
काठमाडौं । नारी स्रष्टा समाज, विराटनगरले ‘विश्वराज अधिकारी : अनुभूतिका विविध प्रवाहमा’ पुस्तक लोकार्पण गरेको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठ, नाट्यकर्मी अशेष मल्ल, साहित्यकार राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदनलगायतले पुस्तक लोकार्पण गरे ।
प्रमुख अतिथि श्रेष्ठले विश्वराज अधिकारीले अमेरिका बसेर पनि नेपाली भाषा साहित्यमा पुर्याएको योगदानको चर्चा गरे । उनले समग्र नेपाली साहित्यकाबारे बोल्दै अधिकारीले देशदेशावरमा रहेका नेपाली भाषी साहित्यकारहरूसँग अन्तरक्रिया हुने अवस्था सिर्जना गर्न आग्रह गरे ।
नाट्यकर्मी मल्लले अधिकारीले सात समुद्रपारि रहेर नेपाली भाषा साहित्यका विषयमा सोच्दै आएको प्रसंग उठाउँदै अब साहित्यमा भ्रष्टाचारमुक्त मुलुकको कल्पना गर्ने दर्शन पनि प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
समीक्षात्मक टिप्पणी गर्दै रमेन्द्र कोइरालाले कृतिबारे चर्चा गरे । कृतिका सम्पादक ममता मृदुलले यो पुस्तक ल्याउनुको कारण बताइन् । यसअघि उनले अशेष मल्ललाई लिएर अनुभूतिका विविध प्रभाव ल्याइसकेकी छन् ।
पुस्तकमा अधिकारीले लेखेका कृतिहरूमाथि विभिन्न सर्जकहरूले गरेको समीक्षा समावेश छ । अधिकारीका ४० बढी पुस्तक प्रकाशित छन् ।
कार्यक्रममा साहित्यकारहरू अधिकारी, रोदन, लेकाली, शरद प्रधान, कल्याण पन्तलगायतले कृतिबारे बोले ।