
पोखरा । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा एक अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाले सात अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो ।
बजेटबाट महानगरपालिकाले हालसम्म चार अर्ब १६ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । आन्तरिक राजस्व चाहिँ ९६ करोड ७३ लाख ५४ हजार संकलन गरेको छ ।
तर, आगामी आर्थिक वर्षमा भने महानगरपालिकाले आन्तरिक राजस्व अस्वाभाविक तरिकाले बढाउँदै आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार नै नगर प्रमुख धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपप्रमुख मञ्जुदेवी गुरुङले नगरसभामा बजेट पेस गरेकी हुन् ।
चालु आर्थिक वर्षको बजेटको स्रोतमा संघ सरकारबाट चार अर्ब २० करोड २२ लाख, प्रदेशबाट एक अर्ब ५५ करोड ३८ लाख रुपैयाँ अनुदान आएको थियो । त्यसबाहेक संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख, प्रदेश राजस्व बाँडफाँटबाट महानगरले ९ करोड ७२ लाख र स्थानीय राजस्वबाट एक अर्ब १२ करोड ८६ लाख आउने अनुमान गरिएको थियो । रोयल्टीबाट ५४ लाख २४ हजार र नगर विकास कोषबाट चार करोड ४८ लाख ऋण लिने अनुमान महानगरको बजेटमा थियो ।
आगामी आर्थिक वर्षको बजेटको स्रोतमा भने संघदेखि प्रदेशसम्म सबै अनुदान घटेको छ ।
संघबाट एक अर्ब एक करोड ८१ लाख अनुमान गरिएको छ । प्रदेशले दिने अनुदानदेखि राजस्व बाँडफाँट, रोयल्टीको अनुमान बजेट वक्तव्यमा उल्लेख नै छैन । नगर उपप्रमुख गुरुङले वक्तव्य पढिरहँदा कर्मचारीहरूले भने बजेट सच्याउँदै थिए ।
अर्कातर्फ महानगरले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत र चालु खर्च नै छुट्याइएको छैन । महानगरले खर्च गर्ने आम्दानी र उठाउने राजस्व समेत मिलेको छैन ।
बजेटको स्रोतमा संघको अनुदान र महानगरले ३३६ प्रतिशत बढी आन्तरिक राजस्व संकलन गर्ने जनाइएको छ ।
बजेटमा नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालयतर्फ एक् अर्ब, पूर्वाधारतर्फ दुई अर्ब, ३३ करोड र सहरी विकास पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड छुट्याइएको छ ।