site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
संघले नसकेपछि प्रदेशले छाप्दै लाइसेन्स, बिलबुक पनि अनलाइनमै 
फाइल तस्बिर ।

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब प्रदेश सरकारले नै छाप्ने भएका छन् । प्रदेश सरकारले छाप्ने भएपछि यातायात व्यवस्था विभागले प्रिन्ट गर्दै आएको स्मार्ट लाइसेन्स विस्तारै विस्थापित हुने भएको छ ।

विभागले प्रिन्ट गर्न नसक्दा हाल करिब २५ लाख सेवाग्राहीले लाइसेन्स पाउन सकेका छैनन् । लाइसेन्स नपाउनेको संख्या हरेक दिन बढ्दै गएको छ ।

एउटा मात्र मेसिनबाट प्रिन्ट गर्दै आएको विभागसँग स्मार्ट लाइसेन्स छाप्नका निम्ति पछिल्लोपटक ल्याइएका १२ लाखमध्येका बाँकी कार्ड छन् । विदेश जानेलाई र आपत्कालीन लाइसेन्ससँगै हाल नियमित छपाइ पनि भइरहेको विभागले जनाएको छ ।

विभागले दिन नसकेपछि वाग्मती प्रदेश सरकारले डिजिटल लाइसेन्सलाई नै मान्यता दिइसकेको छ । हाल काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशभरि ट्राफिक प्रहरीको जाँचका क्रममा नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्छ । ट्राफिक नियमको उल्लंघनमा समेत अनलाइनबाट जरिवाना भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

अरू प्रदेशले पनि विस्तारै डिजिटल लाइसेन्स जाँच गर्ने र आफैँ भौतिक रूपमा प्रिन्ट गर्ने भएका छन् । कोसी प्रदेश सरकारले गएको भदौदेखि परीक्षणकालीन लाइसेन्स प्रिन्ट गरेर दिन थालेको थियो ।

प्रदेशमा लाइसेन्स छाप्न संघीय सरकारअन्तर्गतको विभागले आफूसँग रहेको डाटा सेयर र थप समन्वय गर्नुपर्ने हुन्छ । “सरकारले निर्णय गरिसकेको छ, अब प्रदेशस्तरबाटै क्यूआरसहितको लाइसेन्स प्रिन्ट हुन्छ,” विभागका निर्देशक नरहरि तिहारीले बाह्रखरीसित भने ।

वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले लाइसेन्स छपाइको तयारी अघि बढाइएको जानकारी दिए । डिजिटल लाइसेन्सलाई यसअघि नै मान्यता दिइसकेको उनले उल्लेख गरे । अब प्रिन्ट गरेर भौतिक लाइसेन्स पनि उपलब्ध गराइने उनको भनाइ छ ।

“डिजिटल लाइसेन्सलाई मान्यता दिएर धेरै सेवाग्राहीलाई सहज भएको छ । अब क्यूआरसहितको लाइसेन्स प्रिन्ट गरेर उपलब्ध गराउँछौँ,” सचिव निरौलाले भने, “क्यूआरसहित अन्य काम सबै भइसकेको छ, अब कार्ड र मेसिन खरिदका लागि टेन्डर आह्वान गर्ने तयारीमा छौँ ।”

वाग्मती प्रदेशमा करिब साढे आठ लाख सेवाग्राहीलाई लाइसेन्स दिन बाँकी रहेको उनले बताए ।

बिलबुक पनि अनलाइनमै
वाग्मती प्रदेश सरकारले सवारी दर्ता पुस्तक (बिलबुक) पनि अनलाइनमै अभिलेख राख्ने कार्य गरिरहेको छ । प्रदेश सरकारले आउँदो असारसम्म सबै सवारीसाधनको दर्ता विवरण डिजिटलाइजेसन गर्ने लक्ष्य राखेको सचिव निरौलाले बताए ।

बिलबुकको विवरण पनि डिजिटलाइजेसन गरिसकेपछि लाइसेन्सजस्तै अनलाइनबाटै देखाउन सकिने उनले जानकारी दिए । “आउँदो असारसम्म सवारी दर्तासम्बन्धी सम्पूर्ण अभिलेख अनलाइनमा राखिसक्छौँ । त्यसपछि बिलबुक पनि अनलाइनबाटै देखाउन मिल्ने हुन्छ र नवीकरण गर्न पनि सहज हुन्छ,” उनले भने ।

वाग्मतीसहित सातै प्रदेशका यातायात कार्यालबाट लाइसेन्स प्रिन्ट भएर उपलब्ध भए सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ । सवारीसम्बन्धी अभिलेख अनलाइनमा उपलब्ध भएमा सेवाग्राहीले लाइसेन्स र बिलबुक सधैँ बोक्नुपर्ने झन्झट हट्नेछ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro