
काठमाडौं । प्रहरीको मालिगाउँ वृत्तको थुनामा रहेका अन्य थुनुवाहरु भन्दा विमल श्रेष्ठ भिन्न छन् । हेर्दा इमान्दार देखिने विमललाई उनीभन्दा पहिला नै पक्राउ परेर थुनामा पुगेकाहरुलाई लागेको थियो– विमल ठुलै व्यवसायी होलान् !
प्रहरीको थुुनुवा कक्षभित्रको आन्तरिक नियम रोचक हुन्छ । सबैभन्दा बढी दिन थुनामा बसेका आरोपी थुनुवा कक्षका ‘सिनियर’ हुन्छन् । नयाँ–नयाँ आउनेहरुलाई उनीहरुकै निर्देशनअनुसार चल्नुपर्ने हुन्छ । सुत्ने समय तालिका वा थुनुवाहरुले प्रयोग गर्ने शौचालयको सफाइ पनि उनकै निर्देशनअनुसार गर्नुपर्ने हुन्छ ।
कतिपय पक्राउ परेकाहरुलाई त थुनुवाले थर्काएरै राख्छन् पनि । थुनामा परेकाहरुमध्ये गुन्डागर्दी र जघन्य अपराध कसुरमा पक्राउ परेकाहरुको भने उल्टो सम्मान हुन्छ । त्यस्ता आरोपीहरुसित अन्य थुनुवा नै थर्कमान हुन्छन् ।
तर, विमलको हकमा भने थुनामा रहेका अन्य थुनुवा नै चकित परे ।
मंगलबार मालीगाउँ प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेर थुनुवा कक्षभित्र राख्दा कुनै व्यापारी नै पक्राउ गरेर ल्याएहोला भन्ने ठानेका थिए । तर, प्रहरीले चोरी मुद्दामा आरोपी भने पछि अन्य थुनुवाहरु नै चकित परे । मालीगाउँ प्रहरीका एक अधिकारीका अनुसार उनी हेर्दा शंका लाग्ने खालका छैनन् ।
उनी भन्छन्, ‘‘विमल हाम्रो थुनुवाहरुमध्ये सबैभन्दा ह्यान्डसम देखिन्छन् तर शरीर हेरेर हुँदैन । सुरुमा त चोरी कसुरमा पक्राउ परेको भनेपछि अन्य थुनुवाले नै पत्याउन गाह्रो माने ।’’ २० जना थुुनुवा रहेको हिरासत कक्षभित्र उनीबाहेक अन्य तीन जना पनि चोरीकै आरोपी छन् ।
तर, विमल चोरीका आरोपी मात्रै होइनन् उनी पटके ‘चोर’ हुन् । अघिल्लो साता नक्सालस्थित भाटभेटेनी सुपरमार्केटबाट विभिन्न ब्रान्डका महंगा मदिरा चोरी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षका विमलले बाटभटेनीबाट ‘ब्लु लेबल’, ग्लेन्डफिडिचसहित अन्य विभिन्न ब्रान्डका मदिरा र अन्य सामग्रीसहित २ लाख भन्दा बढीको सामान चोरी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।
उनका अनुसार विमलले भाटभटेनी सपुरमार्केटको नक्सालमा रहेको भुइँतलाको ग्रोसरी डिपार्टबाट ‘ब्लु लेबल’ एक बोटल, ग्लेन्डफिडिच एक बोटल, वल्ड दरबार एक बोटल, सूर्य चुरोट ३० थान चोरी गरेका थिए ।
यसरी नै आलमण्ड १५ केजी, पिस्ता ८०० ग्राम, काजु ९०० ग्रामलगायत चोरी गरेका थिए ।
प्रहरीले केही मदिरा भने बरामद गरेको छ । उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । विमलविरुद्ध प्रहरीको क्राइम रेकर्ड सिस्टम (सीआरएस) मा विभिन्न आठवटा चोरीको घटनामा संलग्न रहेको खुलाएको छ । उनी काठमाडौंका सक्रिय चोर रहेको प्रहरीको दाबी छ ।
भाटभटेनी सुपरमार्केटका सीओओ पानु पौडेलले दिएको जानकारीअनुसार उनी ओभरकोट र क्याप लगाएर प्रवेश गरेको देखिन्छ । “हामीले पछि सीसीटीभी हेरेपछि थाहा भयो, उनी ओभरकोटभित्र झोला बोकेर आएका रहेछन् । भित्र पसेर झोलामा सामान राखेर निस्किएको देखियो,” उनले भने ।
उनीविरुद्ध काठमाडौं र बारामासमेत चोरीमा मुद्दामा अनुसन्धान भएको थियो । सात वर्षअघिदेखिनै चोरीमा संलग्न भएको प्रहरीले जनाएको छ । यसअघि भाटभटेनीकै अर्को शाखा भक्तपुरको राधेराधेमा पनि चोरीको प्रयास गर्दागर्दै नियन्त्रण परेर सामान फिर्ता गरेपछि छुटेका थिए ।
पछिल्लो समय भने भक्तपुरको बाडेमा बस्दै आएका छन् । प्रहरीको अनुसन्धानबाट विमल आयल निगमकै एक जना उच्च तहका कर्मचारीको निजी गाडी चालकसमेत रहेको खुलेको छ । भाटभटेनीमा चोरी गर्न जाँदा पनि आयल निगमकै कर्मचारीको गाडी प्रयोग गरेर नक्साल पुगेको खुलेको हो ।
प्रहरीले चोरीमा प्रयोग गरिएको क्रेटा गाडीसमेत बरामद गरेको छ । प्रहरीले क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) का आधारमा सुपरमार्केट भित्र छिरेका विमल गाडीमा चढेर बाहिरिएका थिए । पक्राउ परेका विमलले चोरीको आरोप स्वीकार गरेका छन् ।
उनले मालीगाउँ प्रहरीसित बयानमा भनेका छन्, ‘‘गल्ती भयो हजुर ।’’ प्रहरीका अनुुसार सीसीटीभी मै देखिएपछि उनले स्वीकार गर्नुको विकल्प नै छैन । प्रहरीले विमलले चोरी गर्दा प्रयोग गरेको कपडासमेत बरामद गरेको छ ।