काठमाडौं । लमजुङ बेसीसहरकी ४५ वर्षीया गीता सुनार (नाम परिवर्तन) आफन्तको घरमा बस्छिन् । तीन वर्षअघि मात्रै श्रीमान् गुमाएको पीडाले थलिएकी उनले केही समय अघिदेखि भने जीविकोपार्जनका लागि सामान्य किराना पसल चलाउन थालेकी छिन् ।
त्यही पसलबाट हुने सामान्य आम्दानीले १३ वर्षीया छोरी (जुना) नाम परिवर्तनको पालनपोषण र स्कुलको फिस तिर्थिन् । गीताको कोखबाट विवाहको १४ वर्षपछि एक सन्तान तिनै जुनाको मात्रै जन्म भएको थियो । गीताले आफ्नो खुसी र बाँकी जीवन जुनाको उज्ज्वल भविष्यका लागि बिताउने निधो गरिसकेकी थिइन् ।
आफ्नो जीवन नै जुनाका लागि साँचेकी गीतालाई गएको मंसिर २४ गते भने संसार नै अँध्यारोजस्तो लाग्यो । कारण, जुना गीताको सम्पर्कबाट एकाएक हराइन् । कहाँ गइन्, किन गइन् ? गीतालाई केही पत्तो थिएन ।
छिमेकतिर सोधीखोजी गर्दा पनि जुनाको पत्तो लागेन । गीता प्रहरी गुहार्न ब्याध्य भइन् । पुस २५ गते नै जिल्ला प्रहरी कार्यालय लमजुङमा छोरी हराएको निवेदन दिएकी गीता त्यसयता दिनदिनै प्रहरी कार्यालय धाउन थालिन् ।
गीताको निवेदनपछि जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले जुनाको खोजीका लागि छुट्टै अनुसन्धान टोली नै खटाए । जुनाको सम्भावित अपहरणबारे पनि प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान थालिसकेको थियो ।
जुनाको छिमेकतिरको गतिविधि प्रहरीले गोप्य रूपमा निगरानीमा राख्यो । तर, पुस पहिलो साता भने गीताकै आफन्तको घरमा भाडामा बसेका एक भारतीय नागरिकले जुनालाई आफ्नो छोराले बिहे गर्न भगाएर लगेको जानकारी दिए ।
भारत मोतिहारीका बिगु खानको परिवार गीताको आफन्तकै घरमा भाडामा बस्थे । जुना हराएदेखि उनीहरू परिवार नै गायव थिए । बिगु खान दम्पती सिरक–डस्ना बनाउने काम गर्थे ।
१३ वर्षमात्रै टेकेकी जुनाले स्वाभाविक बिहे गरिन् भनेर गीताले पत्त्याउन सकिनन् । त्यही सूचना लिएर उनी फेरि प्रहरीलाई जानकारी दिन प्रहरी कार्यालय पुगिन् ।
प्रहरीले तत्काल जुनालाई बिहेका लागि आफ्नो छोराले भगाएर लगेको सूचना दिने बिगुको फोन नम्बर माग्यो । तर, फोन अफ थियो । प्रहरीले ह्वाट्सएपमार्फत सम्पर्क गर्यो । प्रहरीलाई समेत बिगुले आफ्नो छोराले नै बिहे गर्ने उद्देश्यले लगेको र आफूहरू पनि नेपालमै रहेको बताए ।
तर, बिगुको फोनबारे प्राविधिक अध्यन गरेको प्रहरीले उनले नेपाल छाडेको पत्ता लगाइसकेको थियो ।
अनि प्रहरीले भारतमा चलायो अपरेसन
जुनालाई आफ्नो छोराले बिहे गरेर भगाएको सूचना दिने बिगुको भूमिकामाथि नै प्रहरीले अनुसन्धान थालिसकेको थियो । बिगुलाई पटक–पटक गीतामार्फत फोन गर्न लगाएर उनीहरू बसेको लोकेसन प्रहरीले मागिरहेको थियो ।
तर, बिगुको एउटै जवाफ हुन्थ्यो– म पनि छोरासँग छैन । म नेपालमै छु । छोरा अर्कै ठाउँमा कोठा लिएर बसेको छ ।
तर, उनी बोल्दा ब्याकग्राउन्डको साउन्ड भने ट्रेन चढेको जस्तो सुनियो । डीएसपी श्रीवास्तवको टोलीले निष्कर्ष निकाल्यो– उनी भारत पुगिसकेको र कतै टे«नको यात्रा गरिरहेका छन् ।
डीएसपी श्रीवास्तवले त्यही सूचना गण्डकी प्रदेश प्रहरी प्रमुखसम्मलाई गराए । प्रदेश प्रमुख डीआईजीले प्रहरी प्रधान कार्यालय गरायो ।
गीताकी १३ वर्षीया छोरी मानव बेचनविखनको सिकार बन्नसक्ने आशंकाले प्रहरी प्रधान कार्यालयमार्फत भारतीय दूतावाससम्म उक्त सूचना भारतीय प्रहरीलाई गरायो । डीएसपी श्रीवास्तवले पनि जुनाको उद्धारका लागि भारतीय प्रहरीमार्फत आफैँले पहल थाले ।
जुनासहित बिगु, उनकी श्रीमती नार्गिस र उनका नाबालक छोराको तस्बिर उनले भारतीय प्रहरीलाई उपलब्ध गराए । भारतीय रेल प्रहरी (जीआरपी)ले डीएसपी श्रीवास्तवले तस्बिर उपलब्ध गराएका मानिसहरू भारत राजस्थानको अरुवल रेल स्टेसन पुगेको सीसीटीभी फुटेज फेला पारे ।
त्यही फुटेजका आधारमा जीआरपी प्रहरीले उनीहरू राजस्थानबाट समेत दिल्ली हानिएको खुलायो । दिल्ली पुगेको देखिएपछि भने लमजुङ प्रहरीले एक टोली नै गोप्य रूपमा दिल्ली पठायो ।
भारत पुगेको नेपाल प्रहरीको टोलीलाई दिल्ली रेलस्टेसनको सीसीटीभी फुटेजका आधामा अनुसन्धान गर्न दिल्ली प्रहरीले सहयोग गर्याे । तर, दिल्लीबाट जुनाको उद्धार सम्भव भएन ।
उनीहरू दिल्लीको बसाइ सकेर पुनः उत्तर प्रदेश हानिएको खुल्यो । भारतबाट पिछा गर्दै गरेको प्रहरीले बिगु खानसहित उनकी श्रीमती नार्गिस खान, जुना र उनका नाबालक छोरालाई गोरखपुर हुँदै पुनः नेपाल छिर्दा भने नियन्त्रणमा लिन सफल भयो ।
पक्राउ परेका बिगु खानसहित उनकी श्रीमती, नाबालक छोरालाई समेत पक्राउ गरेर प्रहरीले अपहरण मुद्दामा अनुसन्धान थालेको छ । डीएसपी श्रीवास्तवका अनुसार बिगु खानले जुनालाई प्रलोभनमा पारेर भारत पुर्याएको खुलेको हो ।
उनी भन्छन्,‘‘बिहे गर्ने उद्देश्यले लगेकाजस्तो देखिँदैन । बिगु र उनकी श्रीमतीले प्रलोभनमा पारेर भारत लगेको देखिन्छ । हामी थप अनुसन्धानमा नै छौँ ।’’