विशेष
काठमाडौं । तिज आउन करिब एक साता बाँकी छ । महिला दिदीबहिनीहरुलाई दर खान भ्याईनभ्याई छ अहिलेदेखि नै । फेसबुकको भित्तो रातो साडी, लेहेंगा र चुरा लगाएका महिलाका फोटोले रंगिएको छ । यो क्रम तिज आउनु एक महिनाअघिदेखि नै चल्छ ।
तर, नायिका करिष्मा मानन्धर भने यसबाट अलि टाढै छिन् । उनको फेसबुक वालले तिज आगमनको कुनै संकेत नै दिइरहेको छैन । करिष्मालाई बाह्रखरीले सोध्यो, “दिदी, यो सालको तिज कसरी मनाउँदै हुनुहुन्छ ?” यो वर्षका लागि तिजको खासै नयाँ योजना नभएको र विगतका वर्षमा झैं व्रत बस्ने उनले सुनाइन् ।
नेपाली रजतपटमा करिब दुई दशक एकछत्र राज गरेकी करिष्मा हिजोआज भने रंगीन दुनियाँभन्दा राजनीतितिर अलि बढी व्यस्त छिन् । उनले सेतो पर्दालाई मायाँ नै त मारेकी हैनन्, तर राजनीति र रजतपटलाई सँगसँगै लैजाँदा सिनेमालाई पूरै समय भने दिन सकेकी छैनन् । सकेसम्म उनी दुवैतिरका कार्यक्रम छुटाउँदिनन् ।
उनलाई उत्तिकै मोह छ सिनेमा र राजनीतिमा । २७ अगस्टमा उनले ‘नायक रमेश उप्रेतीको पुनः आगमन भएको चलचित्र ‘ब्रासलेट’ यही भाद्र १७ गतेदखि नेपालभरिका हलहरुमा लाग्दैछ । सो चलचित्र हेर्न मलगायत मेरा साथी कलाकारहरू अनि सम्पूर्ण ‘ब्रासलेट’ टिम गोपीकृष्ण हल चाबहिलमा आउँदैछौँ, हजुरहरु पनि आउनुहोला, सँगै हेरौं’ भनेर फेसबुक वालमा पोस्ट गरेकी छन् उनले । उनी २८ तारिखमा उनकै पार्टी नयाँ शक्ति नेपालले आयोजना गरेको तिज विशेष कार्यक्रममा सहभागी भइन् ।
समयसँगै करिष्मा परिपक्व हुँदै गइन् । समयले कतै अलि खुकुलो र कतै व्यस्त बनायो होला । तर, उनले आफ्नो संस्कार र संस्कृति भने भुलेकी छैनन् । बरु झन् बढी सचेत र जिम्मेवार भएकी छन् । उनी सानैदेखि तिजको व्रत बस्छिन् । व्रत कहिलेदेखि बस्न थालिन्, त्यो उनलाई थाहा छैन । तर, उनको व्रत बस्ने तरिका भने अलि फरक छ । उनी पानी पनि नपिई व्रत भने बस्दिनन् । भन्छिन्, “म पानी पनि नपिई व्रत बस्नुपर्छ भन्ने मान्यता राख्दिनँ । फलफूल खाएरै व्रत बस्छु ।” उनलाई आफ्नोमात्रै होइन, अरु महिला दिदीबहिनीको पनि चिन्ता छ । “पानी पनि नखाई व्रत बस्ने कति दिदीबहिनी बेहोस भएर लडेको पनि देखेको छु । आफ्नो स्वास्थ्यलाई नै जोखिममा राखेर असर पर्ने काम नगर्नुस् भन्ने आग्रह गर्छु,” उनको अनुरोध र सुझाव हो यो ।
उनी यो वर्ष पनि व्रत बस्दैछिन् । सुरुका वर्षमा राति दुई बजे उठेर पशुपतिनाथको मन्दिर गएर पूजा गरेको सम्झना ताजै छ उनको स्मरणमा । गोदावरी बस्न थालेपछि भने उनी पशुपति आउन छोडिन् । करिष्मा अहिले गोदावरीकै शिव मन्दिरमा पूजा गर्छिन् ।
अरु दिदीबहिनी तिजमा माइत जान्छन् । उनी भने आफूभन्दा सानालाई सौभाग्यको प्रतिक चुरापोते दिन्छिन् रे ! भन्छिन्, “मलाई पनि आफूभन्दा ठूलोले यस्तै सौभाग्यको प्रतीक दिनुहुन्छ । हाम्रोमा यस्तै चलन छ ।”
पछिल्ला वर्षमा तिज निकै महँगो हुँदै गएको छ । हुँदा खानेका लागि भन्दा हुने खानेको पर्व हो जस्तो भान पर्न थालेको छ । यसमा पनि करिष्मा अलि सचेत नै छिन् । उनले यो वर्ष तिजका लागि भनेर सपिङ नै गरिनन् रे ! “म तिजमा त्यति धेरै खर्चालु छैन । यो सालको तिजमा मैले सपिङ नै गरिनँ,” उनले खुलेरै भनिन्, “पोहोरको तिजको लुगा लगाएरै यो सालको तिज मनाउँदैछु ।”
आफ्नो गच्छेअनुसार तिज मनाउन सके राम्रो हुने उनको सुझाव छ । रमाइलोको नाममा तडकभडक गर्नाले अन्ततः त्यसले आफैंलाई पिर्ने उनको निष्कर्ष छ ।
तिजलाई उनले कसरी बुझेकी छन् त ? “तिजको रहर आयो बरिलै भन्ने गीत ध्यान दिएर सुन्यो भने त्यहाँ महिलाले स्वामीको दिर्घायु र सुस्वास्थ्यको कामना गरिएको छ । आफू भोकै बसेर श्रीमान्का लागि गरिएको यो कति ठूलो त्याग हो ?” उनले श्रीमान्प्रति हिन्दू महिलाले देखाउँदै आएको भक्तिभावको प्रशंसा गर्दैै भनिन्, “महिलाको स्वतन्त्रताको दिनको रूपमा मनाइने पर्व भनिन्छ तिजलाई । तर, यथार्थमा महिलाको महानता देखिन्छ यसमा ।”
उच्च व्यावसायिकतका नाममा गीतहरु भड्किला हुँदै जाँदा तिजको वास्तविक मौलिक पहिचान नै बदलिने हो कि भन्ने उनलाई चिन्ता छ । संस्कार र संस्कृतिभित्र बसेर गीतका शब्दहरु चयन गर्न सकिए राम्रो हुने करिष्माको बुझाइ छ । कुनै पनि बहानामा मान्छे खुसी हुनु नराम्रो नभए पनि खुसियालीका नाममा पहिचानमै खलल पुर्याउने काम भर्ने गर्न नहुनेमा उनको जोड छ ।
एक महिनाअघि तिजकै कार्यक्रममा अष्टे«लिया पुगेर फर्किएकी उनको स्टारडमले अझै पनि उनलाई पछ्याइरहेकै छ । तिज विशेष कार्यक्रममा व्यस्त बनाइरहेकै छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७३ ०५:३०
प्रतिक्रिया दिनुहोस्