकिए पनि आकाशमा मडारिरहेको कालो बादलले पानी फेरि पर्ने संकेत देखाइरहेथ्यो । देवलाल ढुंग्रेखोलाको किनारमा पुग्दा हरिकृष्णसँग जम्काभेट भयो ।

‘‘देवलाल दाइ कता जान लम्केको ?’’ हरिकृष्णले सोध्यो ।

‘‘सदरमुकाम जाऊँ भनेर, हिजोदेखि खैरे गोरु दाना–पानी केही नखाई झोक्राइरा’छ । आज जेटीएलाई ल्याउनुपर्‍यो भनेर हिँडेको,’’ देवलालले कारण बतायो ।

‘‘ए ! ल हिँड, म पनि सदरमुकाम जान हिँडेको । मेरो आज त्यतै जाने काम छ,’’ हरिकृष्णले भन्यो । 

‘‘के काम छ तिम्रो ?’’ देवलालले सोध्यो ।

‘‘जग्गाको नामसारी गर्न निवेदन दिएको थिएँ । लेखनदासले आज आउनुस् भन्या छ,’’ हरिकृष्णले भन्यो ।


देवलालले आफ्नो गोरु बिरामी भएर ठूलो पीर परेको, साहु तेजप्रसादसँग आफूले त्यही गोरु किन्न ऋण लिएको र केही गरी गोरु तलमाथि भयो भने आफ्नो सर्वस्व गुम्ने चिन्ता हरिकृष्णलाई भन्यो । 

देवलालको दुःख पुकारा सुनेपछि हरिकृष्णले भन्यो, ‘‘तिमी धेरै चिन्ता नगर दाइ । पशु स्वास्थ्य चौकीमा मेरो ससुरालीतिरको एकजना पाले छन्, म उनैलाई भनेर पनि जेटीएलाई लिएरै आउँला । पहिले तिम्रो काम गरुँला अनि म आफ्नो काममा जाउँला ।’’

हरिकृष्णले दिएको आश्वासनले देवलालको चिन्ता केही कम भयो । वर्षाको समय बाटो हिलो थियो । ठाउँ–ठाउँमा जमेको पानी र हिलोबाट जोगिँदै हिँड्दा दुई घन्टाको बाटो झन्डै अढाई घन्टा लाग्यो । 

देवलाल र हरिकृष्ण दुवैजना सदरमुकाम पुग्दा दिनको एक बजिसकेको थियो । दुवैजना सरासर भेटेनरी अस्पतालमा गए । अस्पतालमा दुई–तीनजना कर्मचारी मात्रै थिए । तर जेटीए थिएनन् । हरिकृष्णले पालेसँग देवलालको गोरु बिरामी भएको विवरण सबै कुरा बतायोे ।

जेटीए तीन महिनापहिले नै त्यहाँबाट सरुवा भएर गएको र उसको ठाउँमा अर्को जेटीए अझै नआइसकेको कुरा पालेबाट सुनेपछि देवलालको अनुहार मलिन भयो । 

‘‘गोरुलाई केही भयो भने मेरो जहाजै डुब्छ दाइ । केही उपाय छैन ?’’ देवलालले पालेसँग दुवै हात जोडेर बिन्ती गर्‍योे ।

त्यसपछि पालेले उनीहरूलाई एउटा भेटनरी औषधि पसलको नाम दिँदै भन्यो, ‘‘भेटनरीको पाले दाइले पठाएको भन्नुस्, उसले राम्रो औषधि दिन्छ ।’’

हरिकृष्ण र देवलाल बजारतिर लागे ।

उनीहरू औषधि पसलमा गए । तर पसल बन्द थियो । देवलालले औषधि पसलसँगैको चिया पसलेसँग सोध्यो । 

‘‘यो पसल दुई दिनदेखि बन्द छ । किन बन्द भयो थाहा भएन । धेरै मान्छेहरू आएर फर्किसके,’’ चिया पसलेले भन्यो ।

देवलालले चिया पसलेलाई आफू आउनको कारण र चिन्ता सुनायो । देवलालको चिन्ता सुनेर पसलेले मोबाइलबाट फोन गरेर भन्यो, ‘‘ए, धु्रव दाइ, तपाईं कहाँ हो ? यहाँ पसलमा ग्राहक आउँदै फर्किंदै गरेका छन् । एकजना दाइको गोरु बिरामी भएर औषधि लिन आ’छन् । के गर्ने विचरा अभरमा परेका र’छन् ।’’ 

‘‘... ...।’’

‘‘अस्पतालमा पो ! डेंगु लागेछ ? अहिले कस्तो छ ?’’

‘‘... ...।’’ 

‘‘तिमी पाँच बजे मात्रै आउने रे ? के गरौँ, उनीहरूलाई पर्खाइराखौँ । पक्का आउने हो ?’’ पसलेले मोबाइल बन्द गर्दै भन्यो, ‘‘पसलेको बाबुलाई डेंगु लागेर अस्पतालमा भर्ना गर्‍या छ रे । साँझ पाँच बजेतिर आउँछु भन्छन् । पर्खिनुस् अब । के गर्ने ? यो कलियुगमा पनि के–के हुन्छ, हुन्छ । कहिले कोरोना त कहिले डेंगुले धेरै मान्छेलाई अकालमै मारिसक्यो ।’’ 

‘‘अर्को पसल पनि होला नि ?’’ हरिकृष्णले सोध्यो ।

‘‘छैन, यहाँ भएको यही एउटा पसल मात्रै हो,’’ चिया पसलेले भन्यो । 

दिनको दुई बज्दै थियो । आज देवलाललाई गोरु बिरामी भएको चिन्ताले गर्दा बिहान खाना पनि राम्रो रुचेको थिएन । उसलाई चिया पिउने इच्छा लाग्यो र हरिकृष्णसँग सोध्यो, ‘‘चिया पिउने हो भाइ ?’’

‘‘अब यहाँ पसलेलाई पर्खेर बस्नुपर्ने भएपछि जाऔँ मालपोत अड्डातिर मेरो काम के भा’छ त्यो बुझौँ अनि पिऔँला चिया–सिया,’’ हरिकृष्णले भन्यो ।

उनीहरू दुवैजना मालपोत कार्यालयमा गए । त्यहाँ लेखनदास पनि भेटिएन । लेखनदासको सहकर्मीसँग सोध्दा आज लेखनदासको घरमा रोपाइँ भएको कारणले नआएको भन्ने कुरा सुनायो ।

‘‘आजको दिन साइतै नपरेको हो कि के हो दाइ ? तिम्रो जेटीए नहुनु र मेरो लेखनदास पनि नआउनु उस्तै–उस्तै भयो,’’ हरिकृणले भन्यो, ‘‘जाऔँ हिँड, अलिकति यसो पीर हल्का पारौँ ।’’

‘‘हरिकृष्ण भाइ, आजको दिन रक्सी नपिऔँ । तिमीलाई थोरैले पुग्दैन । यस्तो वेलामा मलाई रक्सी पिउने रहर पनि छैन । मनमा चिन्ता लिई लिई रक्सी के पिउनु ? जाऔँ बरु त्यही चिया पसलमा केही खाऔँ र औषधि पसलेलाई कुरेर बसौँ,’’ देवलालले भन्यो । 

‘‘दाइ पनि के भन्नुहुन्छ ! रक्सी पिउने भनेकै मनमा पीर पर्‍या वेला हो । तिमीले जति चिन्ता गरे पनि जे हुने हो त्यो भइहाल्छ क्यारे । औषधि लगेर खुवाएपछि तिम्रो गोरु भोलि नै ठीक हुन्छ । सुर्ता नगर । व्यर्थमा धेरै चिन्ता गर्छौ तिमी । आज अलिअलि यसो आँत मात्र रसाउने हो । मात्तिने गरी पिउने भनेकै छैन । एक–दुई गिलास मात्र लिऔँला, भैगो नि । पैसा मसँग छ, तिमीले तिर्नुपर्दैन । हेर न, दुई घन्टाभन्दा बढी समय बिताउनु छ अझै । के थाहा त्यो औषधि पसले पाँच बजे नै आउँछ भन्ने । नआउन पनि सक्छ, अस्पतालमा बाबुलाई कुरेर बसेको मान्छे । नेपालीको बोलीको ठेगान हुन्न,’’ हरिकृष्णले लामै भाषण गर्‍यो ।

