site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्याकग्राउन्ड म्युजिकलाई साउन्ड भन्ने मेकर

काठमाडौं । चलचित्रमा साउन्डको महत्त्व कम्तीमा ५० प्रतिशत हुन्छ । चलचित्रमा यसलाई कति महत्त्व दिनुपर्ला ? यो त यसको महत्त्वले आफैँ बोल्छ । 

त्यसो भए मेकरले जति ध्यान साउन्डमा दिनुपर्ने हो, त्यति दिएका छन् ? यो सिनेमाको साउन्ड हेरे पुग्छ । 

किन ?

KFC Island Ad
Dabur Nepal
NIC Asia

सिनेमा भनेको डाइलग मात्र हो भन्ने बुझाइमा मेकर रहनु नै नेपाली चलचित्रको साउन्ड कमजोर हुनुको कारण रहेको साउन्ड डिजाइनर किशोर आचार्य बताउँछन् । आफूकहाँ आउने फिल्ममेकरको व्यवहारले यसलाई पुष्टि गर्ने उनी सुनाउँछन् ।

नेपाली चलचित्र उद्योगमा सिनेमाको संख्या बढ्यो । नयाँ आउने मेकरको भीड लाग्यो । पढेर आउने मेकरको संख्या ठूलो भयो । वर्ल्ड सिनेमा हेरेर चलचित्रमा आउनेको संख्या थपियो । किशोर भन्छन्, “तर, साउन्डको महत्त्व चलचित्रमा बुझ्ने मेकरको संख्या बढेको छैन ।”

चलचित्र खिच्ने नयाँनयाँ एड्भान्स क्यामेरा आए । ती क्यामेराले चलचित्र खिच्न थालियो । मेकिङमा केही परिवर्तन हुन थाल्यो । छायांकनमा जानुअगाडि वर्कसप हुन थाल्यो । कास्टिङ डिरेक्टर राख्न थालियो । चलचित्रको बजेट बढ्यो । एकडेढ करोडबाट बजेट बढेर चार करोड रुपैयाँसम्म लाग्नु सामान्य भइसक्यो ।

तर, साउन्डको बजेट बढेन । एक करोडमा चलचित्र बन्दा मेकरले जति खर्च साउन्डमा गर्छन्, चार करोडमा बन्ने चलचित्रको खर्च पनि त्यति नै हुने गरेको छ ।

अहिले पनि एकदेखि डेढ प्रतिशतभन्दा धेरै बजेट मेकरले साउन्डका निम्ति छुट्ट्याउँदैनन् । किशोरका अनुसार, अहिले अधिकांश चलचित्रका मेकरले तीनदेखि साढे तीन लाखभन्दा धेरै साउन्डमा खर्च गर्दैनन् । चार करोडमा चलचित्र बनाउनेले पनि पाँच लाखभन्दा माथि साउन्डमा खर्च नगरेको उनको अनुभव छ ।

“अधिकांश मेकर कस्तो काम गराउनेभन्दा पनि यतिमा काम गर्ने कि नगर्ने भन्नुहुन्छ । मलाई यस्तो साउन्ड चाहियो भनेर भन्नुहुन्न,” किशोर भन्छन्, “फोनमा साउन्डका लागि यति हो मेरो बजेट भन्नुहुन्छ । यसरी फोन गर्नेले साढे दुई लाखदेखि साढे तीन लाखसम्म बजेट छ भन्नुहुन्छ ।”

अधिकांश साउन्ड डिजाइनरसँग फोन गरेर सबैभन्दा कममा कसले काम गर्छ बुझ्ने र उसैलाई काम दिने गरेको उनको अनुभव छ । सकेसम्म सस्तोमा काम लगाउन खोज्नु नराम्रो नरहेको तर आफूलाई कस्तो साउन्ड डिजाइन चाहिएको र त्यसका लागि कति बजेट आवश्यक पर्छ भन्ने साधारण हेक्कासम्म नराख्नु दुर्भाग्य भएको उनी बताउँछन् ।“मेकरको दिमागमा बजेट मात्रै भयो, साउन्ड कस्तो चाहिएको हो भन्ने भएन,” उनी भन्छन् ।

बलिउड र हलिउडमा टोटल बजेटको २० प्रतिशतसम्म साउन्डमा खर्च गर्ने गरिएको छ । उनीहरूले प्रि–प्रोडक्सनदेखि नै साउन्ड डिजाइनरलाई सँगै राख्छन् ।

साउन्ड डिजाइनर उत्तम न्यौपाने न्यून स्रोतसाधनबीच आफूहरूले काम गरिरहेको सुनाउँछन् ।बजेट, समय, मेकरको उपस्थितिजस्ता पक्षले चलचित्रको साउन्ड कस्तो हुने निर्धारण गर्ने उत्तम बताउँछन् । 

थोरै समय र बजेट नै साउन्ड कमजोर हुनुको मुख्य कारण भएको उनको अनुभव छ । “पछिल्लो समय मेकरहरूले साउन्डको महत्त्व बुझ्दै जानुभएको छ । तर, जति हुनुपर्ने हो त्यतिचाहिँ छैन,” उनी भन्छन्, “मैले पछिल्लो समय फिचर फिल्ममा काम गर्न नै धेरै कम गरेको छु । तर, मैले काम गरेका मेरकले पहिलाको तुलनामा अलि बढी बुझ्न थालेको पाएको छु ।” 

समय र बजेटवृद्धि नगरेसम्म अपेक्षा गरिएजस्तो साउन्डको काम गर्न नसकिने उनको निष्कर्ष छ ।

पर्याप्त बजेट भए साउन्डका सबै डिपार्टमेन्टलाई परिचालन गरेर काम गर्न सकिने र राम्रो परिणाम आउने उत्तम बताउँछन् । बजेट अभावका कारण दुईतीनजनाले जबरजस्ती काम गर्दा त्यसको आउटपुट पनि त्यस्तै हुने उनको भनाइ छ ।

अधिकांश नेपाली मेकरले सिंक साउन्डमा अझै पनि चलचित्र बनाउँदैनन् । ‘पशुपतिप्रसाद– २ : भष्मे डन’यता सिंक साउन्ड प्रयोग गर्ने चलचित्र निकै कम छन् । डबिङ गरेर नै काम चलाइरहेका छन् । डबिङ गर्दा सिंक साउन्डभन्दा सस्तो पर्छ ।त्यसैले अधिकांश मेकर डबिङ नै गर्छन् ।

सय चलचित्र बन्दा मुस्किलले एकदुई सिनेमामा सिंक साउन्ड हुन्छ । यसलाई किशोर अपवाद मान्छन् । यसले मेकर नेपाली चलचित्रको साउन्डमा कति गम्भीर छन् भन्ने प्रस्ट संकेत गर्छ ।

पारिश्रमिकमा आँखा चिम्लिएर खर्च गर्ने निर्माता र निर्देशक साउन्डमा भने दुई प्रतिशत पनि व्यहोर्न तयार हुँदैनन् । नयाँनयाँ निर्देशक आए पनि साउन्डले सिनेमालाई कति धेरै असर गर्छ भन्ने सोचकमै देखिएको उनको अनुभव छ ।

पहिलादेखि नै साउन्डको महत्त्व जसले बुझेका थिए, ती मेकरले अहिले पनि यसलाई गम्भीर रूपमा लिएर काम गरिरहेको किशोर सुनाउँछन् । नवीन सुब्बा, मिन भामलगायत केही मेकर जो सुरुदेखि नै साउन्डलाई चलचित्रको आत्मा ठान्थे, उनीहरूले त्यसैगरी काम गरिरहेका छन् । नयाँ आउनेले पनि साउन्डलाई प्राथमिकताको सूचीमा राख्ने गरेको देखिँदैन ।

“केही परिवर्तन नभएको होइन, भइरहेको छ । इन्डिपेन्डेन्ट तरिकाले चलचित्र बनाउनेले बनाइरहनुभएको छ, उहाँहरूले साउन्डलाई गम्भीर रूपमा लिएर गरिरहनुभएको छ,” किशोर थप्छन्, “तर, जति बढ्नुपर्ने थियो, त्यो अनुपातमा बढेन ।”

१० लाख रुपैयाँ मात्र बजेट भए धेरै हदसम्म राम्रो काम गर्न सकिने उनको जिकिर छ । भारतमै पठाएर पनि केही काम गर्न सकिने उनी बताउँछन् ।कम बजेट भएकै कारण टिम बनाएर काम गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।

बजेट मात्र होइन, समयमा पनि गम्भीर छैनन्मेकर । यसका निम्ति कति समय दिनुपर्छ भन्ने हेक्का मेकरमा नहुँदा पनि राम्रो साउन्ड हुँदैन । 

“तिहारमा एउटा सिनेमा आउँदैथियो, मलाई फोन गरेर २०-२२ दिन समय छ, साउन्डको काम गर्नुपर्ने भन्नुभयो,” किशोरले सुनाए, “म यति समयमा काम गर्न सक्तिनँ भनेँ । अरूले पनि सायद व्यस्त भएकाले भ्याउनु भएन, त्यसैले तिहारमा त्यो चलचित्र रिलिज नै भएन ।”

