site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तत्काल लागु हुँदै रियल टाइम बक्सअफिस प्रणाली, के हो यो ? 

काठमाडौं । चलचित्र विकास बोर्डले केही समयमै रियल टाइम बक्सअफिस प्रणाली लागु गर्ने भएको छ । रियल टाइम बक्सअफिस प्रणालीको सम्पूर्ण काम सकिइसकेको बोर्डले जनाएको छ ।

“रियल टाइम बक्सअफिस प्रणाली जाडनको काम सकिएको छ । अहिले हामी ट्रायल गरिरहेका छौँ । कुनै पनि दिन हामी यसको उद्घाटन गर्नेछौँ,” बोर्डका अध्यक्ष दिनेश डिसीले बाह्रखरीसँग भने । 

आउँदो जेठ १५ गतेभित्र रियल टाइम बक्सअफिस प्रणाली लागु गर्ने लक्ष्य रहेको उनले बताए ।

बनेपामा इन्डोर स्टुडियोको शिलान्यास, रियल टाइम बक्सअफिस प्रणाली र अनलाइन सेवा प्रणाली जेठ १५ गतेभित्र लागु गर्ने तयारी रहेको उनले जानकारी दिए । प्रधानमन्त्रीबाट त्यसको उद्घाटन गराउने बोर्डको तयारी छ ।

रियल टाइम बक्सअफिस प्रणाली ०६६ सालदेखि लागु गर्ने भनिएको थियो । तर, हालसम्म यो लागु हुन सकेको थिएन । यो प्रणाली लागुसँगै बक्सअफिसप्रति विश्वसनीयता बढ्ने र नेपाली चलचित्रको बजार पारदर्शी हुने उनको भनाइ छ ।

रियल टाइम बक्सअफिस प्रणाली लागु हुने भनिएको चर्चा र प्रतिबद्धताको १६ वर्षपछि यो कार्यान्वयन हुन लागेको हो । रियल टाइम बक्सफिस प्रणाली लागु भएपछि हरेक सिनेमाको प्रत्येक शोको टिकट काटेको तथ्यांक तत्काल सरकारको ‘इन्टिग्रेटेड सिस्टम’मा आउनेछ । मन्त्रालयमा आएको केही सेकेन्डभित्रै उक्त तथ्यांक चलचित्र विकास बोर्डको बक्सअफिस प्रणालीमा पुग्नेछ ।

उक्त तथ्यांक सम्बन्धित चलचित्रका एक निर्माता र वितरकले हेर्न पाउनेछन् । वितरक र निर्मातालाई बोर्डले युजर नेम र पासवर्ड उपलब्ध गराउनेछ । उनीहरूलाई आफ्नोबाहेक अर्को चलचित्रको बक्सअफिस तथ्यांक हेर्न ‘एक्सेस’ हुने छैन ।

सञ्चारमाध्यमले हलबाट उत्रिएपछि मात्र चाहेको खण्डमा सिनेमाको बक्सअफिस तथ्यांक पाउनेछन् । यसनिम्ति सञ्चारमाध्यमले अनिवार्य रूपमा बोर्डमा निवेदन दिनुपर्नेछ ।

देशभरका सबै हल रियल टाइम बक्सअफिस प्रणालीभित्र समेटिएका अध्यक्ष डिसीले जानकारी दिए । “एउटा पनि हल रियल टाइम बक्सअफिस प्रणालीभन्दा बाहिर रहने छैन । सेन्सर पासको सर्टिफिकेटसहित बोर्डले हललाई सिनेमाको प्रदर्शन अनुमति दिन्छ,” उनले भने, “यदि, कोही वितरकले रियल टाइम बक्सअफिस प्रणालीमा नआएका हललाई सिनेमा प्रदर्शन गर्न दियो भने त्यो वितरकको लाइन्सेन्स तत्काल खारेज हुन्छ ।” 

बनेपामा इन्डोर सिनेमा छायांकन स्टुडियो प्रधानमन्त्रीको समय मिल्नेबित्तिकै शिलान्यास गरिने उनले बताए । जेठ १५ भित्रै बोर्डले सेवाग्राहीलाई अनलाइन सेवा प्रदान गर्न सुरु गर्ने उनको भनाइ छ ।

“बोर्डले विभिन्न खालका गरी जम्मा ३३ वटा सेवा प्रदान गर्छ । यसमध्ये ३० वटा काम हामी अनलाइनबाट गर्दै छौँ । तीनवटा सेवा भने अनलाइनबाट दिन नसकिने रहेछ,” उनले भने, “हार्डकपीमै हुने काममा पनि बोर्डले आफैँ गरेर सेवाग्राहीको घरमै डेलिभरी गरिदिनेछ ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro