काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अब बन्द नहुने दाबी गरेका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले विगतमा बर्सातको समयमा काठमाडौंमा आपूर्ति बन्द भए पनि अब बाह्रै महिना मेलम्चीको पानी आपूर्तिका लागि विकल्प खोजिसकेको बताए ।
उनले मेलम्चीनजिकै अर्को खोलाको पानी ल्याउने र शिवपुरीबाट पनि पानी आपूर्ति गर्ने गरी तयारी भइरहेको बताए । उनले मेलम्ची पानी आपूर्तिमा उपत्यकावासीको विश्वास हट्न नदिने पनि जिकिर गरे ।
असारदेखि चार महिनाका लागि मेलम्चीको पानी बन्द गरिँदै आएकामा यस वर्ष दसैँ अगाडि नै मेलम्चीको पानी आपूर्ति गर्न सफल भएको उनले बताए ।
मन्त्री यादवले मेलम्चीबाट दैनिक २० करोड लिटर पानी आइरहेको तर विविध कारणले तीनदेखि चार करोड पानी वाग्मतीमा पठाइएको जानकारी दिए ।
उनले जलस्रोतमा धनी मुलुक नेपालमा खानेपानीका लागि आन्दोलन गर्नुपर्ने अवस्था अब नआउने बताए । मन्त्री यादवले अब काठमाडौं उपत्यकामा खानेपानीको समस्या नहुने प्रतिबद्धता जनाए ।