देवलालको चिन्ता हरिकृष्णले भोग्नुपरेको भए पो थाहा हुन्थ्यो । उसले हरिकृष्णको अनुहारमा हेर्‍यो । ऊ चिन्तामुक्त थियो । त्यसैले होला हरिकृष्णले थोरै भए पनि रक्सी पिउने इच्छा गरिरहेको थियो ।

‘‘जाऔँ, बरु चाँडै निस्कौँला । यसो एक–दुई गिलास मात्रै लिने होे,’’ हरिकृष्णले देवलालको पाखुरा तान्दै भन्यो । त्यसपछि देवलालले जान्न भन्न सकेन । आफूलाई मद्दत गर्छु भनिरहेको हरिकृष्णको वचन मान्न उसलाई करै लाग्यो । देवलालले चारैतिर नजर लगायो । सबै आ–आफ्नो धुनमा व्यस्त थिए । 

हरिकृष्ण र देवलाल भट्टी पसलभित्र गए । 

वर्षात्को समय सडकको अवस्था खराब थियो । सडकको ठाउँ–ठाउँमा परेको खाल्डाखुल्डीमा धमिलोे पानी जमेको थियो । हुइँकिदै आउने–जाने मोटर र मोटरसाइलको चक्काले पानी छ्यापेर जान्थ्यो । टाढैदेखि पन्छेर छेउ नलागे फोहोर पानी शरीरभरि पर्ने सम्भावना धेरै थियो ।

बजारको एक कुनामा एउटा भट्टी पसल थियो । हरिकृष्णले सदरमुकाम आएका वेला त्यही भट्टी पसलमा रक्सी पिउने गरेको थियो । उसलाई मन परेको त्यो भट्टी पसलमा बसेकी एउटी अधबैँसे महिला थिई, जो निकै गफ गर्दथी । हरेक ग्राहकलाई गफैगफले मख्ख पार्दथी । त्यती नगरे भट्टी पसल चल्दैन ।

हरिकृष्णसँग अर्को मान्छे पनि भट्टीभित्र पसेको देखेर भट्टी पसल्नीले चेपार घस्दै भनी, ‘‘धेरैमा दर्शन पाइयो दाजुको ।’’

‘‘यस्तै हो, टाढाबाट बरोबर आउन काम पनि हुनुपर्‍यो नि ,’’ यति भन्दै हरिकृष्ण चुपचाप मेचमा गएर बस्यो । उसको पछिपछि गएको देवलालले साहुनीको अनुहार एकपल्ट पुलुक्क हेर्‍यो र ऊ पनि गएर हरिकृष्णको छेउमा बस्यो । 

देवलालको अनुहारमा भने चिन्ताको रेखा सल्बलाइरहेको थियो । मनमा पीरको लहर उर्लिरहेको थियो ।

दुवैजना कुखुराको मासुसँग रक्सी पिउन थाले । एक गिलास भन्दाभन्दै दुवैजनाले तीन–तीन गिलास रक्सी पिए । रक्सीले आफ्नो प्रभाव देवलालमा भन्दा पनि बढी हरिकृष्णमा देखाएको थियो ।

‘‘तिम्लाई था’छ दाइ ? जीवन भनेको केही होइन । आज छ, भोलि छैन । बलेसीमा खसेर उठेको पानीको फोकाजस्तो हो यो जिन्दगी । दुई दिनको जिन्दगीमा केको चिन्ता लिने ? दुई दिनको जिन्दगी किन भनेको था’छ दाइ ? सबैको जन्मेको दिन र मरेको दिन सर्वत्र चर्चा हुन्छ । जन्मेको दिन फलानाको छोरा वा छोरी जन्मियो भनेर छरछिमेक, इष्टमित्र र नातागोतामा खबर पैmलिन्छ । त्यसैगरी मरेको दिन पनि फलानो मरेछ भनेर हल्ला हुन्छ । त्यसैले जन्मेको एक दिन र मरेको एक दिन गरी जम्मा दुई दिन मात्रै हो, तिम्रो हाम्रोे जिन्दगी ।  

अर्को कुरा, जन्मेको एक दिन त हाम्रो गइसक्यो । अब त्यो दिन फेरि फर्केर आउँदैन । अब बाँकी रह्योे मर्ने दिन, त्यो कहिले आउँछ, कसैले पनि भन्न सक्दैन । वास्तवमा हामी अहिले बाँकी त्यही एक दिन मात्रै बाँचिरहेछौँ, बुझ्यौ ? 