ठूला चलचित्र उद्योगमा २५-३० जनाको समूहले साउन्डमा काम गर्छ । इडिट भइसकेको फाइलमा नै न्यूनतम दुई महिना काम गर्छन् ।

साउन्डका लागि कम्तीमा दुई महिना समय भए राम्रो काम गर्न सकिन्छ । अक्सर नेपाली चलचित्र तीनचार महिनासम्म इडिटिङकै टेबलमा हुन्छन् । रिलिज डेटको सँघारमा मात्रसाउन्ड डिजाइनरकोमा पुग्छन् ।

दुई महिना अवधि भएको अवस्थामा सिनेमा कहाँको हो त्यहाँको साउन्ड कलेक्सन गर्ने समय साउन्ड डिजाइनरलाई हुन्छ । जनकपुरको कथा भए त्यहीँ पुगेर साउन्ड रेकर्ड गरेर ल्याउने समय हुन्छ, इन्भाएरमेन्ट साउन्ड ल्याउने समय साउन्ड डिजाइनरसँग हुन्छ, जसले चलचित्रको साउन्डलाई राम्रो बनाउँछ ।

“सिनेमाको कथा कर्णालीको छ, तर हामीसँग त्यससँग मिल्ने साउन्ड छैन भने उहाँ साउन्ड लिन जाने समय पनि हुँदैन । स्क्रिप्ट लेख्दा ड्राफ्ट बनेजस्तो हाम्रो पनि पहिलो ड्राफ्ट १५-२० दिनमा बन्ला, त्यो हेरेर करेक्सन गरेर दोस्रो ड्राफ्ट बन्ला,” किशोर भन्छन्, “त्यसपछि मेकरलाई देखाउँला । त्यसमा कमेन्ट आएपछि सच्याउँला । हल टेस्ट होला । त्यसमा देखिएका कमजोरी सच्याउँदै फाइनल टचअप गरेपछि बल्ल राम्रो हुन्छ । यसका लागि समय चाहिन्छ ।”

सामान्य अवस्थामा पनि साउन्ड डिजाइनका निम्ति चारदेखि पाँचजनाको टिम हुन्छ । नेपालमा चलचित्रमा काम गर्ने दक्ष साउन्ड डिजाइनरको संख्या धेरै छैन । आठजना साउन्ड डिजाइनरले काम गरिरहेका छन् । बाँकी उनीहरूले असिस्टेन्टबाट काम लिइरहेका छन् ।

५० चलचित्र रिलिज हुँदा सरदरमा ६ सिनेमा एउटा साउन्ड डिजाइनरको भागमा पर्छ । तर, सबैले ६ सिनेमाको काम गर्छन् भन्ने हुँदैन । त्यसैले साउन्ड डिजाइनर यसै पनि कामको चापमा हुन्छन्, त्यसमाथि मेकरले समय कम उपलब्ध गराउँदा साउन्ड कमजोर हुने जोखिम उच्च हुन्छ । यो पर्दामा चलचित्र हेर्दा देखिइरहेको छ ।

पछिल्लो समय किशोर फिचरभन्दा पनि सर्ट फिल्मको काम धेरै गर्छन् । कारण, फिचर फिल्मले साउन्डलाई बजेट र समयमा प्राथमिकतामा नराख्नु नै हो ।

बजेट र समयसँगै मेकरको उपस्थितिले पनि चलचित्रको साउन्ड कस्तो हुने भन्ने निर्धारण गर्ने उत्तमको अनुभव छ । मेकरले के भन्न खोजेको हो र उसको दिमागमा के छ भन्ने विषयले पनि सिनेमाको साउन्ड डिजाइनमा महत्त्वपूर्ण प्रभाव पार्ने उनको भनाइ छ ।

“निर्देशक साउन्डको काम हुँदा साउन्ड डिजाइनरसँग छ कि छैन त्यसले पनि ठूलो प्रभाव पार्छ । साउन्ड त सिनेमाको एउटा पार्ट हो, निर्देशकको दिमागमा के छ, त्यसको कार्यान्वयन गर्ने हो,” उत्तम अगाडि थप्छन्, “निर्देशक सँगै बसेर मैले यहाँ यस्तो सोचेको छु, यस्तो कुरा कसरी साउन्डमार्फत गर्न सकिन्छ भनेर भन्ने हो भने पनि धेरै राम्रो काम निस्किन्छ ।”

तर, निर्देशकको अनुपस्थितिमा साउन्ड डिजाइनरले काम गर्दा कतिपय अवस्थामा सम्भावना हुँदाहुँदै कमजोर कार्य हुने गरेको उत्तम सुनाउँछन् ।

सर्ट फिल्मका कतिपय मेकर वर्ल्ड सिनेमा हेरेर ‘म यो फिल्मबाट इन्स्पायर भएर आएको हुँ, यस्तै प्रभावकारी साउन्ड चाहियो’ भन्छन् । यसरी काम गर्दा सिक्ने अवसर पनि पाइने उनको अनुभव छ । फिचर फिल्ममा मागिरहेको बजेट सर्ट फिल्मले दिइरहेकाले पनि उनी यसतर्फ आकर्षित भएका हुन् ।

१५ मिनेटको सर्ट फिल्मका निम्ति ८० देखि एक लाख रुपैयाँसम्म बजेट मेकरले छुट्ट्याउने गरेकाले त्यसको साउन्डमा क्वालिटी हुने गरेको किशोरको अनुभव छ । त्यसैले उनी आजकाल फिचर र सर्टफिल्म दुवैबाट एकैपटक अफर आए सर्ट फिल्म रोजिरहेका छन् ।

कतिपय फिचर फिल्मका मेकर सिनेमाको हार्डड्राइभ बोकर आउने र ‘ल, साउन्ड गर्देऊ’ भनेर हिँड्ने गरेको भन्दै उनी भन्छन्, “के सही र के गलत भन्ने नै थाहा छैन ।”

विदेशमा सुरुमै स्क्रिप्ट नै साउन्ड डिजाइनरलाई दिएर ‘कसरी साउन्ड डिजाइन गर्ने हो, अहिलेदेखि नै तयारी गर्नू’ भन्ने प्रचलन छ । यस्तो अवस्थामा साउन्ड डिजाइनरले कुन सिनमा कस्तो साउन्ड भनेर डिटेलमा स्क्रिप्ट नै तयार गरेर काम गर्नसक्छन् । नेपालमायस्तो अभ्यास सुरु भइसकेको छैन । प्रि–प्रोडक्सनदेखि नै यसको काम हुँदा साउन्ड अब्बल हुने सम्भावना हुन्छ । सुटिङमै गएर धेरै साउन्ड ल्याउने अवस्था बन्छ, जसले चलचित्रको साउन्ड जीवन्त हुने सम्भावना उच्च हुन्छ ।

“एकैपटक चलचित्र हेरेर साउन्डको काम गर्नुपर्छ । यो चरणमा हामीसँग थोरै मात्रै विकल्प हुन्छ । त्यसपछि साउन्ड नराखेर म्युजिकले पुरिदिने अवस्था आउँछ । साउन्ड चाहिएको छ, तर नभएपछि म्युजिकले पुरिदिने गर्नुपरिरहेको छ,” किशोर भन्छन्, “यसरी पनि नेपाली साउन्डको काम भइरहेको छ । साउन्ड भनेको ब्याकग्राउन्ड म्युजिक मात्रै हो भन्ने बुझाइधेरै मेकरमा छ ।”

साउन्डसँग खेल्ने मेकरले सिनेमा भनेको ८० प्रतिशत साउन्ड हो भन्छन् । जो डाइलग मात्रसिनेमा होइन,चलचित्र भनेको दृश्यभाषा हो, संवाद होइन, धेरै कुरा भिजुअलले भन्नुपर्छ भन्ने वकालत गर्छन्, उनीहरूका निम्ति भिजुअल ८० प्रतिशत हो ।

साउन्डबाटै कथा भन्नुपर्छ भन्नेमा फिचरभन्दा सर्टफिल्मका मेकर धेरै रहेको साउन्ड डिजाइनर उत्तम न्यौपाने बताउँछन् । उनी पनि पछिल्लो समय फिचरभन्दा सर्ट फिल्मको साउन्डमा धेरै काम गरिरहेका छन् ।

सर्ट फिल्ममेकरमा डाइलगले भन्दा पनि साउन्डले कथा भन्नुपर्छ भन्ने जुनुन रहेको आफूले पाएको उत्तम सुनाउँछन् । “सर्ट फिल्ममेकर साउन्डमा नयाँनयाँ एक्सपेरिमेन्ट गर्न रुचाइरहेका छन् । उनीहरू साउन्डले नै कथा भन्नुपर्छ भनेर लागेको देखेको छु,” उनी अगाडि थप्छन्, “जुन फिचर फिल्मका मेकरमा निकै कम छ ।” 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro