
काठमाडौं । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार’ नेपाली भाषा साहित्यको उन्नयन, अनुसन्धान र विकासमा योगदान पुर्याउने सर्जक प्रा. डा. दयाराम श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाका अनुसार उक्त सम्मानका साथ नगद राशि २५ हजारसमेत प्रदान गरिनेछ ।
धनकुटामा जन्मिएर काठमाडौंलाई कर्मभूमि बनाएका प्रा.डा. श्रेष्ठ २०२७ सालमै नेपाली विषयमा एमए गरी त्रिविविमै प्राध्यापनरत थिए । अवकासपछि पनि साहित्यसेवामा अनवरत सक्रिय डा. श्रेष्ठका दर्जन बढी कृति र सम्पादित पुस्तकहरू प्रकाशित छन् ।
यो सम्मान यसअघि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. तारानाथ शर्मा, कवि तुलसी दिवस, प्रा. गोपीकृष्ण शर्मा, इतिहासविद् ज्ञानमणि नेपाल र उपन्यासकार गीता केशरीलाई प्रदान गरिसकिएको छ ।