तिमी गोरु बिरामी भयो भनेर चिन्ता गर्छौ । मेरो पनि पोहोर बाह्र माना दूध दिने भँैसी एकै रातमा चट् भयो । बेलुकासम्म सर्साउँदो भैँसी भोलिपल्ट दूध दुहुन जाँदा मरिसकेर लम्पसार परिरहेको थियो । त्यसपछि मैले भैँसी नै पाल्न छाडेँ । अहिले एउटा गाईको बाच्छो पालेको छु,’’ हरिकृष्णले लामै भाषण छाँट्योे ।

हरिकृष्णको लम्बे भाषण सुनेर देवलाल छक्क पर्‍यो र मनमनै भन्यो, ‘‘यो कहिलेदेखि पण्डित भयो र यस्तो कुरा गर्दै छ ! रक्सी लागेपछि पण्डित्याइँ पो छाँट्छ बा !’’ 

हरिकृष्णले भनेको ‘हाम्रो जिन्दगी दुई दिनको मात्र हो’ भन्नेमा उसलाई पनि हो नैजस्तै लाग्यो । तर यतिवेला उसलाई जिन्दगीको कुराभन्दा पनि गोरु बिरामी हुँदाको चिन्ता धेरै थियो र देवलालले रक्सी पिए पनि उसको मनबाट त्यो चिन्ता सर्पले टाउको ठाडो पारे भैmँ उठिरहेको थियो । अनि औषधि लानुपर्छ भन्ने पनि बिर्सेको थिएन । 

‘‘मैले तेजप्रसादसँग ऋण लिएर किनेको गोरु हो हरि भाइ । पूरा ३० हजारमा । अहिलेसम्म जम्माजम्मी सात हजार मात्र ऋण तिर्‍या छु । सबै ऋण त्यही गोरुलाई जोतेर तिर्नु छ । तिमी पीर नगर भन्छौ । पीर नगरे के गर्ने ? ऋण तिर्न नसक्दा भोलि तेजप्रसादले तेरो घर खेत दे भन्यो भने मेरो पाटीको बास हुन्छ !’’ 

देवलालले फेरि भन्यो– ‘‘जाऔँ हरि भाइ, अब पुग्यो । आज तिमीले खुब राम्रो कुरा गर्‍यौ । मलाई चित्त बुझ्यो, तिम्रो यो ज्ञानरूपी कुरा सुनेपछि । साँच्चै, हामी मर्न बाँकी रहेको त्यही एक दिन ठूलो संघर्ष गरेर बाँचिरहेका छौँँ । मलाई तिमी यति ज्ञानका कुरा गर्न सक्छौ जस्तो लागेको थिएन । गोरु जोतेर खाने मलाई यस्ता कुरा बुझ्ने मौका नै कहाँ पाउँछु र ?’’ यति भन्दै देवलाल उठ्यो । 

उभिँदा उसलाई हल्का कम्पनजस्तो महसुस नभएको होइन । तर ऊ सम्हालियो । 

‘‘लौ, अब तिम्ले भनेपछि पुग्यो । तिम्रो चिन्ता मलाई पनि था’छ । मैले अघि भनेको कुरा पोहेरको वर्ष म वनारस जाँदा एकजना जोगीले भनेको थियो, मैले त्यही कुरा तिमीलाई पनि सुनाएँ,’’ यति भन्दै हरिकृष्ण उठ्यो र अलिअलि ढलपलिँदै गएर काउन्टरमा बसिरहेकी साहुनीसँग सोध्यो, ‘‘कति दिनुपर्‍यो ?’’

‘‘चार सय १०,’’ साहुनीले मुसुक्क हाँस्दै भनी ।

हरिकृष्णले खल्तीबाट पैसा झिक्दै भन्यो, ‘‘१०को खुद्रा छैन । ल, चारसय लेऊ । १० पछि आउँदा दिउँला ।’’

‘‘हुन्छ नि भाइ, १० रुपैयाँको के कुरा,’’ यति भन्दै साहुनीले सय–सयका चारवटा नोटलाई टेबलको घर्राभित्र राख्दै देवलालतिर पुलुक्क हेरी । देवलालले साहुनीको हेराइप्रति कुनै वास्ता देखाएन ।

‘‘दिदी, कन्जुस छैनौ, मलाई था’’छ,’’ यति मात्र भन्दै हरिकृष्ण बाहिर निस्कियो । औषधि पसल खुल्ला कि नखुल्ला भन्ने चिन्तासहित देवलाल उसको पछिपछि हिँडिरह्यो ।

०००

देवलाल र हरिकृष्ण पहिलेकै पसलमा गए । औषधि पसल खोलिसकेको रहेछ । त्यो देखेर देवलालको अनुहारमा अलिकति खुसी चम्कियो ।

‘‘जाऊ औषधि ल्याऊ, म यहीँ बस्छु,’’ भन्दै हरिकृष्ण किराना पसलको पेटीमा टुसुक्क बस्यो । 

‘‘तिमी पनि हिँड न, भेट्नरीको पालेले पठाएको कुरा तिम्ले भन्नुपर्‍यो । मैले भनेर हुन्न । मैले पाले चिन्या छ र ?’’ देवलालले हरिकृष्णलाई हातमा समाउँदै उठायो । 

‘‘हजुर, यी दाइकोे गोरुले हिजोदेखि बिरामी परेर केही पनि खाएको छैन रे । उसको गोबर पनि पातलो पातलो छ भन्छन् । राम्रो औषधि दिनुपर्‍यो । हामीलाई भेट्नरीको पाले दाइले तपाईंकोमा पठा’’का,’’ हरिकृष्णले अलिअलि लर्बरिएको आवाजमा भन्यो । 

‘‘ए ! गोरुलाई औषधि लिन आ’’को मान्छे आफैँ औषधि पिएर आएजस्तो छ ?’’ पसलेले व्यंग्य गर्दै भन्यो ।

‘‘यहाँ तपाईंलाई कुर्दाकुर्दा दिक्क लाग्यो । हरि भाइले कर गरेपछि अलिकति मात्रै पिएको हो, पीर पनि शान्त हुन्छ कि भनेर,’’ देविलालले हात जोड्दै भन्यो, ‘‘मलाई एकदम राम्रो औषधि दिनुपर्‍यो हजुर ।’’

औषधि पसलेले तीनथरी औषधि दिँदै भन्यो, ‘‘यो औषधि पिठोको अलग–अलग डल्लोभित्र राखेर खुवाउनुस् र भोलि गोबर जँचाउन पशु स्वास्थ्य चौकीमा लैजानुस् ।’’ 

‘‘गोबर जँचाउनुपर्छ ?’’ देवलालले फेरि सोध्यो ।

‘‘हो, जँचाउँदा राम्रो । रोग के हो थाहा हुन्छ ?’’ पसलेले भन्यो ।

औषधि लिएर देवलाल र हरिकृष्ण घरतिर लागे ।

आकाशमा कालो बादल मडारिरहेको थियो । अलिअलि चिसो–चिसो बतास पनि चलिरहेको थियो । आकाशतिर हेर्दा अहिले नै पानी पर्ला–पर्लाजस्तो देखिन्थ्यो । देवलालसँग छाता थियो, तर हरिकृष्णसँग छाता थिएन ।

बाटोभरि दुवैजना ढलपल गर्दै हिँडिरहे । देवलाल वेलावेलामा सोधिरहन्थ्यो, ‘‘हरि भाइ, मेरो गोरु अब ठिक हुन्छ नि ?’’ 

‘‘विश्वास गर दाइ, औषधि खुवाएपछि तिम्रो गोरु ठीक हुन्छ । तिमी धेरै चिन्ता नलेऊ,’’ हरिकृष्ण लर्बरिएको स्वरमा भन्थ्यो र वेलावेलामा लडुँलाभैmँ पनि गथ्र्याे । 

पहाडी बाटोको रातो माटो पानी परेपछि बढी चिप्लो थियो । साँझ पर्दै थियो । वेला–वेलामा बिजुली चम्किने र गड्याङगुडुङ एकसाथ चलिरहेको थियो । टाढा–टाढा चट्याङ परेको आवाज सुनिन्थ्यो ।

ढुंग्रेखोलामा पुग्दा अँध्यारो राम्रै परिसकेको थियो । अफसोस्, ढुंग्रेखोलामा हालेको बाँसको फट्के दिउँसो आएको ठूलो बाढीले बगाएछ । त्यो देखेर देवलाल र हरिकृष्ण छक्क परे ! 

पुल नभएपछि बाढी आएको खोला तरेर पारि जानसक्ने अवस्था थिएन । एकछिन दुवैजना खोला किनारमा बसेर खोलालाई हेरिरहे । ढुंग्रेखोला अघिपछिको जस्तो थिएन, ऊ वर्षात्को पूरै भेल बोकेर बेतोडले बगिरहेथ्यो । 

त्यसपछि देवलाल र हरिकृष्ण त्यहाँबाट फर्केर पहाडको उकालो बाटोतर्पm लागे । त्यो बाटो भएर जाँदा घर पुग्न झन्डै एक घन्टा घुम्नुपर्दथ्यो ।

‘‘ए, हरिकृष्ण ! एकपटक माहिलीलाई फोन गर्नुपर्‍यो, तिम्रो मोबाइल देऊ न, मेरोमा पैसा सकिएछ । गोरुको के अवस्था छ सोध्नुपर्‍यो र औषधि लिएर आउँदै छु पनि भन्नुपर्‍यो । यतिवेलासम्म म घर नजाँदा माहिली चिन्ता गरेर बसेकी होली,’’ देवलालले भन्यो । 

‘‘पैसा मेरोमा छ, तर हिजो मात्र रिचार्ज गरेको । ब्याट्री चाहिँ कति छ था’छैन,’’ यति भन्दै हरिकृष्णले मोबाइल देवलाललाई दियो । 

उकालोको एउटा ठूलो ढुंगामा अडेस लगाएर देवलालले माहिलीलाई फोन गरेर सोध्यो, ‘‘गोरुले केही खायो कि खाएन ? म औषधि लिएर आउँदै छु । ढुंग्रेखोलामा आएको बाढीले फट्के नै बगाएछ । अब घुमेर आउँदै छु । हरिकृष्ण पनि छन्, मसँग । अझै एक घन्टा लाग्छ, होला घर पुग्न,’’ देवलालले सबै विवरण एकैपटक भन्यो ।

‘‘अहँ, केही पनि खा’छैन । तिमी जतिसक्यो चाँडो आऊ,’’ उताबाट माहिलीले भनेकी थिई ।

माहिलीको कुरा सुनेर देवलालको मन झनै खिन्न भयो । अनि भन्यो, ‘‘हरि भाइ ! अलि छिटोछिटो जाऊँ, गोरुले केही पनि खा’छैन रे । चाँडै गएर औषधि खुवाउनुपर्छ । रातभरमा गोरु ठिक भयो भने भोलि तेजप्रसादको खेत जोत्नुपर्छ ।’’ 

‘‘दाइ, गोरु ठीक भए पनि तिम्रो दुई–चार दिनसम्म जोत्नलायक हुनै छैन । बिरामी गोरुलाई आराम गर्न दिनुपर्छ केही दिन । मान्छेलाई जस्तै आराम चाहिन्छ गोरुलाई पनि । बिरामी गोरु भोलि नै जोत्ने कुरा गर्छौ तिमी, अचम्म लाग्छ,’’ हरिकृष्णले भन्यो ।

‘‘त्यो त हो । अनि के गर्ने ? तेजप्रसादको खेत जोतेन भने धोका दिइस् भनेर मलाई आरोप लगाउँछ । तिमीले चिनेकै छैनौ त्यो काइते साहुलाई,’’ देवलालले भन्यो । 

‘‘त्यसको चिन्ता नगर म दलवीरसँग मागेर एउटा गोरु ल्याइदिउँला । पैसाचाहिँ अलिक धेरै लिन्छ त्यो लठ्ठक,’’ हरिकृष्णले सान्त्वना दियो ।

‘‘तिमीलाई थाहै छैन, मेरो काले गोरु कसैसँग मिल्दैन । अर्को गोरु देख्यो कि लखेटिहाल्छ । यस्तोमा कसरी अर्को गोरु लगेर जोत्न सकिएला र ! सम्भव छैन,’’ देवलालले भन्यो ।

‘‘काले गोरुको आँखामा पट्टी बाँधिदिने बुझ्यौ । अनि कसरी देख्छ त्यसले अर्को गोरुलाई,’’ त्यति भन्दै हरिकृष्ण खित्का छाडेर हाँस्यो र आफैँ थपडी बजाउन थाल्यो ।

‘‘धत्, हरिकृष्ण तिमी पनि रक्सीको मातमा हुने नहुने जे पनि भन्छौ । आँखामा पट्टी बाँधेपछि कसरी देख्छ गोरुले र अगाडि बढ्छ ? ठट्टा पनि चाहिने गर्नुपर्छ नि,’’ देवलालले भन्यो ।

‘‘मैले त तिम्रो समस्या सुल्झाउने उपाय बताएको । बाँकी तिमी जे गर्छौ गर,’’ हरिकृष्ण फेरि हाँस्यो ।

०००

हरिकृष्ण आफ्नो घरतिरको बाटो लाग्यो । हरिकृष्ण गएपछि देवलाल एक्लै भयो । अनि अँध्यारोमा देवलाल फटाफट हिँड्न थाल्यो । एक ठाउँ घुम्तीमा चिप्लियो, तर लड्नबाट जोगियो । वनको भित्तातर्पm हात नटेकेको भए लड्ने थियो ।

देवलाल घरको आँगनमा पुगेर माहिलीलाई ठूलो–ठूलो स्वरमा बोलायो, ‘‘माहिली ! माहिली !’’

‘‘आइपुग्यौ ?’’ माहिलीले घरको माथि झ्यालबाट आँगनतिर हेर्दै सोधी ।

‘‘बत्ती लिएर तल आइजो ।’’ 

त्यतीवेलै ठूलो गर्जनसहित बिजुली चम्कियो र टाढा कतै चट्याङ परेजस्तो भयो । देवलालले आँखा चिम्म गरेर हत्केलाले दुवै कान थुन्यो । पानी पनि ठूलो–ठूलो थोप्लाको पर्नथाल्यो । देवलाल पिँढीमा गएर टुसुक्क बस्यो ।

अँध्यारोमा केही देखिन्थेन । टाढा–टाढा कुकुर भुकेको आवाज भने प्रस्ट सुनिन्थ्यो । 

माहिली हातमा सलेदो बालेर बाहिर आई । उसले देवलाललाई पिँढीमा बसेको देखेर सोधी, ‘‘खोइ त औषधि ?’’

‘‘बल्लबल्ल ल्याएँ नि ! जा मकैको पिठो लेरा,’’ देवलालले भन्यो । 

‘‘गोरुले कुँडो त खान मानेको छैन, अब पिठोको डल्लो कसरी खुवाउने हो,’’ यति भन्दै माहिली बत्ती लिएरै भित्र गई । अँध्यारोमा देवलाल मनमा अनेक कुरा खेलाउँदै बसिरह्यो ।
देवलाल र माहिली गोठमा गए । गोरु ठिंग उभिरहेको थियो । आज काले गोरु यतिवेलासम्म पनि बसेको थिएन । ऊ वेलावेलामा खैरे गोरुतर्पm हेथ्र्यो र घाँस खान्थ्यो । 

देवलालले मकैको पिठोभित्र औषधि राख्यो र सानासाना डल्ला बनायो ।

‘‘खाला त यसले ?’’ माहिलीले शंका व्यक्त गरी ।

‘‘खुवाउनैपर्छ जसरी पनि,’’ देवलालले भन्यो, ‘‘तँ मलाई एउटा एउटा डल्लो दे, म यसको मुखभित्र कोचिदिन्छु ।’’

देवलालले खैरेलाई एक फेर पिठ्युँमा विस्तारै सुम्सुम्यायो र उसको मुखतिर हात लग्यो । देब्रे हातले गोरुको टाउको अलिकति माथि उठायो र दाहिने हातले पिठोको डल्लोलाई मुखमा राखेर विस्तारै हात भित्रसम्म घुसार्‍यो । गोरु चटपटायो र पिठोको डल्लो ओकल्न खोज्यो । तर देवलालले दुवै हातले गोरुको मुख च्याप्प समात्यो । गोरु नाकबाट फूँ...फूँ... गरेर सास फेर्न थाल्यो । धन्य ! त्यो पिठोको डल्लो गोरुले निल्यो । 

यसप्रकार झन्डै आधा घन्टा लगाएर देवलालले खैरे गोरुलाई औषधि राखेको पिठोको तीनवटै डल्लो खुवाइछाड्यो । त्यसपछि देवलालले सन्तोषको सास फेर्दै भन्यो, ‘‘बल्लतल्ल औषधि खुवाइयो । अब रातभरमा ठीक भइहाल्छ । औषधि पसलेले गोबर जँचाउनुपर्छ भनेको छ । भोलि बिहान सबेरै त्यसको गोबर झिकेर सफा प्लास्टिकमा राख्नुपर्छ,’’ देवलालले गोठभित्रै हात धुँदै भन्यो ।  

माहिलीले आफूले पनि हात धोई । देवलाल फेरि गोरुको छेउ गयो र उसको पिठ्युँमा विस्तारै थपथपाउँदै भन्यो, ‘‘अब तँलाई रातभरमा ठीक हुन्छ खैरे ।’’

गोठको ढोका लगाएर दुवैजना लोग्ने–स्वास्नी घरभित्र गए । रातको झन्डै ११ बज्दै थियो ।

०००

दिनभरको थकाइले होला दुवैजना मस्त निदाए । देवलालचाहिँ भालेको पहिलो डाँकमा नै ब्युझियो । ऊ उठेर सलेदो जलायो र गोठमा गयो । गोठमा पुगेपछि देवलालले जुन दृश्य देख्यो त्यो देखेर ऊ साह्रै विचलित भयो । खैरे गोरु लम्पसार परेको थियो । उसको भुडी फुलेर अग्लो भइसकेको थियो र उसका दुवै आँखा खुला, तर स्थिर थिए । 

देवलालको मुखबाट अनायास राम ! राम ! शब्द निस्कियो । उसको आँखा रसायो । आँखाबाट आँसु बग्न थाल्यो । देवलालले रुँदै खैरे गोरुको गर्धनमा बाँधेको दाम्लो फुकायो । 

छेवैमा रहेको बाल्टिनमा राखेको पानीे जगमा उबाएर गोरुको मुखमा राखिदियो र गोरुलाई हेरेर बिलौना गर्दै भन्न थाल्यो, ‘‘सम्पत्तिको नाममा रहेको गोरु नै मरेपछि मेरो अब सर्वस्व नै गयोे । अर्को गोरु किन्न फेरि पनि ऋण लिनैपर्छ । खैरे गोरु किन्दा तेजप्रसादसँग लिएको ऋण अझैसम्म तिर्न सकेको छैन । ऋण नतिरे मेरो वासै उठाउँछ त्यो निर्दयी साहुले । फेरि अर्को गोरु किन्न मैले ऋण लिनैपर्ने भयो । यो ऋणैऋणको भारले मलाई उठ्नै नसक्नेगरी जीवनभर थिचिरहने भयो ।’’ 

कोही आएको आभास पाएर देवलालले फर्केर ढोकातिर हेर्‍यो । ढोकामा उभिएर माहिली पनि सुँक्कसुँक्क गरेर रुँदै भन्नथाली, ‘‘आजसम्म हामीले कसैको केही नाश बिगार र कसैप्रति अन्याय गरेका थिएनौँ । हे दैव ! आज तिमीले हामी गरिबमाथि नै किन प्रहार गर्‍यौ ?’’

देवलालको घरभन्दा तलको घरमा एउटा कुकुर नराम्रोसँग रोइरहेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro